माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), वैशाख २ गते । कास्की प्रहरीले पोखराका विभिन्न स्थानमा सञ्चालन गरेको ‘स्विप अप्रेसन’ अन्तर्गत १८ जना व्यक्ति र ४१ वटा सवारीसाधन कारबाहीमा परेका छन् । नयाँ वर्ष २०८३ को पहिलो दिन प्रहरीले उक्त अप्रेसन सञ्चालन गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी युनिटहरूले मादक पदार्थ तथा लागुऔषध सेवन गरी होहल्ला गर्ने, मापसेरलापसे गरेर सवारी चलाउने, सवारीसाधनको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने तथा शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधि नियन्त्रणका लागि उक्त अप्रेसन सञ्चालन गरेका हुन् ।
वैशाख १ गते दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिएको अप्रेसनमा पोखराका विभिन्न स्थानबाट नियम उल्लङ्घन गर्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी एवं डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार पोखरा–११, काहुँडाँडाबाट १० वटा सवारीसाधन र ८ जना, पोखरा–१४, चाउथेबाट ९ वटा सवारीसाधन कारबाहीमा परेका छन् । त्यसैगरी पोखरा–१८, मेथलाङबाट ६ वटा सवारीसाधनलाई कारबाही गरी छाडिएको छ भने ७ वटा सवारीसाधन र ५ जनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
प्रहरीले पोखराको बेगनास क्षेत्रबाट ८ वटा सवारीसाधन कारबाही गरी छाडेको छ । साथै, लागुऔषध सेवन गरी सवारी चलाएको पाइएको १ जना चालकसहित थप ४ जनालाई नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा लिइएका व्यक्ति तथा सवारीसाधनमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । कास्की प्रहरीले यस्ता गतिविधि नियन्त्रण गर्न आगामी दिनमा पनि नियमित रूपमा ‘स्विप अप्रेसन’ जारी राख्ने र शान्ति सुरक्षामा खलल पुर्याउनेहरूलाई कडा कारबाही गरिने चेतावनी दिएको छ ।