• ६ चैत २०८२, शुक्रबार

दैनिक १२ सय लिटर दुध संकलन तथा बिक्री

blog

सहकारीको दुग्ध संकलन केन्द्रमा संकलन भएको दुध ।

अमृतप्रसाद पौडेल

म्याग्दी, चैत ४ गते । म्याग्दीको बेनी नगरपालिका –४ का दुई जना वडा अध्यक्षहरुको अग्रसरतामा अहिले दैनिक १२ सय लिटर दुध संकलन हुने गरेको छ । 

बेनी नगरपालिका –४ का अध्यक्ष अणबहादुर खड्का र निवर्तमान अध्यक्ष गोविन्द पौडेलको अगुवाइमा दुध संकलन हुने गरेको हो । खड्काको सहजीकरणले गर्दा बास्कुना कृषि सहकारी संस्थाले दुध आठसय लिटर संकलन गरेर पोखरास्थित सुजल डेरी उद्योगमा पठाउने गरेको छ । 

त्यस्तै, निवर्तमान अध्यक्ष गोविन्द पौडेलको अध्यक्षतामा रहेको शुभकामना कृषि सहकारीले दैनिक चारसय लिटर दुध संकलन र बजारीकरण गरेर कृषकलाई स्वदेशमै मेहनत गरेमा मनग्य आम्दानी गर्न सकिने रहेछ भन्ने यथार्थमै देखाएको छ ।

बेनी नगरपालिका –४ को समन्वयमा सुजल डेरी उद्योगसँग भएको सम्झौता बमोजीम दुध पोखरा पठाउने गरिएको वडा अध्यक्ष अणबहादुर खड्काको भनाइ छ । स्थानीय तहको अग्रसरतामा सुरु भएको दुध संकलनले सकारात्मक प्रभाव पारेको र आफूले पनि गाईभैसी पालेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “जनताको कामबाट फुर्सद मिल्दा आफ्नो कृषि कर्ममा लाग्ने र दैनिक रुपमा ९० लिटर दुध उत्पादन गर्नेगरेको छु । आफ्नै अग्रसरतामा सुजल डेरी उद्योगलाई यहाँ ल्याएको र डेरीले हरेक १५ दिनमा दुधको रकम कृषकलाई भुक्तानी गर्ने गरेको सुनाउनुभयो । 

सुजलले डेरी उद्योगले सहकारी संस्थाको खातामा जम्मा गरिदिएपछि सहकारीबाट कृषकहरुले रकम बुझ्ने गरेका छन् । शुभकामना कृषि सहकारीले चालु आर्थिक वर्षको हालसम्म झण्डै ९२ हजार लिटर दुध संकलन गरेर बिक्री गरेको सहकारीका दुग्ध व्यवस्थापन समितिका संयोजक कोपिलाल पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सहकारीले गत आर्थिक वर्षमा ७८ जना शेयर सदस्य कृषकबाट एक लाख ४८ हजार पाँचसय ९५ लिटर दुध संकलन गरेर विक्री गरेको थियो । आर्थिक वर्ष २०८०–८१ मा ७२ जना कृषकबाट कुल एक लाख तीन हजार नौसय ७५ लिटर दुध संकलन गरेर विक्री गरेको थियो । 

हाल सहकारीका सदस्य रहेका ८४ जना कृषकहरुले पालेको गाइभैसीको दुध नियमित रुपमा संकलन गरेर सदरमुकाम बेनी तथा स्थानीय बजारमै पनि बिक्री गर्ने गरेको सहकारीका दुग्ध संकलन व्यवस्थापनका कर्मचारी डण्डपाणी पौडेलले बताउनुभयो । 

शुभकामना कृषि सहकारीको संकलन केन्द्रमा दुध ल्याउने कृषकहरुले हरेक महिनाको १० गते सम्ममा आफ्नो खातामार्फत नै रकम भुक्तानी पाउने गरेका पौडेलको भनाइ छ ।

शुभकामना कृषि सहकारीले हरेक दिन बिहान र बेलुका ५ बजेदेखि संस्थाको कार्यालयमै दुध संकलन गर्ने र बेनी नगरपालिका –४ सिङ्गा तथा बेनी नगरपालिका –७ र ८ बेनी बजारका साथै जलजला गाउँपालिका –३ पर्वत बेनीसम्ममा विक्री बितरण गर्दैआएको छ । 

शुभकामना कृषि सहकारीको अध्यक्षमा गोविन्द पौडेल चयन हुनुभएपछि दुग्ध व्यवस्थापन संयोजकका रुपमा कोपिलाल पौडेल आउनुभएको थियो । उहाँ दुग्ध संयोजकको रुपमा आएपछि कृषकलाई आवश्यक पर्ने गाई तथा भैसी खरिदका लागि सहकारीले नै ऋण दिने गरेको कृषक नर्मता पौडेलको भनाइ छ । 

छवटा भैसीहरु खरिद गर्दा सहकारीबाटै ऋण लिएको र हाल उक्त ऋण तिरिसकेको बताउनुभयो । शुभकामना कृषि सहकारी संस्था लिमिटेडले गाई भैसी खरिदका लागि ४२ लाखभन्दा ऋण लगानी गरेको छ । 

साना किसान बैंकमार्फत अनुदानमा ल्याएको रकम ९ प्रतिशत र सहकारीको आफ्नो रकम १२ प्रतिशतसम्म ब्याजदरमा लगानी गर्ने गरेको सहकारीका अध्यक्ष गोविन्द पौडेलको भनाइ छ ।

बास्कुना कृषि सहकारी संस्था लिमिटेडले गत असोजदेखि दुध संकलन गरेर पोखरामा रहेको सुजल डेरी उद्योगमा पठाउन थालेको हो । सहकारीले हरेक दिन आठसय लिटर दुध संकलन गर्ने गरेको छ । सिंगामा संकलन भएको दुध सुजल डेरी उद्योगको गाडीले पोखरा लिएर जाने गरेको बास्कुना कृषि सहकारी संस्थाका अध्यक्ष तिलक गुरुङले जानकारी दिनुभयो ।

बास्कुना कृषि सहकारी संस्थाको संकलन केन्द्र समावेसी भएको कारणले पनि कृषकहरुको उत्साह बढेको सहकारीका सचिव खड्ग पुनको भनाइ छ । दुधको परिणामभन्दा पनि गुणस्तर राम्रो भएमा राम्रो मुल्य पाउने भएको हुनाले पनि कृषकहरु उत्साहित भएर दुध उत्पादनलाई महत्व दिन थालेको उहाँको भनाइ छ ।

असोज महिनादेखि दुध संकन गर्न थालेको बास्कुना कृषि सहकारीले हालसम्म एक लाख २ हजार लिटर दुध सुजल डेरी पोखरालाई पठाएको छ । सहकारीले उक्त परिणाममा दुध पठाउँदा डेरीमार्फत करिब ६५ लाख रुपियाँ सहकारीमार्फत कृषकले पाएका छन् ।