बागलुङ समाचारदाता
बागलुङ, चैत ४ गते । सदरमुकाम बागलुङ बजारमा खानेतेलको अभाव देखिएपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गर्न थालेको छ । जिल्ला प्रशासन, बागलुङ नगरपालिका, उपभोक्ता मञ्च, पत्रकार र अन्य सरोकारवाला निकायले बजार अनुगमन थालेका हुन् । बजारका केही ठुला गोदाममा गरिएको अनुगमनमा खानेतेल नियमित आएको र अभाव नभएको पत्ता लागेको छ । यद्यपि हरेक पटक तेल आउने क्रममा धेरैथोरै मूल्यमा भने तलमाथि हुने गरेको पाइएको छ ।
जिल्ला प्रशासनका प्रशासकीय अधिकृत नारायण कार्कीका अनुसार बजारका ठुला स्टोरमा अनुगमन गर्दा अधिकांशमा पर्याप्त तेल रहेको पाइएको छ तर आवश्यकताभन्दा बढी खोज्दा अभाव सिर्जना गरेको भेटिएको छ । केही समयअघि बजारमा खाना पकाउने एलपी ग्याससमेत अभाव भएको पाइएपछि प्रशासनले डिलरमा खोजी अभियान थालेको थियो । ग्यास पनि आवश्यकताभन्दा बढी राखेर उपभोक्ताले भण्डारण गर्दा बजारमा अभाव देखिएको कार्कीले बताउनुभयो ।
उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले भन्नुभयो, “चुलो बल्नै छाडेकालाई ग्यास उपलब्ध गराउन सकिने छ ।” निर्वाचन ताका केही अभाव भएको, यातायात रोकिँदा समयमा सामग्री नआएको व्यापारीको भनाइ छ ।
निर्वाचनपछि खानेतेल आइरहेकाले अभाव नहुने व्यवसायी बताउँछन् । शुक्लेश्वर स्टोर्सका प्रोपाइटर बाबुराम शर्माले भन्नुभयो, “अझै पनि स्टोरमा पर्याप्त तेल छ । मूल्य भने केही महँगो र सस्तो पर्ने क्रम चलिरहन्छ ।” उपभोक्ताले आत्तिएर धेरै खरिद गर्ने काम नगर्न शर्माको सुझाव छ । खानेतेल र एलपी पर्याप्त आइरहेकाले उपभोक्ता डराउन नपर्ने देखिएको अनुगमन टोलीको निष्कर्ष छ । प्रशासनले एलपी ग्यासका उपभोक्तालाई आवश्यकताभन्दा बढी नराख्न आग्रह गरेको छ ।