प्रकाशविक्रम शाह
धनगढी, चैत ४ गते । सुदूरपश्चिमको दुर्गम पहाडी जिल्लामा हलिया परिवारमा जन्मिएका गणेशबहादुर विश्वकर्मा (विक) पाँचौँ प्रयासमा समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य बन्नुभएको छ । ५५ वर्षीय विक २०६४, २०७०, २०७४ मा नेकपा (एमाले) बाट, २०७९ बाट तत्कालीन नेकपा (एकीकृत समाजवादी) र २०८२ मा नेकपाबाट समानुपातिक सूचीमा हुनुहुन्थ्यो ।
नेकपा (एमाले) ले विकभन्दा कनिष्ठलाई समानुपातिकबाट छानेको थियो भने २०७९ मा समाजवादीले समानुपातिक सिट पाउने हैसियत बनाउन नसक्दा विक छुट्नुभयो । यस पटक नेकपाले पठाएको उहाँको नाम निर्वाचन आयोगले सोमबार अनुमोदन गरेर सार्वजनिक गरिसकेको छ ।
हलियाको काम गर्दै बझाङ र डोटीबाट स्नातक तहको शिक्षा हासिल गरेका विकले हाल त्रिभुवन विश्वविद्यालयबाट ‘नेपालमा भूमिसुधारको राजनीति’ विषयमा विद्यावारिधि गरिरहनुभएको छ । अनेरास्ववियुमा समेत काम गरेका विक एमालेका विभिन्न कमिटीमा हुँदै तत्कालीन एकीकृत समाजवादीको केन्द्रीय सचिव र हाल नेकपाको केन्द्रीय कमिटीमा समेत हुनुहुन्छ । उहाँले विगत ३० वर्षदेखि दलित अधिकारका क्षेत्रमा काम गर्दै हरेक वर्ष भदौमा दलित अगुवा राखेर दलित संसद् चलाउँदै आउनुभएको छ । सधैँ पार्टीभित्रको समीकरणमा फरक मत राख्दै विद्रोह गर्ने पहिचान बनाएका विकले जीविकोपार्जनका लागि विद्यालयमा पढाउने र गैरसरकारी क्षेत्रमा समेत काम गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको नीति आयोगका उपाध्यक्ष भइसकेका विकले प्रतिनिधि सभा सदस्य भएर दलित अधिकार स्थापित गर्न, मुलुकको समग्र विकास र सुशासनको अवस्थामा सुधार गर्न दबाब सिर्जना गर्ने बताउनुहुन्छ ।