रामकृष्ण बोहरा
बागलुङ, चैत ६ गते । राजनीतिक हस्तक्षेप, आर्थिक पारदर्शिताको अभावजस्ता समस्याले गिजोलिएको जिल्लाकै पुरानो विद्या मन्दिरलाई नमुना बनाउन अभियान थालिएको छ ।
नयाँ शैक्षिकसत्रमा सुधार गर्न सक्ने सम्भावनाबारे अभिभावक, पूर्व प्रधानाध्यापक र व्यवस्थापन समितिका पूर्व पदाधिकारीबिच छलफल चलाएर अभियानको सुरुवात गरिएको हो ।
विद्यालयका शुभचिन्तकहरुले राजनीतिक हस्तक्षेपबाट विद्यालय मुक्त गर्नुपर्ने, शिक्षकहरुबिच सुमधुर सम्बन्ध कायम गर्नुपर्ने र पूर्वाधारसँगै गुणस्तरमा लाग्नुपर्ने सुझाव दिनुभएको छ । विद्यालयका पूर्व प्रअ जगन्नाथ आचार्यले भूकम्पबाट प्रभावित विद्यालयको भौतिक पूर्वाधार बनिसकेकाले शैक्षिक गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभयो ।
प्रविधिसहित आधुनिक शिक्षा प्रणाली अपनाउन सके विद्यालयलाई अग्रणी शिक्षा संस्था बन्ने आचार्यको सुझाव छ । पूर्व शिक्षक तथा धौलागिरि बहुमुखी क्याम्पसका उपप्राध्यापक डिल्लीराज गौतमले क्याम्पसको जनशक्तीलाई उपयोग गर्ने र विद्या मन्दिरका उत्पादन क्याम्पसमा जाने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो । इतिहास बनाएको जिल्लाकै पुरानो शैक्षिक धरोधरलाई भविष्य सुधार्ने अवसर आएकाले गुणस्तरमा ध्यान केन्द्रित गर्नुपर्ने गौतमको भनाइ छ ।
कार्यक्रममा पूर्व प्रअहरु ईश्वरलाल बज्राचार्य, दिपकज्योती श्रेष्ठ, पूर्व शिक्षक मनकुमारी केसी, पूर्व अध्यक्ष कृष्णराज शर्मा, धौलागिरि बहुमुखी क्याम्पसका व्यवस्थापन बिबिए विभाग प्रमुख विप्लब शर्मा लगायतले रचनात्मक सुझाव दिनुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठले सरोकारवालाको सुझाव अनुसार शैक्षिक सुधार ल्याउने, राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नयाँ शैक्षिकसत्रलाई नमूना बनाउँदै विद्यालयको इतिहास खोज्ने र भविष्य बनाउने श्रेष्ठले योजना सुनाउनुभयो ।
‘‘विद्यालयलाई शैक्षिक र भौतिक रुपमा नमुना बनाउन अभिभावक र सरोकारवालाको साथ चाहिन्छ’’ श्रेष्ठले भन्नुभयो । प्रअ छविरमण रेग्मीका अनुसार, विद्यालयमा पर्वत, म्याग्दी, मुस्ताङ, कास्की, स्याङ्जा, रुकुम, रोल्पा, जाजरकोट, मुगु, सुर्खेत, लमजुङ, गोरखा, रामेछाप, दोलखा, सर्लाही, रौतहत, पूर्व नवलपरासी, सिन्धुली, धादिङ, खोटाङ, बागलुङ, नुवाकोट र बारासहित २३ जिल्लाका झण्डै १४ सय विद्यार्थीले विद्यालयमा अध्यापन गर्दैआएका छन् ।
विसं १९९७ सालमा स्थापना भएको विद्यालय २०७२ सालको भुकम्पमा पठनपाठन गराउनै नसकिने गरी ठाउँ ठाउँमा चर्किएको थियो । दाताहरुको सहयोगमा विद्यालय अहिले सुविधासम्पन्न पक्की भवनमा ठडिएको छ । २०७३ सालमा लगाइएको महायज्ञबाट संकलित ६ करोड २८ लाख रुपियाँबाट २८ कोठे पक्की भवन बनाइएको छ ।
विद्यालयमा ब्रिटिश वेलफेयरले १ करोड ३९ लाख खर्चेर आठकोठे भवन निर्माण गरिदिएको छ । स्थानीय समाजसेवीबाट २८ लाख लागतमा तीनकाठे भवन पनि निर्माण गरिएको छ ।