बबई समाचारदाता
बबई (बर्दिया), चैत ३ गते । पश्चिम नेपालको प्रमुख पर्यटकीय गन्तव्य मानिने बर्दिया राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुलाई वर्षभरि पानीको अभाव हुन नदिन प्राकृतिक र कृत्रिम गरी १९० वटा पोखरी निर्माण गरिएको छ । गर्मी मौसम सुरु भएसँगै निकुञ्ज प्रशासनले ती पोखरीको मर्मत तथा सञ्चालनको तयारी थालेको जनाएको छ ।
झन्डै ९६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जभित्र कर्णाली नदीसहित प्राकृतिक जलस्रोत भए पनि गर्मी मौसममा धेरै पोखरी सुक्ने समस्या देखिन्छ । त्यसैले वन्यजन्तुलाई पानीको अभाव हुन नदिन निकुञ्जले कृत्रिम पोखरी निर्माण गरी व्यवस्थापन गर्दै आएको छ ।
निकुञ्जले निर्माण गरेका १९० पोखरीमध्ये अधिकांश कृत्रिम छन् । तीमध्ये ५५ वटा पोखरी सौर्य ऊर्जामा आधारित प्रणालीबाट सञ्चालनमा रहेका छन् । प्राकृतिक पोखरी गर्मीमा सुक्ने भएकाले वन्यजन्तुलाई पानी उपलब्ध गराउन कृत्रिम पोखरी महìवपूर्ण स्रोत बनेका छन् । निकुञ्ज प्रशासनका अनुसार कतिपय कृत्रिम पोखरीमा जडान गरिएका उपकरण बिग्रिने समस्या पनि देखिएको छ ।
बजेट अभावका कारण सबै उपकरण समयमै मर्मत गर्न नसक्दा केही पोखरी सञ्चालनमा समस्या हुने गरेको बताइएको छ । निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी सरोजमणि पौडेलले अधिकांश पोखरी सञ्चालनयोग्य भए पनि केही पोखरीको मर्मत आवश्यक रहेको र त्यसका लागि निकुञ्ज कार्यालयले पहल गरिरहेको
जानकारी दिनुभयो । निकुञ्जभित्र रहेका पोखरीमा पानी अभाव भएमा वन्यजन्तु पानीको खोजीमा कर्णाली नदीको गेरुवा भँगालोतर्फ पुग्ने गर्छन् तर गेरुवा भँगालोले दिशा परिवर्तन गरी पश्चिमतर्फ बगेपछि गर्मीमा नदीमा पानी कम हुने समस्या पनि देखिएको छ । पानीको अभावकै कारण गत वर्ष केही एकसिङे गैँडा भारततर्फ पलायन भएको र अझै नेपाल फर्किन नसकेको निकुञ्ज स्रोतले जनाएको छ ।
कृत्रिम पोखरीको नियमित सञ्चालन र मर्मतका लागि आवश्यक बजेट अभाव भएपछि निकुञ्जले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग अतिरिक्त बजेट उपलब्ध गराइदिन अनुरोध गरेको छ । विगतका वर्षको तुलनामा यस वर्ष बजेट कटौती भएपछि पोखरीको मर्मतसम्भारमा चुनौती थपिएको निकुञ्जले जनाएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले गर्मी मौसममा वन्यजन्तुलाई पानीको समस्या नहोस् भन्ने उद्देश्यले पोखरीको मर्मत तथा व्यवस्थापन सुरु गरिएको बताउनुभयो । साथै गैरसरकारी संस्थासँग समेत समन्वय गरेर वन्यजन्तुलाई पर्याप्त पानी उपलब्ध गराउने प्रयास भइरहेको उहाँको भनाइ छ ।