• २७ फागुन २०८२, बुधबार

सुरुङमार्गका लागि सात वटा कम्पनी छनोट

blog

काठमाडौँ, फागुन २७ गते । बहुप्रतिक्षीत नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि आवेदन गरेका १० कम्पनीमध्ये प्राविधिक मूल्याङ्कनमा सात वटा छनोट भएका छन् । प्राविधिक मूल्याङ्कनमा छनोट भएका कम्पनीको आर्थिक मूल्याङ्कन सुरु गरिने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जनाएको छ ।

आयोजनाले गत कातिक १६ गते आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र (इन्टरनेसनल कम्पिटेटिभ बिडिङ, आइसिबी) मा छ चिनियाँ, तीन भारतीय र टर्किएको एउटा गरी आवेदन दिएका १० कम्पनीमध्ये प्राविधिक मूल्याङ्कनमा सात वटा छनोट भएका हुन् । आवेदन दिएकामध्ये तीन कम्पनीले मापदण्ड पूरा गर्न नसक्दा छनोट प्रक्रियाबाट बाहिरिएका छन् । प्राविधिक मूल्याङ्कनमा उत्तीर्ण भएका कम्पनीको मात्र आर्थिक मूल्याङ्कन गरिने प्रावधान रहेको छ ।

खरिद प्रक्रियामा सहभागी कम्पनीले बोलपत्रको सर्त अनुसार नेपाली कम्पनीसँग संयुक्त (ज्वाइन्ट भेन्चर) रूपमा आवेदन दिएका हुन् । कम्तीमा एउटा नेपाली कम्पनीसँग मिलेर संयुक्त रूपमा आवेदन दिनुपर्ने बोलपत्रको अनिवार्य सर्त छ । छनोट भएका सेवाप्रदायक कम्पनीले पाँच वर्षसम्म सो सुरुङमार्ग सञ्चालन गर्न पाउने छ ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार काष्ठमाण्डप/गान्सु हेङटोङ (संयुक्त), एसएक्सआरबी–ब्राइट बुल (संयुक्त), जेटिसिजी–डाँफे (संयुक्त), इएमएसएल/पशुपति शिवजी कन्स्ट्रक्सन (संयुक्त), समानान्तर/चाइना फस्र्ट हाइवे इन्जिनियरिङ (संयुक्त), वेदांशी इन्फ्रास्ट्रक्चर/रानकेन रेल्वे कन्स्ट्रक्सन ग्रुप (संयुक्त) र चोङक्विङ युक्सिन रोड एन्ड ब्रिज्ड डेभलपमेन्ट/एआरटी कन्स्ट्रक्सन (संयुक्त) छनोट भएका छन् । त्यसै गरी सेग्मेन्टल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट–स्वच्छन्द निर्माण सेवा (संयुक्त), बाबरी कन्स्ट्रक्सन/टनेल टेक सोलुसन (संयुक्त) र केएसएनएस–अल्टिनको–बिपिसिएल (संयुक्त) प्राविधिक मूल्याङ्कनमा छनोट हुन नसकेको हो । 

सुरुङमार्ग सञ्चालनका लागि खरिद प्रक्रियामा सहभागी भएकामध्ये प्राविधिक मूल्याङ्कनमा सात वटा कम्पनी छनोट भएका र ती कम्पनीको चैत १ गतेदेखि आर्थिक मूल्याङ्कन सुरु गरिने आयोजना उपनिर्देशक पन्थीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आर्थिक मूल्याङ्कन गर्न १५ दिन लाग्छ । आर्थिक मूल्याङ्कनमा उत्कृष्ट भई उत्तीर्ण भएका कम्पनीबारे दाबी विरोध गर्न सो कम्पनीको नामसहितको आशयको सूचना निकाल्नु पर्छ । आशयको सूचना सात दिनको हुन्छ । सात दिनसम्म कुनै दाबी विरोध परेन भने सम्झौता गर्न सो कम्पनीलाई पत्राचार गरिन्छ । पत्राचार भएको १५ दिनभित्र सो कम्पनी आएर सम्झौता गर्नुपर्ने हुन्छ ।”

सुरुङमार्ग सञ्चालनका लागि छनोट भएका कम्पनीसँग चैतभित्र सम्झौता गरिसकिने बताउँदै उहाँले भन्नुभयो, “सम्झौता गरेका कम्पनीले जनशक्ति जुटाउन र तिनीहरूलाई आवश्यक तालिम दिन कम्तीमा एक महिनाको समय लाग्न सक्छ । त्यसपछि ती कम्पनीले सुरुङमार्ग सञ्चालनमा ल्याउँछ ।”

आयोजना उपनिर्देशक पन्थीले परीक्षणका रूपमा भए पनि वैशाखभित्र सुरुङमार्ग सञ्चालन गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो ।