• ४ चैत २०८२, बुधबार

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई भवन र जग्गा हस्तान्तरण

blog

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई खजुरा गाउँपालिकाको पुरानो भवन र जग्गा हस्तान्तरण गरिँदै। तस्बिर: गोविन्द शर्मा

गोविन्द शर्मा
बाँके, चैत ४ गते ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयको प्रशासनिक कार्यालय सञ्चालनका लागि बाँकेको खजुरा गाउँपालिकाले पुरानो पालिका भवन र जग्गा हस्तान्तरण गरेको छ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले गाउँपालिकाको नयाँ भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि साबिकमा कार्यालयका रूपमा प्रयोग हुँदै आएको वडा नं. ४ स्थित भवन र जग्गाको स्वामित्व विश्वविद्यालयलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो।

अध्यक्ष विकले भन्नुभयो, “विश्वविद्यालयको केन्द्रीय कार्यालय खजुराबाटै सञ्चालन गर्न पालिकाको भवन र जग्गा हस्तान्तरण गरिएको हो।”

खजुरा गाउँपालिकाले वडा नं. ८ रनियापुरमा करिब ९४ बिघा सरकारी जग्गा उपलब्ध गराउन सिफारिस गरेपछि लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना भएको हो। सङ्घीय सरकारबाट जग्गा प्राप्तिमा ढिलाइ भएपछि हाल नेपालगञ्जस्थित वन डिभिजन कार्यालयमा केन्द्रीय कार्यालय र पठनपाठन सञ्चालन भइरहेको छ। वन डिभिजनसँगै कृषि विकास बैंकको भवनसमेत प्रयोग गरिएको छ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोद ढकालले विश्वविद्यालय सञ्चालनका लागि खजुरावासीले पुर्‍याएको साथ, समर्थन र सहयोग सधैँ स्मरणीय रहने बताउनुभयो।

जग्गा प्राप्तिका लागि गाउँपालिकाले सुरुवातमै निर्णय गरे पनि विभिन्न नीतिगत निर्णय समयमै हुन नसक्दा ढिलाइ भएको उहाँको भनाइ छ। पछिल्ला निर्णयसँगै करिब ५० बिघा जग्गा विश्वविद्यालयले भोगचलन गर्न पाउने गरी प्रक्रिया अघि बढेको उहाँले जानकारी दिनुभयो।

खजुरा गाउँपालिकाले उपलब्ध गराएको जग्गा केन्द्रीय प्रशासनिक कार्यालय स्थापनाका लागि उपयुक्त भएकाले तत्काल कार्यालय सञ्चालन गरिने उहाँले बताउनुभयो। विश्वविद्यालयमा बीटेक इन इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, बीटेक इन आईटी र बीटेक इन एआई विषयमा अध्ययन–अध्यापन भइरहेको छ।