• ४ चैत २०८२, बुधबार

सर्तकता अपनाएर दादुरा प्रभावित ढोरपाटनका विद्यालय खुले

blog

दादुराविरुद्धको खोप लगाएपछि सामूहिक तस्बिर लिँदै स्कुले बालबालिकाहरु । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, चैत ४ गते ।
विशेष स्वास्थ्य सर्तकता अपनाएर दादुरा प्रभावित क्षेत्र ढोरपाटन नगरक्षेत्रका विद्यालयमा पठनपाठन सुरु भएको छ । ढोरपाटन नगरपालिका वडा नं.७ बोबाङ, वड नं. ८ सेराबाङ र वडा नं. ९ लाकुरीबोटमा दादुरा फैलिएपछि दुई साता बन्द गरिएका विद्यालयमा सर्तकता अपनाएर सोमबारदेखि पठनपाठन सुरु गरिएको हो ।

विद्यालयमा आउने बालबालिकालाई मास्क लगाउने, सरसफाइमा ध्यान दिने जस्ता काम गरेर पठनपाठन सञ्चालन गरिएको ज्ञानोदय माविका प्रअ यामबहादुर कायतले बताउनुभयो । झण्डै तीन सातासम्म दादुराको सङ्क्रमण फैलिँदा ढोरपाटनका १२२ बालबालिका र केही अभिभावकमा दादुरा सङ्क्रमण देखिएपछि आइसोलनमा उपचार थालिएको थियो ।

बिरामीको उपचार र दादुराविरुद्धको खोप लगाएपछि सर्तकता अपनाएर पढाइ सञ्चालन गर्न अनुमति दिइएको नगर स्वास्थ्य शाखाका प्रमुख भूमिश्वर शर्माले जानकारी दिनुभयो । बिरामीमध्ये अधिकांस उपचारपछि घर फर्किएका छन् । अहिले बुर्तिवाङ जिल्ला अस्पतालमा १२ जना, बोबाङ स्वास्थ्य चौकीमा ६, रिफर गरिएका ४ जनाको पोखरा र धौलागिरि प्रादेशिक अस्पतालमा १ जना बिरामीको उपचार चलिरहेको छ ।

विशेषगरी अत्याधिक ज्वरो, शरीरमा बिबिरा आउने जस्तो समस्या बालबालिकामा भए पनि अभिभावकमा रुघाखोकी र ज्वरोको समस्या देखिएपछि प्रदेश जनस्वास्थ्य कार्यालयमार्फत प्रदेश र सङ्घीय स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठनको टोली ढोरपाटनका गाउँगाउँमा पुगेर बालबालिका र अभिभावकहरुको उपचारमा साथ दिएको थियो ।

अहिलेसम्म ढोरपाटन नगरका ५ हजार ६५६ जना बालबालिकालाई दादुराको खोप लगाइएको छ । ‘‘विश्व स्वास्थ्य संगठनको टोलीले समुदायमा छुटेका बालबालिकाको खोजी गरिरहेको छ’’ प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले भन्नुभयो । दादुरा सङ्क्रमित गर्भवती र सुत्केरीलाई समेत खोप लगाइएको छ ।

हाल जिल्लामा ७ हजारबढी खोप आएकोमा झण्डै १ हजारबढी खोप बाँकी भएकाले सङ्क्रमितका अभिभावक र शङ्कास्पदलाई लगाउने जनस्वास्थ्यको तयारी छ । जन्मेको १५ महिनाभित्रका बालबालिकालाई दादुराको खोप लगाउनुपर्ने प्रावधान छ । खोप लगाएकालाई संक्रमण भएपनि खतरा नहुने भएकोले दोहोर्‍याउन नपर्ने खत्रीले बताउनुभयो ।

सोमबार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको सबै पालिकाका जनप्रतिनिधिको बैठकले प्रकोप व्यवस्थापनका लागि आवस्यक पहल गर्ने, शङ्कास्पद बिरामी देखिएमा उपचारको दायरामा ल्याउने निर्णय गरेको छ । ‘‘दादुरा सङ्क्रामक रोक भएकोले सबै सचेत बन्दै उपचारको दायरामा ल्याउने काम गर्नुपर्छ’’ प्रजिअ कृष्णप्रसाद आचार्यले भन्नुभयो ।