क्यान्सरपीडित बालकलाई उपचार खर्च सहयोग
रुपन्देहीको सैनामैना नगरपालिका १० झिमझिमियाका चेतबहादुर सारुले क्यान्सर पीडित बालकको उपचारका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ । सारुले पीडित बालकलाई २५ हजार ६ सय २५ रुपियाँ उपचार खर्च सहयोग गर्नुभएको हो ।
सवल आर्थिक केन्द्र समुन्नत बुटवल
बुटवल उपमहानगरपालिकाले आगामी वर्षका लागि नगरको नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार बसेको नगरसभामा नगर प्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्ष २०७९–८० का लागि नगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
‘मेयर होस् त यस्तो होस’ बनाउँछु : दाहाल
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ‘मेयर होस् त यस्तो होस’ भन्ने बनाउने गरी काम गरिरहेको बताउनुभएको छ । भरतपुर महानगरपालिका –७ मध्यबिन्दु टोलस्थित प्रेमबस्ती कभर्ड हलको शिलान्यस कार्यक्रममा बुधबार मेयर दाहालले सो कुरा बताउनुभयो ।
बलात्कारका घटनामा वृद्धि
ओखलढुङ्गामा जेठ महिनामा बलात्कार तथा यौनजन्य अपराधका चारवटा घटना भएका छन् । यी चारैवटा घटनाको जाहेरी जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा परेको छ । गत जेठ ३० गते सिद्धिचरण नगरपालिका–३ की एक १२ वर्षीया बालिका आफ्नै विद्यालयका प्रधानाध्यापकबाट बलात्कृत भएको जाहेरी लिएर जिल्ला प्रहरी कार्यालयमा पुग्नुभयो ।
कतै नयाँ, कतै पुराना किताब पढाइँदै
नयाँ शैक्षिक सत्रमा भर्ना भएका बाजुराका अधिकांश विद्यार्थी पुरानै पाठ्यपुस्तक पढ्न बाध्य भएका छन् । यसैबीचमा कतैकतैका विद्यार्थीले भने नयाँ किताब पनि पढ्न पाएका छन् ।बाजुराका पुस्तक डिपोबाट समयमै किताब पाएका विद्यालयका विद्यार्थीले नयाँ पुस्तक पढ्न पाएका हुन् । शैक्षिक सत्र सुरु भएसँगै बाजुराका विद्यालय सञ्चालनमा आएका भए पनि किताब बिक्रेताले समयमै किताब विद्यालयलाई उपलब्ध नगराएपछि अधिकांश विद्यालयका विद्यार्थीले पुरानै किताब पढ्नुपरेकोे छ ।
पञ्चशीलको सिद्धान्तमा अडिग छौँ : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मित्रराष्ट्रबीच सुसम्बन्ध कायम गरी अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । पोखरामा आयोजित ‘पत्रकारिता सम्मान वितरण’ कार्यक्रमलाई मङ्गलबार सम्बोधन गर्दै उहाँले नेपाल पञ्चशीलको सिद्धान्तमा अडिग र आत्मसात् गर्दै आएको स्पष्ट पार्नुभयो । अन्य राष्ट्रसँग पनि सम्बन्ध विस्तार गर्दै अघि बढ्ने हो, मन्त्री कार्कीले भन्नुभयो, “सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरिसकेको छ ।”
अस्पतालको सेवा प्रभावित
हेटौँडा अस्पताल व्यवस्थापनले पूर्वाधारको अभावमा स्थानीय बासिन्दाको अपेक्षा र आवश्यकताअनुसार उपचार सेवा प्रदान गर्न नसकेको जनाएको छ ।हेटौँडा अस्पतालमा उपचारका लागि जाने बिरामीले समयमा गुणस्तरीय सेवा नपाएको, सरकारले निःशुल्क उपलब्ध गराउने औषधि उपलब्ध नभएको र भिडियो एक्स–रेलगायतका सेवा समयमा उपलब्ध नभएको भन्दै जनगुनासो बढ्दै गएपछि अस्पताल व्यवस्थापनले मङ्गलबार पत्रकार सम्मेलन आयोजना गरी पूर्वाधार अभावमा उपचार प्रभावित हुँदै आएको जनाएको हो ।
