साजन परियार
पर्वत, चैत ४ गते । पर्वत जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सागर भुसालले जनताको समस्या र आवाज संसद्मा बुलन्द रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन जिल्लाका विभिन्न वडा वडामा पुग्नुभएका सांसद भुसालले जनताको समस्या नजिकबाट बुझ्दै जिल्लाका मुद्दालाई संसद्मा प्राथमिकताका साथ उठाउने बताउनुभएको छ ।
घरदैलो र भेटघाटका क्रममा स्थानीयले विगतमा निर्वाचित जनप्रतिनिधि गाउँमा नफर्किएको गुनासो गरेका थिए । सोही सन्दर्भमा भुसालले आफू नियमित रूपमा जनताका बिचमा रहने प्रतिबद्धता जनाउनुभएको छ । सांसद भुसालले महिनामा कम्तीमा एक पटक जनताको घरदैलोमा पुग्ने र प्रत्येक महिनामा एउटा पालिकामा तीन दिन बस्दै स्थानीय समस्याबारे जानकारी लिने योजना रहेको बताउनुभयो ।
गाउँ क्षेत्रमा बढ्दै गएको बाँदर आतङ्कलाई पनि प्रमुख समस्याका रूपमा उठाउँदै भुसालले यसको दीर्घकालीन समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । भुसालले भन्नुभयो, “गाउँमा बाँदर आतङ्क व्यापक रूपमा बढेको छ । बस्ती उजाडिँदै गएका छन् । बाँदरका कारण गाउँमा खेतीबाली लगाएर बस्न सक्ने वातावरण छैन । यसको दीर्घकालीन समाधान खोज्न आवश्यक पहल गर्छु ।”
२०३८ सालमा पर्वत जिल्लाको फलेवास नगरपालिका–६, देवीस्थानमा बुवा मेघनाथ भुसाल र आमा पवित्रा भुसालको कान्छो सन्तानका रूपमा भुसालको जन्म भएको हो । बाल्यकालदेखि नै सामाजिक र राजनीतिक विषयमा चासो राख्ने स्वभावका भुसालले स्थानीयस्तरका गतिविधिमा सक्रियता देखाउँदै आफ्नो पहिचान बनाउनुभएको छ ।
प्रारम्भिक शिक्षा गाउँमै पूरा गरेपछि उहाँ एसएलसी उत्तीर्ण गरी आइए अध्ययनकै क्रममा रोजगारीका लागि विदेश जाने निर्णय गर्दै उहाँ इजरायल पुग्नुभयो । करिब नौ वर्ष इजरायलमा बसेर अनुभव बटुलेपछि स्वदेश फर्किनुभएका भुसालले पोखरामा पर्यटन तथा उद्योग–व्यवसाय क्षेत्रमा लगानी गर्दै व्यवसायीका रूपमा आफ्नो यात्रा अघि बढाउनुभयो । व्यवसायसँगै उहाँले सामाजिक तथा राजनीतिक गतिविधिमा पनि सक्रियता बढाउँदै जानुभयो ।
नेपाली कांग्रेसनिकट भ्रातृ संस्था नेपाल तरुण दल पर्वतको सचिव पदमा रहेर सङ्गठन विस्तार र पार्टी गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्नुभएका भुसाल स्थानीय राजनीतिमा चिनिने व्यक्तित्वमा पर्नु हुन्छ । २०७४ र २०७९ मा सम्पन्न स्थानीय तह तथा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन उहाँले महìवपूर्ण भूमिका खेल्नुभएको थियो । यही सक्रियताकै आधारमा उहाँ अहिलेको प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उम्मेदवार बन्नुभयो । निर्वाचनमा उहाँले कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई १० हजार ६०७ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुन सफल हुनुभयो ।
सामाजिक सक्रियता, विदेश अनुभव, व्यावसायिक पृष्ठभूमि र राजनीतिक यात्राको सङ्गमका रूपमा भुसाल अहिले पर्वत जिल्लाबाट प्रतिनिधि सभामा जनताको प्रतिनिधित्व गर्दै राष्ट्रिय राजनीतिमा प्रवेश गर्नुभएको छ ।