विनय कर्ण
कल्याणपुर (सप्तरी), वैशाख २ गते । सप्तरीसहित मिथिला क्षेत्रमा प्रत्येक वर्ष वैशाख २ गते मनाइँदै आएको जुड़शीतल पर्व बुधबार बिहानैदेखि हर्षोल्लासका साथ मनाइँदै छ ।
जुड़शीतल, बासी पावनी र सिरुवा नामले पनि प्रचलित रहेको यो पर्वमा आज बिहानैदेखि घरका सबैभन्दा जेठा व्यक्तिले आफ्ना परिवारजन तथा टोल–छिमेकका कनिष्ठ व्यक्तिको टाउकोमा हत्केलाले जल छर्केर आशीर्वाद दिँदै पर्व मनाइरहेका छन् ।
यसरी ठूलाबडाले टाउकोमा जल दिएर ‘जुडाए’पछि खुट्टा ढोगेर आशीर्वाद लिने चलन रहेको छ ।
प्रकृति तथा वातावरण संरक्षणसँग सन्दर्भ जोडिएको यस पर्वमा पशुपक्षी, वृक्ष, बोटबिरुवा र घरगृहस्थीमा प्रयोग गरिने सन्दुक, आलमारी, बाकस, पलङ, कुर्सी, टेबुल, कुचो, जाँतो, ढिकी, ओखल, मुसल, सिलौटा, लोढा, बाटोघाटो तथा दैनिक जीवनमा प्रयोग हुने सबै वस्तुमा पानी छर्केर शीतल बनाउने पौराणिक चलन रहिआएको मिथिला संस्कृतिका जानकार धीरेन्द्र प्रेमर्षी बताउनुहुन्छ ।
वैशाख महिना लाग्नासाथ सूर्यको ताप पनि बढ्ने भएकाले यस पर्वमा मानव जीवनसँगै रुख–बोटबिरुवाका लागि पनि शीतलताको कामना गर्दै जरामा पानी हालेर ‘जुडाउने’ सांस्कृतिक परम्परा रहेको उहाँले बताउनुभयो । हिन्दू धर्मावलम्बीहरूले विशेष महत्वका साथ मनाउने यस पर्वलाई मिथिलावासीले प्रकृति संरक्षणको पर्व का रूपमा लिँदै आएका छन् । अहिले यसको महत्व झन् बढ्दै गएको उहाँको भनाइ छ ।
जुड़शीतलका दिन दिवंगत आफन्तजनको समाधिस्थलमा समेत जल चढाएर आशीर्वाद लिने परम्पराले मानव जीवनदेखि मरणोपरान्तसम्म शीतलताको अनुभूति गराउने सन्देश दिने गरेको प्रेमर्षीको भनाइ छ । यो पर्वले सधैं आफू र अरूलाई शीतल रहन प्रेरित गर्दै आएको उहाँ बताउनुहुन्छ ।
पौराणिक समयमा जुड़शीतलकै दिन इनार तथा कुवाको जीर्णोद्धार गर्ने चलन पनि थियो । तर अहिले इनार तथा कुवाहरू नै लोप हुँदै गएकाले त्यस्ता गतिविधि हराउँदै गएको छ ।
जुड़शीतलका दिन विशेष परिकार खाने चलनले पनि यस पर्वलाई थप विशेष बनाउँछ । वैशाख १ गते सतुआइन अर्थात् सतु खाने दिन पकाइएको पुरी, बडी र विभिन्न प्रकारका तरुवासहितका परिकार वैशाख २ गते खाने गरिने भएकाले यसलाई बासी पावनी, अर्थात् बासी खाने दिनका रूपमा पनि लिइन्छ ।
बासी खानामा ताप कम भई शीतलता हुने विश्वासका कारण यस दिन बासी खाना खाएर शरीरलाई तापमुक्त बनाउनुका साथै शीतलताको सन्देश प्रवाह गर्ने पर्वका रूपमा पनि जुड़शीतललाई बुझिन्छ ।
यस्तै, जुड़शीतलका दिन आँपको टिकुलाको तरुवा र चटनीसँगै सजिवन (सोहिजनमुनिगा) को तरकारी अनिवार्य खाने प्रचलन रहेको छ । पण्डित कमलकान्त झाका अनुसार फलको राजा मानिने आँपको टिकुला जुड़शीतलकै दिन चाखेर मिथिलाञ्चलमा आँप खाने सुरुआत हुने मान्यता पनि रहिआएको छ ।