बागलुङ समाचारदाता
बागलुङ, चैत ४ गते । पश्चिम बागलुङ हुँदै बग्ने भुजीखोलाको बाढीले क्षति पु¥याएको पाँच वर्ष बितिसकेको छ । २०७७ भदौ १७ गते भुजीखोलाको बाढीमा परी ३७ जनाले ज्यान गुमाएका थिए । पन्ध्र जना अझै बेपत्ताको सूचीमा छन् । ढोरपाटन नगरपालिका–९ को बुर्तिबाङमा पहिरो खसेर भुजीखोला थुनिएपछि ठुलो बाढी आएको थियो ।
बोबाङमा १२६ भन्दा बढी घरपरिवार बाढीपहिरोपीडित भएका थिए । तीमध्ये २० जनाभन्दा कमले मात्रै पुनर्निर्माणका लागि पहिलो किस्ता पाएका छन् ।
घर बनाएका कतिपयले राहतसमेत पाउन सकेका छैनन् । आवास निर्माणका लागि पहिलो किस्ता लगेका पीडितले सरकारी मापदण्ड पूरा नगरेकोले दोस्रो किस्ताको रकम पाउन सकेका छैनन् । राज्यले उल्टै बेरुजु भएकाले सरकारी बाँकीसरह फिर्ता गर्न खोजेपछि बाढीपीडित झन् चिन्तित बनेका छन् ।
सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजित सरोकारवालाको बैठकमा ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले भन्नुभयो, “अघिल्ला वर्षमा भएका विपतजन्य समस्याका पीडितले अहिले पनि घर बनाएर बस्न नसकेकोले उनीहरूको समस्या समाधान गर्न गम्भीर बन्नु पर्छ ।” पाँच वर्षअघिको बाढीबाट पीडितले घर बनाउन नसकेको र बनाएकाले पनि राज्यको साथ नपाएको कायतले गुनासो गर्नुभयो । अघिल्लो पटक दिनुपर्ने राहत अझै नपाएको, घर बनाउन नसकेका कारण अहिले पनि पीडितले समस्या झेल्नु परेको उहाँको भनाइ थियो ।
अन्य पालिकामा पनि पीडितले समयमा राहत नपाएको, कतिपयको सूचीकरण पनि नभएको गुनासो छ । तमानखोलाका पीडितले अहिले पनि सूचीकृतमा पर्ने बाटो हेरेर बस्न बाध्य भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । तोकेको मापदण्ड पूरा गर्न झन्झट भएपछि जैमिनी नगरपालिकाले घरबारविहीनलाई आफ्नै नीतिमार्फत घर बनाउन पहल गरेको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो ।
स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सुरक्षा निकायका प्रमुख, सरोकार राख्ने सबैखाले कार्यालयका प्रतिनिधि सहभागी बैठकमा विपत् व्यवस्थापनको पूर्वतयारी, सचेतना र नागरिकको दैनिकीमा आइरहेको जटिलताबारे छलफल भएको थियो । दैनिक उपभोग्यमध्ये पेट्रोलियम पदार्थ र एलपी ग्यासलगायतको अभाव हुन नदिने विषयमा छलफल भएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले जानकारी दिनुभयो ।