‘प्रदेशका सबै वडामा प्रसूति सेवा पु-याउँछौँ’
प्रदेश १ सरकारका स्वास्थ्यमन्त्री जयराम यादवले प्रदेश १ का सबै वडामा प्रसूति सेवा पु-याउने तयारी भएको बताउनुभएको छ । सुनसरी जिल्लाका विभिन्न स्थानीय तहका उत्कृष्ट महिला स्वास्थ्य स्वयं सेविकालाई सम्मान गर्दै उहाँले प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि चार करोड रुपियाँ बजेट विनियोजन गरी सबै वडामा प्रसूति सेवा पु-याउने तयारी भएको बताउनुभएको हो ।
खानेपानी छैन, शौच गर्न खेतबारीतिर
सामुदायिक विद्यालयको व्यवस्थापन, निरीक्षण, मूल्याङ्कन, अनुगमनलगायत सम्पूर्ण उत्तरदायित्व स्थानीय तहमा रहे पनि चन्द्रपुर नगरपालिकाको आधारभूत तहका अधिकांश विद्यालय भौतिक संरचना अभावमै सञ्चालित छन् । सम्बन्धित विद्यालयका अभिभाव
मालवाहक सवारीसाधनलाई अनिवार्य भारमापन गर्न निर्देशन
पनौती नगरपालिकाले बनेपा–पनौती सडक भएर आवातजावत गर्ने मालवाहक सवारीसाधनलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको छ । मालवाहक सवारीसाधनका लागि नगरको ५ नं वडास्थित नैकिन्टार सडकमा भारमापन केन्द्र स्थापना गरिएको छ । जिल्लाका अन्य दुई स्थानमा समेत गत वर्ष पुसमा भारमापन केन्द्र स्थापना गरिएको थियो । पनौती नगरले भारमापन सेवाका लागि जिम्मेवारी लिएको ग्लोबल मेसिनरी एण्ड टेक्नोलोजी सर्भिसेज प्रालिलाई हाल भरमापन गर्न/गराउनसमेत आग्रह गरेको छ ।
रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन
बाँके जिल्लाका विभिन्न नदी र खोलाबाट हुँदै आएको नदीजन्य पदार्थ बालुवा, गिट्टी र ढुङ्गाको अवैध उत्खनन र ओसारपसार निरन्तर जारी छ । राप्तीसोनारी गाउँपालिकाबाट निर्वाचित जनप्रतिनिधिले अनुगमन गर्दा धेरै ठूलो परिमाणमा उत्खनन गरिएको अवैध नदीजन्य पदार्थ फेला परेपछि प्रहरी प्रशासनले सो रोक्न केही कडाइ गरे पनि अवैध उत्खनन र ओसारपसार निरन्तर छ ।
अझै बनेन विपत् प्रतिकार्य योजना
बाढीको ठूलो जोखिम भोग्दै आएको कैलालीमा विपत् प्रतिकार्य योजना अझै निर्माण हुन सकेको छैन । वर्षायाम सुरु भइसक्दा पनि विपत् पूर्वतयारीका लागि जिल्लामा अझै प्रतिकार्य योजना बन्न नसकेको हो । बाढी र डुबानको हिसाबले जिल्लाको नदी तटीय क्षेत्रसहित आसपासका बस्तीमा हरेक वर्ष ठूलो जोखिम रहँदै आएको छ ।
भूकम्पपीडितले तेस्रो किस्ता अझै पाएनन्
भूकम्प गएको आठ वर्ष पूरा हुँदासम्म काभ्रेमा रहेका करिब एक हजार तीन सय भूकम्पपीडितले निजी आवास निर्माणका लागि सरकारबाट पाउनुपर्ने तेस्रो किस्ताबापतको अनुदानको रकम पाउनबाट वञ्चित भएका छन् । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको विघटन, निजी आवास पुनर्निर्माणका लागि स्थापना गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइमा कर्मचारी व्यवस्थापन तथा बजेट अभावका कारण घर निर्माण गरिसकेका भूकम्पपीडितले तेस्रो किस्ताबापतको अनुदान रकम नपाएका हुन् ।
सलहेशको विवाहमण्डपमा विवाह गर्न मान्दैनन्
