सन्तोष दहित
दाङ, चैत ४ गते । तीस वर्ष प्रहरी सेवामा बिताएका छवि चौधरी अहिले आफ्नै गाउँमा शान्तिनगर थारु सांस्कृतिक होमस्टे सञ्चालन गरेर राम्रो आम्दानी लिन सफल हुनुभएको छ । प्रहरी सेवाबाट अवकाश लिएपछि गाउँ फर्केर व्यवसाय सुरु गर्ने उहाँको निर्णय अहिले उदाहरणीय बनेको छ ।
शान्तिनगर गाउँपालिका–५ रंगैजा निवासी चौधरीले २०८० मङ्सिर १८ गते प्रहरी सेवाबाट अवकाश लिनुभएको थियो । अवकाश लिएको एक वर्षपछि उहाँले आफ्नै घरमा थारु सांस्कृतिक होमस्टे सञ्चालनमा ल्याउनुभएको हो । करिब एक करोड ३५ लाख रुपियाँ लगानीमा २०८१ वैशाखदेखि सञ्चालनमा आएको होमस्टेबाट अहिले मासिक करिब दुई लाख रुपियाँ आम्दानी हुने गरेको उहाँले बताउनुभयो । २०५० मङ्सिर १८ गते प्रहरी जवानमा भर्ना हुनुभएका चौधरी सेवा अवधिमा असई (सहायक निरीक्षक)सम्म पुग्नुभयो ।
प्रहरी सेवाको सिलसिलामा उहाँले नेपालको करिब ७० जिल्ला घुम्ने अवसर पाउनुभयो । अन्तर्राष्ट्रिय हाइटीसम्म पुग्नुभएका चौधरीले त्यही क्रममा विभिन्न स्थानमा व्यवसाय फस्टाएको देखेपछि भविष्यमा आफू पनि व्यवसाय गर्ने सोच बनाएको बताउनुहुन्छ ।
“देशका ठुला सहरदेखि गाउँका कुनाकाप्चासम्म पुगेँ । त्यहाँ व्यवसाय राम्रोसँग चलेको देखेपछि रिटायर भएपछि होमस्टे सञ्चालन गर्ने योजना बनाइसकेको थिएँ,” उहाँले भन्नुभयो । प्रहरीबाट अवकाश लिएपछि पाँच महिनामै होमस्टे निर्माणको काम सुरु गरेको बताउनुभयो । प्रहरी सेवामा रहँदा उहाँको परिवार तुलसीपुरमा बस्दै आएको थियो । तर अवकाशपछि भने उहाँ परिवारसहित गाउँ फर्कनुभयो ।
“अरूले गाउँ छोडेर सहर गइरहेका छन्, म भने सहर छोडेर आफ्नै जन्मेको गाउँमा भविष्य खोज्न फर्किएँ,” उहाँले भन्नुभयो । तुलसीपुर उपमहानगरपालिकाबाट करिब १७ किलोमिटर पश्चिममा रहेको शान्तिनगर–५ रंगैजामा सञ्चालित ‘शान्तिनगर थारु सांस्कृतिक होमस्टे’ करिब तीन बिघा क्षेत्रफलमा फैलिएको छ । शान्त वातावरण, नर्सरी र हरियालीले घेरिएको यस होमस्टेमा पारिवारिक बसाइदेखि सेमिनार, गोष्ठी, लजिङ र फुडिङको व्यवस्था गरिएको चौधरीले जानकारी दिनुभयो ।
तरकारी खेतिदेखि लोकल कुखुरा, हाँस, खसी र सुँगुरसमेत उहाँले आफैँ पाल्दै आउनुभएको छ । उहाँको अनुसार होमस्टेमा थारु परिकार ढिक्री, खरिया, अन्डिको रोटी, लोकल भाले, सुँगुरको मासु, पक्वा, घोङ्घी, माछा, गंगटा, हाँसको छोइला तथा खसीका विभिन्न परिकार पाहुनालाई पस्किने गरिन्छ । यहाँको मुख्य विशेषता रैथाने त्यो पनि आफैले उत्पादन गरेका उहाँले बताउनुभयो । थारु वेषभूषा, कला, संस्कृति र रैथाने परिकारको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले होमस्टे सञ्चालन ल्याएको उहाँको भनाइथियो ।
“पहिले हाम्रो परिवार छरिएर बसेको थियो,’’ उहाँले भन्नुभयो, ‘‘कोही विदेश, कोही सहरमा थिए । अहिले भने सबै परिवार एकै ठाउँमा बसेर काम गरिरहेका छौँ ।” उहाँका अनुसार विदेशमा रहेका छोरा अहिले फर्केर होमस्टेको व्यवस्थापन सम्हालिरहेका छन् भने बुहारीहरूले पकाउनेदेखि पाहुनालाई सेवा गर्ने काममा सघाइरहेका छन् । होमस्टे सञ्चालनमा आएपछि गाउँमा उत्पादन हुने कृषि उपजले पनि बजार पाएको चौधरी बताउनुभयो । “गाउँघरमा उत्पादन भएका तरकारी र अन्य सामग्री यही होमस्टेका लागि खरिद गर्छौँ । यसले स्थानीयलाई पनि सहज भएको छ,” उहाँले भन्नुभयो ।