• ४ चैत २०८२, बुधबार

खुकुरी प्रहारबाट आमाको हत्या, दिदी गम्भीर घाइते

blog

घटनास्थल । तस्बिर : भवानीदत्त भट्ट

भवानीदत्त भट्ट
कञ्चनपुर, चैत ४ गते ।
कञ्चनपुरमा एक युवकले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेका छन् भने दिदीलाई गम्भीर घाइते बनाएका छन्।

दोधारा–चाँदनी नगरपालिका–४, माननीय चोकका ५५ वर्षीय हरिप्रसाद श्रेष्ठले ७० वर्षीया कान्छी आमा बिन्द्रा श्रेष्ठको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मङ्गलबार साँझ जमिनसम्बन्धी विवादका क्रममा श्रेष्ठले आमामाथि खुकुरी प्रहार गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिनुभयो।

प्रहरी उपरीक्षक खत्रीका अनुसार, श्रेष्ठले माइतीघरमा बस्दै आएकी ५० वर्षीया दिदी भगवतीदेवी माझीमाथि पनि खुकुरी प्रहार गरेका थिए। प्रहारबाट दाहिने हात र टाउकोमा गम्भीर चोट लागेकी माझीको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार, आमाको हत्या गरी फरार रहेका श्रेष्ठको खोजी भइरहेको छ। घटनाबारे सोधपुछका लागि सोही क्षेत्रका एक स्थानीयलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।