सप्तरीको शम्भुनाथ मन्दिर परिसरमा सलहेश को विवाहमण्डप हुँदा पनि बरन्डामै विवाह गरिँदै आएको छ । प्रसिद्ध धार्मिक स्थल शम्भुनाथ मन्दिर परिसरभित्र सलहेश विवाहमण्डप बनाइएको वर्षौँ बितिसक्यो । यहाँ दैनिक रूपमा एकभन्दा बढी जोडीको विवाह हुने गरेको छ ।
गुणास्तरहीन सडकको नाली भत्काइयो
सिन्धुपाल्चोक, असार ७ गते । जुगल गाउँपालिका–५ बराम्ची सडकको राम्चे खण्डमा निमार्ण गरिएको गुणास्तरहीन नाला जनप्रतिनिधिले भत्काएका छन् । नाला निमार्ण गुणास्तरहीन भएको ब्यापक जनगुनासो बढेपछि उक्त गाउँपालिकाका उपाध्यक्ष हिमालकुमार श्रेष्ठ नेतृत्वको टोलीले उक्त गुणास्तरहीन नाला भत्काएर पुन गुणास्तरयुक्त नाली निमार्ण गर्न ठेकेदारलाई निर्देशन दिइएको छ ।उपाध्यक्ष श्रेष्ठले प्राबिधिक टोली लिएर नाला निमार्णको अनुगमन गर्न पुग्नु भएको थियो । नाला निमार्णमा कंक्रीट आवश्यकता अनुसार प्रयोग नगरिएको, पिपिसि गर्दा सामान्य मापदण्ड समेत पालना नगरेकोले नाला भत्काएर पुन निमार्ण गर्न ठेकेदार पक्षलाई निर्देशन दिएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिनु भएको छ । एक सय मिटर भन्दा बढी नाला भत्काइएको छ ।नाला निमार्ण गुणास्तरहीन देखिएकोले भत्काएर गुणास्तरयुक्त नाला निमार्ण नगरेसम्म भूत्तानी रोक्ने उहाँले बताउनुभयो । गाउँपालिकाका प्राबिधिक संदेश ढुंगेलले उक्त नाला निमार्णमा प्रयोग भएका सामाग्री गुणास्तरहीन भएको बताउनु भयो ।
निजी क्षेत्रको लगानीमा चार्जिङ स्टेसन
सिन्धुली समाचारदातासिन्धुलीमाढी, असार ७ गते । बागमती प्रदेश सरकारले सुरुका वर्ष गौरवको आयोजना बनाएको चार्जिङ स्टेसन निर्माण र विद्युतीय बस सञ्चालनसम्बन्धी योजना ओझेलमा पर्दै गएको छ । प्रदेश सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नपरेपछि प्राथमिकताविहीन बन्दै गएको हो । प्रदेश सरकारको परिवर्तनसँगै विद्युतीय सवारीसाधन सञ्चालन प्राथमिकतामा नपर्दा चालू आर्थिक वर्षमा विनियोजन भएको बजेटसमेत खर्च हुन सकेको छैन । यता बीपी राजमार्गमा दैनिक चार हजारभन्दा बढी डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधान सञ्चालन हुँदै आएकोमा ती सवारीसाधनबाट निस्किने धुवाँले वातावरण प्रदूषण बढ्दै गएपछि विकल्पका रूपमा सञ्चालनमा ल्याइएको विद्युतीय सवारीसाधनको सङ्ख्या बढ्दै गएको छ । यातायात व्यवसायीका अनुसार बीपी राजमार्गमा अहिले दिगो कम्पनीले १० सिट क्षमताका ३० वटा र सुन्दर यातायात कम्पनीले १९ सिट क्षमताका दुईवटा सार्वजनिक विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएका छन् ।कमलामाई नगरपालिका–६ निवासी टङ्क कार्की आफूले पनि आठ महिनादेखि चाहना यातायात प्रालिअन्तर्गत दिगो कम्पनीका दु्ईवटा विद्युतीय सवारीसाधन सञ्चालन गर्दै आएको बताउनुहुन्छ । डिजेल र पेट्रोलबाट सञ्चालन हुने सवारीसाधनभन्दा विद्युतीय सवारीसाधन वातावरणमैत्री रहेको उहाँले बताउनुभयो । अन्य सवारीसाधनको तुलनामा टुटफुट पनि कम हुने र इन्धन पनि नचाहिने हुँदा पछिल्लो समयमा विद्युतीय सवारीसाधनप्रति यातायात व्यवसायीको आकर्षण बढ्दै गएको व्यवसायी कार्कीको भनाइ छ ।