बैतडी समाचारदाता
बैतडी, चैत ४ गते । गत तीन सातादेखि फैलिएको ज्वरोले पुर्चौडी नगरपालिकाका छुट्टाछुट्टै वडामा तीन जनाको मृत्यु भएको छ ।
आइतबार राति पुर्चौडी नगरपालिका–८, मल्लादेहीकी १२ वर्षीय पूजा बोहोराको मृत्यु भएको छ । उच्च ज्वरो आएपछि उपचारका लागि हाट स्वास्थ्य चौकीमा पु¥याएपछि बालिकाको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदबहादुर कुँवरले बताउनुभयो । उहाँमा मस्तिष्क ज्वरोको लक्षण देखिएको थियो ।
गत फागुन ११ र १६ गते पुर्चौडी नगरपालिका–१०, विजयपुरस्थित महरागाउँका एकै घरका १० वर्षीय बालक विकास महरा र १३ वर्षका बिनो महराको मृत्यु भएको थियो । उनीहरूमा उच्च ज्वरो आउने, रिँगटा लाग्ने, ओठ सुक्ने र बान्ता हुने लक्षण देखिएको थियो । पछिल्लो घटनामा मृत्यु भएकी बालिकामा फरक लक्षण देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । ज्वरोले लगातार मृत्यु हुन थालेपछि नगरपालिकाभित्र त्रास फैलिएको र स्थानीय अमिर वडले बताउनुभयो ।
स्वास्थ्यकर्मीले भने स्थानीयलाई नआत्तिन आग्रह गरेका छन् । स्वास्थ्य शाखा प्रमुख कुँवरले विजयपुरको मौसमी ज्वरो हो भने मल्लादेहीकी बालिका पूजाको मस्तिष्क ज्वरोका लक्षण देखिएका छन् । उहाँले गर्मी मौसममा पानी उमालेर पिउने, सरसफाइमा ध्यान दिने र तराईलगायत भारतबाट भित्रिएका फलफूल राम्ररी धोएर मात्र खान सुझाव दिनुभयो ।