• २३ फागुन २०८२, शनिबार

नयाँ प्रतिनिधि सभा बैठक नयाँ भवनमा

blog

सिंहदरबारस्थित निर्माणाधीन संसद् भवन । तस्बिर : सुजन गुरुङ

काठमाडौँ, फागुन २३ गते । प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई मत परिणाम धमाधम आउन थालेको छ । निर्वाचन परिणामसँगै निर्वाचित जनप्रतिनिधिहरूको बैठक सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमा नै बस्ने गरी तीव्र तयारी भइरहेको छ ।

संसद् भवनका सबै काम तत्काल सम्पन्न हुन नसके पनि प्रतिनिधि सभा बैठक सञ्चालन गर्न मिल्ने गरी आवश्यक पूर्वाधार निर्माण भइरहेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । विभागका अनुसार सुरुमा न्यूनतम सेवासहितको संसद् भवन सञ्चालनमा ल्याइने छ । २०७९ को निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा बैठक सिंहदरबारमै निर्माणाधीन नयाँ संसद् भवनमा सञ्चालन गर्ने उद्देश्य रहे पनि अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन ।

नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको संसद् बैठक जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनी तथा तोडफोडका कारण प्रयोग गर्न नसकिने अवस्थामा छ । सिंहदरबार परिसरमा निर्माण भइरहेको संसद् भवनको काम कहिले सम्पन्न हुने भन्ने टुङ्गो थिएन । त्यसैले यसअघि प्रतिनिधि सभा सदस्य निर्वाचनपछि संसद् बैठक कहाँ सञ्चालन गर्ने अन्योल थियो । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक ई. रवीन्द्र बोहराले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको बैठक सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमा नै बस्ने सुनिश्चित भइसकेको बताउँदै त्यसका लागि तीव्र रूपमा तयारी भइरहेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “प्रतिनिधि सभाको पहिलो बैठक बस्नका लागि अबको एक हप्ताभित्र एउटा सभाकक्ष तयार भइसक्छ । तयारी अन्तिम चरणमा छ । अहिले ‘फुल फ्लेज’ मा काम भइरहेको छ । समानुपातिकतर्फको अन्तिम मतपरिणाम घोषणा हुन्जेलसम्म सम्पूर्ण तयारी पूरा भइसक्छ ।” उहाँका अनुसार संसद् भवन निर्माण आयोजनाको अहिलेसम्मको समग्र भौतिक प्रगति ९३ प्रतिशत र आर्थिक प्रगति ७८ प्रतिशत भइसकेको छ ।

सहरी विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक ई. रोशन श्रेष्ठले नवनिर्वाचित प्रतिनिधि सभाको बैठक नयाँ संसद् भवनबाट नै सञ्चालन हुने कुरा अब शङ्काको विषय नभएको बताउँदै अहिले अन्य कामलाई थाँती राखेर संसद् सञ्चालन हुने गरी प्रतिनिधि सभा बैठक चलाउन आवश्यक पर्ने संरचना मात्र निर्माण भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “फागुन मसान्तसम्म जसरी पनि संसद् भवन तयार गर्नै प¥यो । प्रतिनिधि सभाको बैठक त्यहीँ बस्नुको अरू कुनै विकल्प छैन । त्यही भएर हामी दिनरात खटिरहेका छौँ । मुलुकको इज्जतको पनि कुरा छ । संसद् भवन तयार हुन्छ ।”

उहाँका अनुसार अहिले प्रतिनिधि सभा हल र ‘सेन्ट्रल लबी’ को काम भइरहेको छ । प्रतिनिधि सभा हलभित्रको सञ्चार प्रणाली, माइक, ‘साउन्ड सिस्टम’ जडानलगायतको काम भइरहेको छ । संसद् भवनका लागि कुर्ची, टेबल कतिपय सिंहदरबारभित्र र कतिपय बाहिरसमेत निर्माण भइरहेका छन् ।

मुख्य संरचनाको काम सम्पन्न 

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका प्रवक्ता ई. रञ्जनकुमार दासले आयोजनाको मुख्य संरचना (सुपर स्ट्रक्चर) को काम सम्पन्न भइसकेको बताउँदै निर्माणस्थल वरिपरि बाटो निर्माण, वाटर ट्रिटमेन्ट प्लान्ट, स्यानेटेरीको काम, एचभिएसी, हिटिङ, भेन्टिलेसन, एयर कन्डिसनिङ, एमइपी (मेकानिकल, इलेक्ट्रिकल र प्लम्बिङ) आन्तरिक सजावट, कन्फ्रेन्सिङलगायत काम बाँकी रहेको जानकारी दिनुभयो । सिंहदरबारको पुतली बगँैचास्थित १७३ रोपनी आठ आना (८८,२७१ वर्गमिटर) क्षेत्रफलमा ‘इन्टरनेसनल स्टेट अफ द आर्ट’ को ढाँचामा सङ्घीय संसद् भवन निर्माण भइरहेको छ । २०६४ सालसम्म संसद्को बैठक सिंहदरबारमा बस्दै आएको थियो । संविधान सभा सदस्यको सङ्ख्या बढेपछि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद्को बैठक बस्दै आएको थियो । नयाँ बानेश्वरको भवनको भाडाबापत संसद् सचिवालयले वार्षिक १० करोड ५८ लाख रुपियाँ बुझाउँदै आएको छ ।

‘हाइटेक’ डिजाइन

नयाँ भवन भूकम्प, आगलागी जस्ता आपत्कालीन अवस्थालाई विशेष ध्यानमा राखी ‘नेसनल बिल्डिङ कोड, बिल्डिङ नियमावली र आयोजनाका मर्महरूलाई समेत आत्मसात् गरी डिजाइन गरिएको छ । यसमा काठमाडौँ उपत्यकाको स्थानीय वास्तुकला झल्कने छ । भवनको गुरुयोजना अनुसार परिसर क्षेत्रलाई भवन क्षेत्र, खुला हरियाली क्षेत्र, पार्किङ क्षेत्र र सडक पूर्वाधार क्षेत्र गरी मुख्य चार क्षेत्रमा विभाजन गरिएको छ, जसमध्ये भवन क्षेत्रले करिब २७ प्रतिशत र  हरियाली क्षेत्रले ४५ प्रतिशत जग्गा ओगट्ने छ । बाँकी क्षेत्रमा सडक पूर्वाधार र ‘वाटर बडी’ रहने छन् । यस भवन परिसरको निर्माण ‘हाइटेक’ आधुनिक इन्जिनियरिङ डिजाइन प्रविधिका आधारमा भइरहेको छ ।

कुल पाँच अर्ब तीन करोड (भ्याटबाहेक) लागतमा निर्माण भइरहेको यस भवनको ठेक्का नेपाली निर्माण कम्पनी टुन्डी र चिनियाँ निर्माण कम्पनी सेक (संयुक्त) ले पाएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सो शिलान्यास गर्नुभएको यो आयोजना तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी २०७६ असोज १६ गते निर्माण व्यवसायीसँग सम्झौता भएको थियो । सम्झौता भएको छ वर्ष बितिसक्दासम्म पनि काम सम्पन्न हुन सकेको छैन ।