• ६ चैत २०८२, शुक्रबार

जलेश्वरमा लामखुट्टे नियन्त्रण अभियान सुरु

blog

जलेश्‍वर नगरपालिकामा लामखुट्टे नियन्त्रणका लागि फगिङ गरिँदै ।

नागेन्द्रकुमार कर्ण

महोत्तरी, चैत ६ गते ।महोत्तरीको जलेश्‍वर नगरपालिकामा लामखुट्टेको जोखिम बढेपछि नियन्त्रणका लागि अभियान सुरु गरिएको छ ।नगरपालिकाले १२ वटै वडामा ‘एयर फगिङ स्प्रे’ मार्फत औषधि छर्किनुका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

नगरप्रमुख सुरेश साह सोनारका अनुसार लामखुट्टेको प्रकोप बढेको भन्दै सर्वसाधारणबाट गुनासो आएपछि अभियान थालिएको हो ।नगरप्रमुख सोनारले नगर क्षेत्रका मुख्य सडक, बस्ती तथा जोखिमयुक्त स्थानहरूमा नियमित फगिङ गरिने उहाँजानकारी दिनुभयो ।

उहाँले डेङ्गु, चिकनगुनिया लगायतका लामखुट्टेजन्य रोग नियन्त्रणमा अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।नगरपालिकाका अनुसार फगिङ कार्य सुरु भइसकेको छ ।

कार्यालय सहायक रोहितकुमार चौधरीका अनुसार एक लिटर डिजेलमा ३० एमएल मालाथिन मिसाएर औषधी छर्किन थालिएको छ ।पहिलो दिन वडा नम्बर १ र २ मा पाँच वटा मेसिन प्रयोग गरी फगिङ गरिएको र अन्य वडामा सूचनामार्फत एकैपटक ११ वटा मेसिन प्रयोग गरेर छर्किने तयारी गरिएको छ ।

लामखुट्टे नियन्त्रण प्रभावकारी बनाउन मुख्य सडक, गल्ली तथा नालाहरूमा एकैपटक फगिङ गरिने नगरपालिकाले जनाएको छ । फगिङ कार्य साँझपछि, विशेषगरी राति ८ बजेपछि सञ्चालन गरिनेछ ।नगरपालिकाले फगिङका बेला सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

 झ्यालढोका बन्द गर्ने, बालबालिका, वृद्धवृद्धा तथा दमका बिरामीलाई घरभित्र सुरक्षित राख्ने तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।लामखुट्टेले बढी लार्भा उत्पादन गर्ने ढल, नाला तथा पानी जम्ने स्थानलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिने नगरप्रमुख सोनारले बताउनुभयो ।

 चिकित्सक तथा स्वास्थ्यकर्मीको निगरानीमा औषधि छर्किने कार्य भइरहेको र मालाथिन मानव स्वास्थ्यका लागि असरदार हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।