• २ वैशाख २०८३, बुधबार

स्याङ्जामा डढेलोमा कमी आयो

blog

अर्जुन काफ्ले
स्याङ्जा, वैशाख २ गते ।
चैत–वैशाखमा हरेक वर्ष वन डढेलोको जोखिम बढ्ने गरे पनि यस वर्ष स्याङ्जामा भने कमी आएको छ । विगतमा सामान्य लापरबाहीकै कारण ठुलो क्षेत्रफलमा वन विनाश हुने र वन्यजन्तु तथा बस्ती नै जोखिममा पर्ने गरेकोमा अहिले सुधार आएको हो ।

डिभिजन वन कार्यालय स्याङ्जाका डिभिजन वन अधिकृत नवराज बरालले अघिल्लो आर्थिक वर्ष ०८०/८१ मा झण्डै ४९७.२ हेक्टर वन क्षेत्रमा डढेलो लागेकोमा आर्थिक वर्ष ०८१/८२ मा यो घटेर जम्मा २४ हेक्टरमा सीमित भएको थियो ।

यस वर्ष आँधीखोला गाउँपालिका –१ को राम्चे क्षेत्रमा सामान्य डढेलो बाहेक ठुलो क्षति नभएको हो ।

समय–समयमा परेको वर्षा, सचेतनामूलक कार्यक्रम र पूर्वतयारीका कारण डढेलो नियन्त्रणमा सकारात्मक प्रभाव परेको बरालले बताउनुभयो ।

यस वर्ष विगतको तुलनामा डढेलो निकै कम भएको बताउदै बरालले थानीयको सक्रियता र समयमै गरिएको व्यवस्थापनले जोखिम घटाउन सहयोग पुगेको बताउनुभयो ।

उहाँले अझै जोखिमको समय बाँकी रहेकाले सबै पक्ष सतर्क रहन आवश्यक रहेको पनि बताउनुभयो ।

फागुन–चैतको सुख्खा मौसममा समेत बिच–बिचमा भएको वर्षाले वन क्षेत्र हरियाली बनेनकाले पनि डडेलो कम भएको हो । पतझरका कारण जोखिममा रहने पाखापखेरामा समेत वन जोगिनु सकारात्मक सङ्केतका रूपमा लिइएको छ ।

यहाँ ५२५ सामुदायिक वनहरू रहेका बताउदै बरालले अबको महिनामा समेत निरन्तर सतर्कता अपनाउन सके स्याङ्जाको यो उपलब्धि अन्य जिल्लाका लागि उदाहरण बन्न सक्ने देखिन्छ ।