• २ वैशाख २०८३, बुधबार

सवारी दुर्घटनामा प्रहरी हल्वदारको मृत्यु

blog

लीलाराज खड्का 
बिर्तामोड, बैशाख २ गते ।
नयाँ वर्षको दिन झापामा अत्यधिक सवारी बढेको  छ । दुर्घटना हुँदा एकजनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा सशस्त्र प्रहरीका सहायक हवल्दार रहनुभएको छ ।

मङ्गलबार नयाँ वर्षका दिन  साँझ ५ः३० बजे मेचीनगर – २ दुर्गा मन्दिरस्थित मदन भण्डारी राजमार्गमा तिरिङखोलाबाट बाहुनडाँगीतर्फ आउँदै गरेको मे ७ प ९६५ नं. मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार पाँचथर फिदिम १२ घर भई बीओपी बाहुनडाँगीमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार वर्ष ३५ का सचिन तामाङ गंभीर घाइते हुनुभएको थियो  ।

त्यस्तै मोटरसाइकल चालक झापा अर्जुनधारा १ घर भई बीओपी बाहुनडाँगीमा कार्यरत सशस्त्र प्रहरी हवल्दार वर्ष ४० का डिल्लीराम सुबेदी सामान्य घाइते  हुनुभएको थियो । उपचारको लागि दुवै जनालाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा साँझ ६ः४५ बजे उपचारको क्रममा तामाङको मृत्यु भएको हो । मृतकको शव बीएण्डसी अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै मङ्गलबार  दिउँसो ४ः३० बजे गौरीगंज ५ डाँगीटोलास्थित फत्तेपुर– डाँगीटोला भित्री सडकखण्डमा पूर्व फत्तेपुरबाट पश्चिम डाँगीटोलातर्फ जाँदै गरेको प्र१–०१–०१२प२०८२ नम्वरको मोटरसाइकलले बिपरित दिशाबाट आउँदै गरेको साइकलयात्री  १३ का  बर्षिय सरोजसिंह गनगाईलाई ठक्कर दिएको थियो  । घाइते बालकलाई उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको छ । टाउको, अनुहार र खुट्टामा चोट लागेका बालकको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाइकल चालक सोही ठाउँको मल्लाह टोल बस्ने वर्ष अन्दाजी २५ का सुरजकुमार सिंह गनगाई ठक्कर दिएर भाग्ने क्रममा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उहाँसमेत घाइते हुनुभएको छ  । उहाँलाई  पनि सोही अस्पतालमा उपचारका लागि पठाइएको छ । उहाँको टाउको र अनुहारमा चोट लागेको छ ।

त्यस्तै, दमक –२ फनपार्कस्थित भित्री पक्की सडक खण्डमा फाल्गुनन्दबाट बेलडाँगीतर्फ जाँदै गरेको मे १० प ३७४० नं. को मोटरसाइकललाई पछाडीबाट सोही दिशा जाँदै गरेको प्र.१–०१–०१५ प ५८५ नं. को मोटरसाइकलले ठक्कर दिएको छ  । दुर्घटनामा ३७४० नं. को मोटरसाइकलका चालक दमक नपा–३ बस्ने बर्ष २५ का चन्द्रमणी घिमिरे घाइते भएका हुनुभएको छ । टाउको, मुख, दुवै हात, बायाँ खुट्टामा चोट, दाँत भाच्चिएका घिमिरेको स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात् थप उपचारका लागि निम्स अस्पताल दमक रेफर गरिएको  प्रहरीले जनाएको  छ ।