गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २ गते । नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भएको चलचित्र ‘पहाड’ प्रिमियरले राम्रो प्रशंसा पाएको छ ।
निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्रले बेरोजगारी, मानवविहीन रित्तिएको पहाड र पानीको समस्यालाई चित्रण गरेको छ । निर्देशक तथा कलाकार नीर शाहले एउटा मौलिक चलचित्र हेरेको बताउनुभयो । उहाँका अनुसार चलचित्रले नेपालीपनलाई उजागर गरेको छ । निर्देशकले आफ्नो शैलीमा अहिलेको नेपालको समसामयिक विषयलाई देखाउनुभएको छ । चलचित्रले हामीलाई हाम्रो पहाड देखाउँदै धेरै तथ्यसँग जानकार गराउँछ ।
कलाकार जितु नेपालले चलचित्र हेर्दा भावुक भएको पत्तै नपाइएको बताउनुभयो । निर्देशकले आफ्नै शैलीमा अहिलेको अवस्था चलचित्रमा देखाउनुभएको छ । “पहाड साँचिक्कै चट्टान नै बनेको छ,” उहाँले भन्नुभयो । निर्देशक दीपाश्री निरौला, दीपक आचार्य, दिवाकर भट्टराई, अभिनेता रमेश उप्रेती, किरण केसीलगायतले चलचित्रको प्रशंसा गर्नुभएको थियो । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, स्व. सुनील थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीसँगै नवअभिनेत्री पञ्चमी घिमिरेको अभिनय रहेको छ ।