• ४ चैत २०८२, बुधबार

रिडीमा व्यवस्थित घाट निर्माण हुने

blog

रिडीमा व्यवस्थित घाट निर्माणका लागि निरीक्षण गर्दै । तस्बिरः तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास(गुल्मी), चैत ४ गते । गुल्मीको रिडीमा व्यवस्थित घाट निर्माण गरिने भएको छ । रुरुक्षेत्र गाउँपालिका गुल्मीका अध्यक्ष यदु ज्ञवालीका अनुसार यस क्षेत्रमा धेरै गुल्मी लगायत अन्य जिल्लाबाट पनि अन्त्यष्टि गर्न आउने भएकाले वर्षा र हिँउदमा पनि १२ महिना सञ्चालनका लागि मलामीलाई विश्राम स्थलसहितको घाट निर्माण गर्न लागिएको हो । 

जिल्लाको रेसुङ्गा नगरपालिका, गुल्मी दरबार, छत्रकोट र अर्घाखाँचीको छत्रकोट गाउँपालिकाबिच सहकार्य गरी व्यवस्थित घाट निर्माण गर्न लागिएको हो । रेसुङ्गा, गुल्मी दरबार, छत्रकोट र छत्रदेवको १०, १० लाख रुपियाँ र रुरुक्षेत्र गाउँपालिकाले तयार गरेको विस्तृत लागत अनुमानको बजेट गाउँपालिकाले विनियोजन गरी  घाटलाई व्यवस्थित तरिकाले २४ सै घण्टा र १२ महिना सञ्चालनमा ल्याउन सक्ने गरी निर्माण गर्ने योजना बनाइएको ज्ञवालीले बताउनुभयो । 

मलामीलाई विश्राम कक्ष र रातको समयमा पनि अन्त्यष्टि गर्नुपर्ने भएकाले लाइटको समेत व्यवस्थापन गर्ने र अन्य संरचनाहरू पनि निर्माण गर्ने उहाँको भनाइ छ । यस कार्यमा छिमेकी पालिकाले देखाएको सहकार्यमा उहाँहरूको उपस्थितिसहित स्थलगत निरीक्षणसमेत गरिएको ज्ञवालीले बताउनुभयो । 

रिडीमा छिमेकी जिल्ला पाल्पा अर्घाखाँची लगायतका जिल्लाबाट अन्त्येष्टिका लागि आउने गरेको स्थानीय रामलाल विकले जानकारी दिनुभयो ।