• १५ वैशाख २०८१, शनिबार

देशका अधिकांश ठाउँमा वर्षा

blog

काठमाडौँ, चैत ८ गते । बागमती, मधेश, कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा सुरु भएको छ । त्यसै गरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली सुरु भए पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा हिउँसमेत परेको छ ।

महाशाखाका मौसमविद् सरोज पुडासैनीले पश्चिमी न्यून चापीय प्रणाली र भारतको विहारमा विकसित न्यून चापीय प्रणालीका कारण मुलुकको तीन प्रदेशको अधिकांश ठाउँमा मौसम बदली सुरु भएको जानकारी दिनुभयो । उहाँले विकसित यी प्रणालीहरूको प्रभाव मुलुकको पूर्वी तथा मध्य भागमा बढी र अन्य भागमा बढी परेको देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षा तथा गण्डकी प्रदेशको एक/दुई स्थानमा छिटपुट वर्षा भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातसमेत भएको छ ।”

मौसमविद् पुडासैनीका अनुसार बुधबार सबभन्दा बढी सिन्धुलीको सानीबास भन्ने ठाउँमा २६.२ मिलिमिटर, मकवानपुर गढीमा १६.४ मिलिमिटर, ललितपुरको लेलेमा १६.२ मिलिमिटर, काठमाडौँको धाप ड्याम क्षेत्रमा ११.६ मिलिमिटर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा ९ मिलिमिटर, बबरमहल क्षेत्रमा ७.६ मिलिमिटर, कपन क्षेत्रमा ७.४ मिलिमिटर पानी परेको जानकारी दिनुभयो । उहाँका अनुसार कोशी र मधेश प्रदेशमा बुधबार दश मिलिमिटरभन्दा कमै पानी परेको छ ।

छ महिनापछि वर्षा

बुधबारको पानी मधेश प्रदेशमा छ महिनापछि परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘प्री मनसुन’ का रूपमा परेको यो पानीले बालीनालीलाई राहत पुगेको छ । मधेश प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

त्यसै गरी, शुक्रबार देशका पहाडी भूभागका थोरै स्थानमा तथा तराई भूभागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् पुडासैनीले जानकारी दिनुभयो । 

मधेश प्रदेश र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीका साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

डढेलो नियन्त्रणमा राहत

बुधबारको वर्षाले मुलुकको धेरै ठाउँमा फैलिएको डढेलो नियन्त्रणमा राहत आएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता गोमादेवी चेम्जोङले लामो समयपछि बुधबार बिहानदेखि सुरु भएको वर्षाले वनजङ्गलमा नयाँ डढेलो लाग्न नदिनुका साथै लागेको डढेलोलाई नियन्त्रण गर्नसमेत मद्दत पुगेको बताउनुभयो ।