• २ वैशाख २०८३, बुधबार

महाकाली तर्न डुङ्गाकै भर

blog

परशुराम नगरपालिका–५, परीगाउँस्थित बाङ्घाटमा डुङ्गा चढेर महाकाली नदी तर्दै स्थानीय । तस्बिर : पुष्कर भण्डारी

अमरगढी समाचारदाता

डडेलधुरा, वैशाख २ गते । डडेलधुराको भित्री मधेश जोगबुढा क्षेत्रबाट रोजगारी र दैनिक उपभोग्य वस्तुदेखि औषधी उपचारका लागि जाने नजिकको अस्पताल, बजार क्षेत्र भनेको भारतको टनकपुर, वनवासा क्षेत्र नै हो । नयाँ वर्ष लागेसँगै बिसुपर्व मनाउन भारतका विभिन्न सहरबाट स्वदेश फर्कंदै गरेका सयौँ जोगबुढावासी जोखिम मोलेरै डुङ्गाको भरमा महाकाली नदी तर्न बाध्य छन् । भित्री मधेश क्षेत्र परशुराम नगरपालिका र भारतलाई जोड्न महाकाली नदीमा पुल नहुँदा स्थानीयवासीले डुङ्गाकै सहारा लिनु परेको हो । 

भारतको वनवासाबाट परशुराम नगरपालिका–५, परीगाउँको बाङ्घाटको दुरी करिब १८ किमी मात्रै छ । वनवासाबाट ४५ मिनेटको यात्रामा यहाँ पुग्न सकिन्छ । परशुराम नगरपालिका–१२ का स्थानीय हरिश भट्टराई भन्नुहुन्छ, “कञ्चनपुरको गड्डाचौकी–महेन्द्रनगर भएर जोगबुढा आउँदा एक सय किमीभन्दा बढी यात्रा गर्नुपर्ने हुन्छ । त्यसैले जोखिम मोलेरै भए पनि डुङ्गाबाटै महाकाली नदी तर्ने गरिन्छ ।” 

परशुराम नगरपालिका–५, परीगाउँकी स्थानीय सरस्वती खड्का भन्नुहुन्छ, “महाकालीमा पुल भइदिए आउजाउ गर्न निकै सहज हुन्थ्यो । चुनावका बेला नेताले भाषणमा पुल बनाउने भन्दै मत माग्छन् तर यहाँ झोलुङ्गे पुलसमेत नहुँदा सधैँ जोखिमको यात्रा गर्नै पर्छ ।” 

उहाँ जोगबुढा क्षेत्रका स्थानीय दैनिक उपभोग्य वस्तु खरिद गर्न पनि भारतीय बजार ठुलीगाड, बुम, टनकपुर, वनवासा पुग्ने गरेको बताउनुभयो । कृषि उपजले भारतीय बजारमा राम्रो मूल्य पाउने र उपभोग्य वस्तु सुपथ मूल्यमा खरिद गर्न पाइने भएकाले परशुराम नगरपालिकालगायत आलीताल गाउँपालिकाका स्थानीय भारतीय बजार आउजाउ गर्ने गरेको उहाँको भनाइ छ । 

महाकाली तरेपछि भारतीय सीमामा कालोपत्रे सडक छ । औषधी उपचारका लागिसमेत भित्री मधेशवासी भारतको खटिमा, बरेली बजारका अस्पतालमा पुग्ने गरेको वडा नं. ६ का वडाध्यक्ष खगेन्द्रबहादुर सिंहले बताउनुभयो । 

परशुराम नगरपालिका–५ को परीगाउँस्थित महाकाली नदीको बाङ्घाट र वडा नं. ६ को सिसमझालामा नदी तर्ने दुई वटा घाट छन् । यी दुई घाटबाट दैनिक सयौँको सङ्ख्यामा स्थानीय महाकाली नदी वारपार गर्ने गर्छन् । 

महाकाली नदीमा पुलको माग गरे पनि हालसम्म कुनै सुनुवाइ हुन नसकेको वडाध्यक्ष सिंहले बताउनुभयो । उहाँले दुई वटै घाटमा डुङ्गा सञ्चालन गर्न वडा कार्यालयले बढाबढीमा मोलमोलाइ गरी ठेक्का सम्झौता गरेको बताउनुभयो । 

भारतको उत्तराखण्डमा रहेको पूर्णागिरिधाम र नेपालतर्फको परशुरामधामका पर्यटक जोड्न महाकालीमा पुल आवश्यक छ । भगवान् परशुरामले ध्यान गरी यज्ञको आयोजना गरेको परशुरामधाममा माघेसङ्क्रान्तिका दिन ठुलो मेला लाग्ने गर्दछ । सुदूरपश्चिम, नेपालका विभिन्न स्थानलगायत भारतबाट समेत ठुलो सङ्ख्यामा स्नान गर्ने परशुरामधाम पुग्ने गर्छन् । 

सूर्य र चन्द्रग्रहणका बेलासमेत परशुराममा स्नान गर्नेको भिड लाग्छ । यहाँका विभिन्न देवताको देउरोलाई समेत स्नान गर्ने धार्मिक प्रचलन रहिआएको परशुराम क्षेत्र विकास समिति पूर्वअध्यक्ष कैलाशकुमार पाण्डेयले बताउनुभयो तर महाकाली नदीमा पुल नहुँदा आउजाउ गर्न समस्या हुने र सबै आस्थावान् आउन नसक्ने अवस्था रहेको उहाँले बताउनुभयो ।