काठमाडौँ, चैत ४ गते । आदिलिङ्ग कुशेश्वर महादेव मन्दिरस्थित दुर्गा तीर्थमा चैत ५ गते बिहीबारदेखि एकमहिने कुम्भ स्नान मेला सञ्चालन गरिने भएको छ । रोसीखोला (लीलावती) सुनकोशीको सङ्गम स्थलमा कुशेश्वर महादेव मन्दिर र दुर्गा तीर्थ रहेको छ । सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–१, दुम्जामा सञ्चालन गरिने कुम्भ मेलामा करिब एक लाखले स्नान गर्ने अपेक्षा आयोजकको छ ।
आदिलिङ्ग कुशेश्वर कौशिकी कुम्भ मेला–२०८२ का संयोजक सुदर्शन कोइरालाका अनुसार सुनकोशी नदी किनारमा कुम्भ स्नान स्थल तयार पारिएको छ । कुम्भ मेलामा स्नानका लागि भक्तजनले बिपी राजमार्गबाट सहजै पुग्न सक्ने छन् । काठमाडौँ र तराई क्षेत्रबाट आउने भक्तजनले बिपी राजमार्ग हुँदै आदिलिङ्ग कुशेश्वर पुग्न सक्ने छन् ।
कुम्भ मेलाका सन्दर्भमा काठमाडौँमा आयोजित भेलामा कुम्भ स्नान मेलाको सबै तयारी पूरा भएको जानकारी दिइएको थियो । सोही अवसरमा सुदर्शन कोइराला लिखित आदिलिङ्ग कुशेश्वर दुम्जा चारधाम तीर्थ पुस्तक सार्वजनिक गरिएको थियो ।