• २ वैशाख २०८३, बुधबार

नवलपरासीमा बर्डफ्लु पुष्टि, सीमामा सतर्कता

blog

बर्डफ्लु पुष्टि भएको केसी एकीकृत फर्म । तस्बिर : पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, वैशाख २ गते  । 
पश्चिम नवलपरासीको सुनवलमा बर्डफ्लु संक्रमण पुष्टि भएसँगै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ। सुनवल नगरपालिका वडा नम्बर १३, सूर्यबस्तीस्थित केसी एकीकृत फर्ममा बर्डफ्लु देखिएपछि त्यहाँका १ सय ९५ वटा ब्रोइलर कुखुरा नष्ट गरिएको छ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र परासीका वरिष्ठ पशु विकास अधिकृत प्रतिमा बिष्टका अनुसार  संकलन गरिएको नमूनाको रिपोर्ट प्राप्त हुँदा संक्रमण पुष्टि भएको हो। जिल्लामा  यस्तो संक्रमण देखिएकाले थप फैलन नदिन अहिले प्रभावित क्षेत्रमा निगरानी तीव्र पारिएको उहाँले जानकारी दिनुभयो।

नवलपरासीका भारतीय सीमावर्ती नाकाहरूबाट अवैध रूपमा ब्रोइलर कुखुरा र अण्डा भित्रिने क्रम नरोकिँदा संक्रमणको जोखिम उच्च बनेको छ। खुला सिमानाका कारण हुने अनियन्त्रित ओसारपसारले गर्दा संक्रामक रोगहरू सजिलै भित्रिने भए पनि सम्बन्धित निकायले प्रभावकारी कदम चाल्न सकेका छैनन्।

स्थानीय किसान र सरोकारवालाहरूले सीमा क्षेत्रमा हुने अवैध आयातलाई पूर्ण रूपमा नियन्त्रण नगरेसम्म जैविक सुरक्षाको जोखिम कायमै रहने बताएका छन्। विज्ञ केन्द्रले पनि सीमा नाकामा कडाइ र पशु क्वारेन्टाइनलाई प्रभावकारी बनाउन आवश्यक रहेको औंल्याएको छ।

संक्रमण थप फैलिन नदिन र सुरक्षित रहन चिकित्सकहरूले सर्वसाधारण र किसानलाई विशेष अपिल गरेका छन्। वरिष्ठ पशु विकास अधिकृत बिष्टले भन्नुभयो, ‘अहिलेको अवस्थामा किसानहरूले जैविक सुरक्षाका उपायहरूमा सम्झौता गर्नु हुँदैन। सीमा क्षेत्रबाट ल्याइने पशुपन्छीका कारण गाउँ नै जोखिममा पर्न सक्छ।’

हाल विज्ञ केन्द्रले प्रभावित क्षेत्र आसपासका फर्महरूमा उच्च सतर्कता अपनाउनुका साथै नियन्त्रणका थप उपायहरू अघि बढाइरहेको छ।