• २ वैशाख २०८३, बुधबार

विर्सामुण्डालाई हराउँदै विराट सेमिफाइनलमा

blog

खेमराज सापकोटा

रानी (विराटनगर), वैशाख २ गते । विराटनगरमा जारी ३८ औँ संस्करणको नोबेल विराट गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली सम्राट स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

सहिद मैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा भारतको झारखण्डस्थित विर्सामुण्डा स्पोट्र्स एकेडेमीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सम्राटले अन्तिम चारको यात्रा तय गरेको हो ।

खेलको सुरुआतदेखि नै आक्रामक रणनीति अपनाएको विर्सामुण्डाले पहिलो हाफको अन्त्यतिर अग्रता लिएको थियो । ४४ औँ मिनेटमा शंकर किस्कुले गोल गर्दै पाहुना टोलीलाई १–० को अग्रता दिलाउनुभयो । पहिलो हाफमा पछि परेको घरेलु टोली दोस्रो हाफमा थप आक्रामक रूपमा मैदान उत्रियो ।

खेलको ५० औँ मिनेटमा सम्राटले बराबरी गोल फर्कायो । सौरव तामाङको उत्कृष्ट क्रस पासलाई मौसम लिम्बुले डिबक्स भित्रबाट गोलमा परिणत गर्नुभयो । खेलको ८६ औँ मिनेटमा प्रताप तामाङले गोल गर्दै सम्राटलाई २–१ को अग्रता दिलाउनुभयो ।

त्यसपछि थप गरिएको अतिरिक्त समयमा प्रतापले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको ३–१ को जित सुनिश्चित गर्नुभएको हो । 
उत्कृष्ट प्रदर्शन गरेका प्रताप तामाङ नै खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भई नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको छ ।

विर्सामुण्डाका लागि शिव शंकर किस्कुले एक सान्त्वना गोल गरे पनि पाहुना टोलीले अन्य थुप्रै अवसर गुमाउँदा पहिलो खेलबाटै घर फर्किन बाध्य भएको छ ।

प्रतियोगिताअन्तर्गत बुधबार पहिलो सेमिफाइनल खेल हुनेछ । जसमा दुई पूर्व विजेता टोलीहरू विभागीय टोली नेपाल पुलिस क्लब र झापा ११ बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । सम्राटले भने, फाइनल प्रवेशका लागि वैशाख ३ गते चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।