• ४ चैत २०८२, बुधबार

‘अबका दिनमा कृषक गरिब रहनहुन्न’

blog

एकिन्द्र तिमिल्सेना

टीकापुर, चैत ४ गते । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यमा कैलाली क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कोमल ज्ञवाली निर्वाचित हुनुभएको छ । सुदूरपश्चिम प्रदेशभरिमा प्रत्यक्षमा निर्वाचित हुने उहाँ एक मात्र महिला हुनुहुन्छ । कर्णाली, पथरैया, काँडा, मोहना नदीले घेरिएको यो निर्वाचन क्षेत्रका बासिन्दाले बर्सेनि बाढी, डुबान र कटानको समस्यासँगै जुझिरहनु परेको छ । ज्ञवाली भन्नुहुन्छ, “फागुनमा मतदाताको घरदैलोमा जाँदा पनि बाढीको त्रास देखेँ, रानीजमरा–कुलरिया सिँचाइ आयोजना पूरा हुँदै गर्दा पनि अझै बाढीको त्रासमा बस्नु परेको छ । बाढीको त्रासलाई अन्त्य गर्नु छ ।”

ज्ञवाली यस क्षेत्रका बाढी नियन्त्रण, सडक विस्तार र स्तरोन्नति, कृषि, पर्यटनलगायतका क्षेत्रमा केन्द्रित भएर काम गर्ने आफ्नो योजना रहेको बताउनुहुन्छ । 

ज्ञवाली संसद्मा पुगेपछि जेनजीको प्रमुख माग सुशासन कायम गर्न लागिरहने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नागरिक र व्यवसायीका रूपमा सरकारी निकायमा पुग्दा अहिले पनि घुसखोरी, पक्षपात, भ्रष्टाचार भइहेको देखिन्छ । त्यसको अन्त्य गर्नु म र मेरो पार्टीको पहिलो कर्तव्य हुने छ ।” 

उहाँ महिला असुरक्षित हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै समाजलाई अनुशासित र प्रणालीले बाधेर राख्नुपर्ने धारणा व्यक्त गर्नुहुन्छ । 

पछिल्ला पाँच वर्ष कृषि कार्यसँग सम्बन्धित रहेको बताउने ज्ञवाली भन्नुहुन्छ, “कृषिमा मेहनत गर्दै जीवन खर्चेका किसान गरिब छन् । अबका दिनमा कृषक गरिब हुनुहुन्न । किसानले समयमा मलखाद, बिउबिजनको अभाव झेल्नुपर्ने, उत्पादित वस्तुले बजार नपाउने अवस्था अन्त्य हुनु पर्छ ।” उहाँले भूमिहीनको समस्या समाधानका लागि पनि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सेवाग्राहीको ठुलो चाप रहेको टीकापुर अस्पतालको क्षमता विस्तार गरेर सुविधासम्पन्न बनाउने र पालिकामा १५ शøयाका अस्पताल सञ्चालन हुनुपर्ने ज्ञवालीको भनाइ छ । 

टीकापुरमा २०५० सालतिर नै चलेको हवाई यातायात अहिले बन्द छ । ज्ञवाली हवाई सेवा दिगो नभएकाले नजिकका एयरपोर्टबाट काठमाडौँ आउँदाजाँदाको जहाजको टिकटभन्दा टीकापुरबाट एयरपोर्टसम्म पुग्ने खर्च बढी लाग्ने गरेको बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “त्यसैले सकेसम्म यहाँको हवाई यातायात सञ्चालनका लागि पनि प्रयास गर्ने छु ।”

यस क्षेत्रमा सञ्चालनमा रहेका योजना गुणस्तरीय नहुनु, लामो समयसम्म रोकिनु, हुलाकी राजमार्ग, लम्की–खक्रौला सडकको दक्षिणी खण्ड, सेती राजमार्ग, चिसापानी–जङ्गलघाट सडक निर्माणमा बजेट अभाव र ढिलासुस्तीले नागरिकमा असन्तोष रहेको ज्ञवालीको भनाइ छ । त्यसैले नागरिकलाई सन्तुष्ट बनाउने गरी काम गर्ने प्रतिबद्धता उहाँ व्यक्त गर्नुहुन्छ ।

व्यवस्थापन विषयमा स्नातकसम्म अध्ययन पूरा गरी कृषि मेसिनरीको व्यापारमा संलग्न ज्ञवाली राष्ट्रिय राजनीतिबारे जानकार हुनुहुन्छ । कोमलका पिता जानकीविक्रम ज्ञवाली नेपाली कांग्रेसका सक्रिय नेता हुनुहुन्थ्यो । तत्कालीन नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय कोषाध्यक्ष भएर काम गरेकी ज्ञवाली सो पार्टी नेपाली कम्युनिस्ट पार्टीमा विलय भएपछि रास्वपा प्रवेश गरी उम्मेदवार बन्नुभएको थियो । उहाँले कैलाली क्षेत्र नं. १ बाट १७ हजार ८२६ मतका प्राप्त गर्नुभयो ।