यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), चैत ४ गते । बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद ठाकुरसिंह थारूले नागरिकमुखी कानुन निर्माणका लागि प्रभावकारी भूमिका खेल्ने बताउनुभएको छ । वकालत र पत्रकारिता क्षेत्र हुँदै राजनीतिमा सक्रिय थारू राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले नेपालमा विद्यमान कानुनमा नीतिगत सुधार गर्दै नागरिकमुखी कानुन निर्माण गर्ने र भ्रष्टाचार नियन्त्रणलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने बताउनुभएको छ ।
बर्दियाको बढैयाताल गाउँपालिका–५, बढैया गाउँमा बुवा भिख्खु थारू र आमा सीतारानी थारूको कोखबाट २०३१ भदौ १४ गते जन्मिनुभएका थारूले प्रारम्भिक शिक्षा गाउँमै हासिल गर्नुभएको थियो । त्यसपछि उहाँले बाँकेको नेपालगन्जमा कानुन विषयमा स्नातक अध्ययन गर्नुभएको हो ।
थारूले २०५८ देखि २०७९ सालसम्म नेपालगन्जमै बसेर वकालत र पत्रकारिता सँगसँगै गर्नुभएको थियो । उहाँले स्थानीय पत्रपत्रिकासँगै राष्ट्रियस्तरका नयाँपत्रिका र कान्तिपुर दैनिकमा बाँके र बर्दिया क्षेत्रबाट पत्रकारिता गर्नुभयो । पत्रकारिता गर्दै गर्दा उहाँ प्रेस चौतारीसँग आबद्ध भई राजनीतिमा सक्रिय हुनुभएको थियो । उहाँ नेपाल पत्रकार महासङ्घ बाँके शाखाको अध्यक्षसमेत हुनुभएको थियो ।
२०७९ सालपछि भने उहाँ बर्दियाको गुलरियामा बस्दै वकालतमा सक्रिय रहँदै आउनुभएको छ । राजनीतिक यात्रामा उहाँले २०७८ सालमा नेकपा (एमाले) बर्दिया जिल्ला कमिटी सदस्यको जिम्मेवारी समाल्नुभएको थियो । त्यसपछि २०७९ सालमा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरी प्रतिनिधि सभा निर्वाचनमा पहिलो पटक उम्मेदवार बन्नुभएको थियो । सो निर्वाचनमा २३ हजार ९९३ मत ल्याएर तेस्रो स्थानमा रहनुभएका उहाँले हालै सम्पन्न निर्वाचनमा ४९ हजार ६३१ मत प्राप्त गरी ३४ हजार ९८८ मतान्तरले विजयी हुनुभयो ।
नवनिर्वाचित थारूले बर्दियाको विकाससँगै देशमा नीतिगत सुधार ल्याउने र भ्रष्टाचार अन्त्य गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकमुखी कानुन निर्माणका लागि प्रतिनिधि सभामा सशक्त रूपमा आवाज उठाउने छु ।” निर्वाचनका क्रममा घरदैलोमा जाँदा नागरिकले भ्रष्टाचार नियन्त्रण, किसानलाई समयमा बिउ मल उपलब्ध गराउने व्यवस्था, वर्षौंदेखि अलपत्र परेका सडक तथा पुल निर्माण, शिक्षा–स्वास्थ्य र रोजगारीको सुनिश्चित जस्ता अपेक्षा व्यक्त गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जनताले राखेका ती अपेक्षा पूरा गर्न म निरन्तर लागिरहने छु ।”
बर्दिया जिल्ला बर्सेनि बाढी र नदी कटानको समस्याबाट प्रभावित हुने भएकाले नदी व्यवस्थापनलाई वैज्ञानिक र स्थानीयको सहभागितामा प्रभावकारी बनाउने उहाँले योजना सुनाउनुभयो । वर्तमान भौगोलिक अवस्था, वन, वन्यजन्तु र मानव बस्तीको अवस्थालाई ध्यानमा राख्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनलाई परिमार्जन गरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने तथा पर्यटकीय क्षेत्रको विकास गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
त्यसै गरी बर्दियाका मुक्तकमैया, भूमिहीन र सुकुमवासीका समस्या समाधान, जब्दीघाट पुल निर्माणलगायतका कामलाई प्राथमिकतामा राख्ने उहाँको प्रतिबद्धता छ । उहाँले भनुभयो, “असम्भव हुने प्रतिबद्धता गरेको छैन । जनताको समस्या समाधान राज्यको दायित्वभित्र पर्ने भएकाले त्यसका लागि सरकारसँग आवश्यक पहल र खबरदारी गर्ने छु ।” आफूले बर्दियामा रहँदा विगतदेखि नै यहाँका नागरिकका समस्यालाई नजिकबाट बुझ्ने मौका पाएको उल्लेख गर्दै थारूले आफू नागरिकको प्रतिनिधि भएकाले स्थानीय क्षेत्रका समस्या समाधानमा समन्वयकारी भूमिका खेल्ने बताउनुभयो ।