कार्कीका अनुसार, सिन्धुलीमा अहिले विद्युतीय सवारीसाधन ३२ वटा सञ्चालनमा छन् भने योसँगै समस्या पनि आइरहेको छ । दुई-दुई महिनामा क्राउन बिग्रिन्छ । नयाँ क्राउन फेर्नुपर्दा एक लाख पचास हजार रुपियाँ खर्च हुने हुँदा डिजेल र पेट्रोलभन्दा महँगो पर्न गएको छ । विद्युतीय सवारीसाधन मर्मतका लागि सामान नआएको र बिग्रियो भने कम्पनीले नयाँ गाडीको खोलेर हालिदिने गरेकाले खर्च बढेको उहाँको भनाइ छ । विद्युतीय सवारीसाधन हाल कालोपत्रे सडकमा मात्रै सञ्चालन हुँदै आएका छन् ।विद्युतीय सवारीसाधनका अर्का सञ्चालक व्यवसायी हरिकृष्ण बुढाथोकी अन्य गाडीजस्तो विद्युतीय सवारीसाधन जता पनि सञ्चालन नहुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो गाडी अन्य सवारीसाधनजस्तो कच्ची सडकमा जाँदैन । अर्को समस्या भनेको १६० किलोमिटर लामो बीपी राजमार्गको बीचमा पर्ने सुनकोसी गाउँपालिका–५, रामटारस्थित होटल मयुर र सिन्धुलीमाढीस्थित रेड चिल्ली होटलमा मात्रै चार्जिङ सेन्टर रहेकाले समस्या भएको छ ।”गाडी किन्दा कम्पनीले नै एउटा सानो चार्जर दिएकाले त्यसैले घरमा नै चार्ज गर्न मिल्ने उहाँले सुनाउनुभयो । बीपी राजमार्गको बीच–बीचमा अरू चार-पाँचवटा चार्जिङ स्टेसन भएमा व्यवसायीलाई सहज हुने बुढाथोकीको सुझाव छ । सुनकोसी गाउँपालिका–५, रामटारमा एक वर्षदेखि चार्जिङ स्टेसन सञ्चालन गर्दै आउनुभएका रामहरि पौडेल बीपी राजमार्गमा अहिले ३२ वटा विद्युतीय सवारीसाधन सञ्चालन हुँदै आएको भए पनि दैनिक बिहान गएका र बेलुका फर्किएका गरी ४१-४२ वटा सवारीसाधनमा रिचार्ज गर्दै आएको जानकारी दिनुहुन्छ ।विद्युतीय सवारीसाधन चार्जिङ गरेबापत प्रतियुनिट १५ रुपियाँ शुल्क लिने गरेको र यो डिजेल तथा पेट्रोलभन्दा ९९ प्रतिशत कम खर्च हुने उहाँको भनाइ छ । उहाँका अनुसार एउटा सवारीसाधन रिचार्ज गर्न आधा घण्टा समय लाग्दछ । चार्जिङ स्टेसनमा १२० किलोवाट क्षमताको चार्जर जडान गरेको भए पनि अहिले ६० किलोवाट मात्र सञ्चालन गरी तीनवटा नोजलबाट एक पटकमा तीनवटासम्म सवारीसाधन रिचार्ज हुँदै आएको छ ।दिगो कम्पनीको ५० प्रतिशत अनुदानमा १७ लाख रुपियाँ आफूले लगानी गरी चार्जर जडान गरेको व्यवसायी पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “६० किलोवाटमा पनि ३०/३० किलोवाटको नोजल जडान गरेको छु । एकै पटक ६० किलोवाट क्षमताको नोजल जडान गर्न मिल्ने भए पनि अहिले सञ्चालनमा रहेको विद्युतीय सवारीसाधनमा ४२ किलोवाट क्षमता भएकाले ३० किलोवाटको नोजल प्रयोग गर्नु परेको हो ।”
घारखोला जलविद्युत आयोजनाको ९० प्रतिशत सम्पन्न
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माणधिन १४ मेगावाट क्षमताको घरखोला जलविद्युत आयोजनाको ९० प्रतिशत निर्माण सम्पन्न भएको छ । आगामी मङ्सिर महिनादेखि व्यापारिक उत्पादन सुुरु गर्ने लक्ष्य सहित आयोजनाले निर्माणलाई तिव्रता दिएको छ ।
तयार भयो साइकल लेन
