• ७ जेठ २०८१, सोमबार

भूकम्पपीडितले तेस्रो किस्ता अझै पाएनन्

blog

बनेपा, असार ८ गते । भूकम्प गएको आठ वर्ष पूरा हुँदासम्म काभ्रेमा रहेका करिब एक हजार तीन सय भूकम्पपीडितले निजी आवास निर्माणका लागि सरकारबाट पाउनुपर्ने तेस्रो किस्ताबापतको अनुदानको रकम पाउनबाट वञ्चित भएका छन् । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको विघटन, निजी आवास पुनर्निर्माणका लागि स्थापना गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइमा कर्मचारी व्यवस्थापन तथा बजेट अभावका कारण घर निर्माण गरिसकेका भूकम्पपीडितले तेस्रो किस्ताबापतको अनुदान रकम नपाएका हुन् । 

जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) काभ्रेका अनुसार कार्यालयमा बजेट विनियोजनमा ढिलाइ तथा कर्मचारीको करार अवधि थपलगायतको विषयमा ढिलाइ भएका कारण तेस्रो किस्ताको अनुदान रकम भुक्तानीमा ढिलाइ भएको जनाएको छ । कार्यालयले गत चैत २६ गतेपछि बजेट नभएका कारण लाभग्राहीलाई तेस्रो किस्ताको रकम उपलब्ध गराउन नसकिएको जनाएको छ । 

एकाइ प्रमुख गोपाल भट्टराईले घर पुनर्निर्माणको काम सम्पन्न गरी तेस्रो किस्ताको रकम माग गरेका लाभग्राहीको निवेदन रुजु गर्ने काम सकिएको बताउनुभयो । उहाँले लाभग्राहीको निवेदन रुजु गरी रकम भुक्तानी गर्ने अन्तिम चरणमा रहे पनि कार्यालयमा बजेट व्यवस्थापन नभएका कारणले तेस्रो किस्ताबापतको रकम भुक्तानी दिन नसकिएको बताउनुभयो ।

बजेट विनियोजनमा ढिलाइ तथा कर्मचारीको करार अवधि थपलगायतको विषयमा ढिलाइ भएका कारण तेस्रो किस्ताको अनुदान रकम भुक्तानीमा ढिलाइ

लाभग्राहीलाई तेस्रो किस्ताबापतको १३ करोड रुपियाँ भुक्तानी दिनुपर्ने भए पनि कार्यालयमा चार करोड रुपियाँ मात्रै रहेको कार्यालयले जनाएको छ । एकाई प्रमुख भट्टराईले सरकारले गत मङ्सिर दोस्रो सातासम्म घर निर्माण नगरेका लाभग्राहीलाई दोस्रो किस्ताको रकम उपलब्ध नगराउने निर्देशन भएबमोजिम कार्यालयबाट दोस्रो किस्ताको रकम दिनुपर्ने लाभग्राही नभएको बताउनुभयो ।

काभ्रेमा ८० हजार ७४३ भूकम्पपीडितमध्ये ७७ हजार १२४ लाभग्राहीसँग निजी आवास निर्माणका लागि सम्झौता भएकोमा सरकार र विभिन्न गैरसरकारी संस्थामार्फत ७७ हजार १२१ जनाले पहिलो किस्ता, ६८ हजार ८२३ जना लाभग्राहीले दोस्रो किस्ता रकम प्राप्त गरेका छन् । 

काभ्रेपलाञ्चोकमा हालसम्म घर निर्माण सम्पन्न गरी सरकारबाट ६१ हजार ७७२ र गैरसरकारी संस्थामार्फत दुई हजार ४०१ जना गरी कुल ६४ हजार १७३ लाभग्राहीले तेस्रो किस्ताबापतको रकम लिएका छन् । भूकम्पबाट घर क्षति भएकामध्ये प्रबलीकरण लाभग्राहीको सूचीमा परेका तीन हजार ८२७ लाभग्राहीमध्ये घर प्रबलीकरण गर्न दुई हजार २८८ जनाले सम्झौता गरी पहिलो किस्ता र ४१ जनाले मात्रै दोस्रो किस्ताको अनुदान रकम लिएका छन् ।