शशिधर पराजुली
विराटनगर, चैत ६ गते । मोरङका दुई वटा स्थानीय तहमा व्यावसायिक रूपमा पालिएका पन्छीहरूमा घातक मानिने ‘एच१एन१’ बर्डफ्लु भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
जिल्लाको उर्लाबारी र सुन्दर हरैँचा नगरपालिकाका दुई वटा कृषि फर्ममा सङ्क्रमण देखिएपछि प्रशासनले नियन्त्रणका लागि सङ्कटकालीन कदम चालेको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख डा.अजयकुमार साहका अनुसार उर्लाबारी नगरपालिका–८ स्थित उमेश थापाको ‘अठियाबारी कृषि फर्म’ र सुन्दरहरैँचा नगरपालिका–४ स्थित नारायण वाग्लेको ‘हलेसी महादेव कृषि फर्म प्रालि’ मा बर्डफ्लु पुष्टि भएको हो ।
पशु सेवा विभागले गठन गरेको तीन सदस्यीय ‘इमर्जेन्सी डिजिज इन्भेस्टिगेसन टिम’ को स्थलगत विश्लेषण र नमूना परीक्षणका आधारमा सङ्क्रमणको औपचारिक घोषणा गरिएको हो ।सङ्क्रमण नियन्त्रणका लागि आजै जिल्ला प्राविधिक समिति (डाई–टेक) को बैठक बसी प्रभावित क्षेत्रमा पक्षी र पन्छिजन्य वस्तुको नष्ट गर्ने कार्य गर्ने तयारी गरिएको छ ।
डा.साहका अनुसार सङ्क्रमित फर्मलाई केन्द्र विन्दु मानी ‘चार किल्ला’ तोकिएको छ र उक्त क्षेत्रमा आवतजावत तथा पन्छिजन्य पदार्थको ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
नियन्त्रण टोलीले आजैबाट सङ्क्रमित फर्म र त्यसको वरिपरि रहेका हाँस, कुखुरा र अन्य पन्छिजन्य सामग्री नष्ट गर्ने कार्य अगाडि बढाएको छ ।
सङ्क्रमित फर्म वरिपरि ३ किलोमिटर क्षेत्रलाई प्रभावित क्षेत्र मानेर नियन्त्रणको काम अगाडि बढाइने डा. साहले जानकारी दिनुभयो ।
किसानलाई राहत र कर्मचारीलाई प्रोत्साहन
सरकारले जारी गरेको ‘बर्डफ्लु नियन्त्रण नियमावली २०७८’ अनुसार सङ्क्रमण नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी, अण्डा र दानाका लागि किसानलाई राहत दिने व्यवस्था छ ।
नियमावलीको नियम २८ बमोजिम, प्रचलित बजार मूल्यको ७५ प्रतिशतसम्म राहत रकम उपलब्ध गराइने प्रावधान छ ।यसका लागि पशु सेवा विज्ञ केन्द्रले नष्ट गरिएका सामग्रीको मुचुल्का उठाएर प्रक्रिया अगाडि बढाउनेछ ।
त्यसैगरी, जोखिमपूर्ण मानिने बर्डफ्लु प्रतिकार्य कार्यमा खटिने कर्मचारीहरूका लागि पनि नियमावलीले विशेष प्रोत्साहनको व्यवस्था गरेको छ ।
नियन्त्रण कार्यमा खटिने प्राविधिक तथा जनशक्तिलाई कार्यविधि अनुसार दैनिक भत्ता, जोखिम भत्ता र अनिवार्य व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउने कानुनी व्यवस्था रहेको डा. साहले जानकारी दिनुभयो ।
४१ दिनसम्म उत्पादनमा रोक र स्वास्थ्य जोखिम
सङ्क्रमण देखिएका फर्महरूमा पन्छी नष्ट गरी निसङ्क्रमण गरिसकेपछि कम्तीमा ४१ दिनसम्म कुनै पनि नयाँ पन्छी पालन गर्न नपाइने नियमावलीमा उल्लेख छ ।
यो अवधिभर उक्त क्षेत्रलाई उच्च निगरानीमा राखिनेछ ।बर्डफ्लु पन्छीबाट मानिसमा समेत सर्न सक्ने ‘जुनेटिक’ रोग भएकाले यसको जोखिम उच्च मानिन्छ ।
विज्ञहरूका अनुसार सङ्क्रमित पन्छीको सम्पर्कमा आउँदा वा असुरक्षित तरिकाले मासुजन्य पदार्थको प्रयोग गर्दा मानिसमा समेत गम्भीर स्वास्थ्य समस्या देखिन सक्छ ।
त्यसैले सङ्क्रमित क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन र मरेका पन्छीलाई जथाभाबी नफाल्न पशु स्वास्थ्य विज्ञहरूले अपिल गरेका छन् ।
प्रशासनले बर्डफ्लु नियन्त्रणका लागि आवश्यक जनशक्ति, लजिस्टिक सामग्री र सवारी साधन तयारी अवस्थामा राखेको जनाएको छ ।