तुलसीपुर बजार क्षेत्रमा साइकल लेन तयार पारिएको छ । बजार क्षेत्रको सडक किनारा आकृति तोकिएर साइकललाई प्राथमिकता निर्धारण लेखिएको छ । साइकल लेन ‘माई वे तथा ग्रिन वे’ अभियानअन्तर्गत निर्माण गरिएको हो ।
उदिपुर पहिरोको बैकल्पिक सडक निर्माण
डुम्रे–बेंसीशहर–चामे सडक अन्तर्गत पर्ने बेंसीशहर नगरपालिका वडा नं. १ उदीपुरमा पहिरोको विकल्पमा पहिरो तलबाट सडक निर्माण गरिएको छ ।
घटेन महिला हिंसाका घटना
हिंसामा परेका महिला तथा बालबालिकालाई अल्पकालीन आश्रय दिन सदरमुकाम लिवाङमा स्थापना गरिएको अल्पकालीन आश्रय गृह प्रभावकारी बनेको छ । गत जेठ मसान्तसम्म ७४ जनाले आश्रय लिएका थिए । आश्रय तीमध्ये ४५ महिला र २९ तिनमा आश्रित बालबालिका र अभिभावक थिए । उनीहरुमध्ये अधिकांश आफ्नै श्रीमान्बाट पीडित भए । श्रीमान्ले घरमा खान–बस्न नदिएपछि न्यायको ढोका ढकढक्याउन अवोध बालबालिका पिठ्यूमा च्यापेर सदरमुकाम धाएका उनीहरूले त्यहाँ कम्तीमा ४५ दिनसम्म आश्रय लिएका थिए ।
मानवअधिकार आयोगको सिफारिस न्यून कार्यान्वयन
राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा छानविन गरी सरकारलाई गरेको सिफारिस प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । आयोगको सिफारिस कार्यान्वयनका अवस्थाका बारेमा नेपालगञ्जमा आयोजित अन्तक्र्रियामा आयोगका मानवअधिकार अधिकृत खिमानन्द बस्यालद्वारा प्रस्तुत तथ्याङ्कमा १४प्रतिशत मात्र कार्यान्वयन भएको उल्लेख छ । विसं २०७८ मङ्सिर मसान्तसम्म एक हजार २३७ सिफारिस गरेको थियो । तीमध्ये कारबाही तथा क्षतिपूर्तिसम्बन्धी एक हजार १६७, नीतिगत व्यवस्थाका ११९ सिफारिस गरेको थियो । तीमध्ये १७३ मात्र पूर्ण कार्यान्वयन भएको छ । यो कूल सिफारिसको १४ प्रतिशत मात्र हो ।
सामुदायिक विद्यालयमा विद्यार्थीलाई प्रवेश परीक्षा
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सकिएमा विद्यार्थीको कमी हुँदैन भन्ने उदाहरण बनेको छ कर्णाली माध्यमिक विद्यालय । विद्यार्थी र अभिभावकको रोजाइ बन्दैगएको कर्णाली माविले विद्यार्थी चाप बढेसँगै प्रवेश परीक्षा लिएर भर्ना गर्न थालेको छ । विद्यालयका प्रधानाध्यापक धर्मराज शर्माले भन्नुभयो, “भर्ना हुन चाहने सबै विद्यार्थीलाई भर्ना लिन सकिने अवस्था छैन ।”
मन्त्रालय टुक्र्याए पनि बढेन खर्च क्षमता
बागमती प्रदेश सरकारले मन्त्रालय टुक्र्याएर मन्त्रालयको सङ्ख्या बढाए पनि प्रदेशको खर्च क्षमता बढ्न सकेको छैन । केही मन्त्रालयमा बजेट र कार्यबोझ बढी भएकाले बजेट खर्च हुन नसकेको भन्दै गठबन्धनको सरकारले आठवटा मन्त्रालयलाई टुक्र्याएर १४ वटा बनाए पनि हालसम्मको खर्चको तथ्याङ्कअनुसार प्रदेश सरकार खर्च क्षमतामा कमजोर देखिएको हो ।
गौतमबुद्ध विमानस्थलबाट थप दुई विदेशी कम्पनीले उडान भर्ने
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुईवटा विदेशी वायुसेवा कम्पनीले उडान भर्ने भएका छन् । हाल जजिरा एअरलाईन्सले मात्र अन्तर्राष्ट्रिय उडान भर्दैआएको गौतमबुद्ध विमानस्थलमा थप दुई विदेशी वायुसेवा कम्पनी थपिन लागेका हुन् । विमानस्थल गत जेठ २ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।