• २ वैशाख २०८३, बुधबार

आर्थिक गणनाका लागि मोरङमा १७८ सुपरीवेक्षक परिचालित

blog

शशिधर पराजुली 
विराटनगर, वैशाख १ गते ।
मुलुकको आर्थिक सूचकांकको वास्तविक चित्र उतार्न आज (बुधबार)देखि देशव्यापी रुपमा सुरु भएको तीन महिने ‘दोस्रो राष्ट्रिय आर्थिक गणना’ अभियानमा मोरङका १७८ जना सुपरीवेक्षक खटिनुभएको छ ।

आगामी असार पहिलो सातासम्म मोरङका १७ वटै स्थानीय तहहरुमा रहेका व्यवसायिक प्रतिष्ठानको विवरण संकलन गरिनेछ ।

जिल्ला आर्थिक गणना कार्यालय मोरङका प्रमुख सुवास अधिकारीले स्थलगत गणनाका लागि जनशक्ति परिचालित भइसकेको जानकारी दिनुभयो ।

यस गणनामा साना पसल र स्वरोजगारदेखि ठुला उद्योग, कलकारखाना, सरकारी तथा निजी विद्यालय, अस्पताल र गैरसरकारी संस्थासम्मको सम्पूर्ण विवरण संकलन गरिने बताइएको छ ।

आर्थिक गणनामा विशेषगरी १८ वटा प्रमुख आर्थिक क्षेत्रको लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहको अवस्थालाई यसले सूक्ष्म ढंगले केलाउने तथ्यांक कार्यालयले जनाएको छ।

अर्थ मन्त्रालयले मुलुकको आगामी आर्थिक नीति निर्माणमा यो तथ्यांक कोसेढुङ्गा सावित हुने भन्दै सही विवरण उपलब्ध गराउन सबैमा अपिल पनि गरेको छ । गणनाका लागि देशभर ८४ वटा विशेष कार्यालय स्थापना गरिएका छन् र ५ हजार गणक परिचालन गरिएका छन् ।

यसअघि २०७५ सालमा गरिएको पहिलो आर्थिक गणनाले देशभर ९ लाख २३ हजार ३५६ व्यावसायिक प्रतिष्ठान सञ्चालनमा रहेको देखाएको थियो । ६ वर्षपछि हुन लागेको यो गणनाले आर्थिक क्षेत्रमा भएको परिवर्तनलाई उजागर गर्ने विश्वास लिइएको छ ।