• २ माघ २०८२, शुक्रबार

कांग्रेस आधिकारिकता विवाद : दुवै पक्षको निर्वाचन आयोगमा प्रदर्शन

blog

नेपाली कांग्रेस देउवा र थापा समूहको प्रदर्शन

काठमाडौँ, माघ २ गते । नेपाली कांग्रेसको आधिकारिकता विवाद उत्कर्षमा पुगेको छ । शुक्रबार सभापति शेरबहादुर देउवा समूह र सभापति गगन थापा समूहले निर्वाचन आयोगमा प्रदर्शन गरेका हुन् । 

देउवा र थापा दुवै समूहले एकअर्काविरुद्ध आधिकारिकताको दाबी गर्दै आयोग परिसरमा प्रदर्शन र धर्ना दिएका हुन् । 

विशेष महाधिवेशनबाट गगन थापालाई सभापति चयन गरेको पक्षले बिहीबार आधिकारिकताको माग गर्दै आयोगमा निवेदन दर्ता गराएको थियो । त्यसको प्रतिवादमा शुक्रबार बिहानै देउवा पक्षका शीर्ष नेता तथा कार्यकर्ताको जम्बो टोली आयोग पुगेको थियो । 

आयोग परिसरमा देउवा पक्षका नेताले आफूहरू नै वैधानिक कांग्रेस भएको जिकिर गर्दै शक्ति प्रदर्शन गरेपछि थापा समूहसमेत आयोग पुगेको हो । 

देउवा पक्षका नेताले विशेष महाधिवेशनलाई पार्टी विधानविपरीत भएको भन्दै विरोध गरेका छन् । उनीहरूले यदि आयोगले विधान, संविधान र कानुनविपरीत निर्णय गरेमा देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । 

थापा समूहको दबाब 

यता, गगन थापा समूहले आयोगमा दबाब बढाउँदै धर्ना तथा प्रदर्शन गरेको छ । उनीहरूले बहुमत महाधिवेशन प्रतिनिधिको समर्थनमा विशेष महाधिवेशनबाट चयन भएको नेतृत्व नै आधिकारिक भएको दाबी गरेका छन् । विशेष महाधिवेशनले नयाँ कार्यसमिति गठन गरिसकेको र पुरानो समिति स्वतः भंग भएको उनीहरूको तर्क छ। 

निर्वाचन आयोगले दुवै पक्षको निवेदन तथा दाबीमाथि छलफल गरिरहेको जनाएको छ । आयोगको निर्णय संविधान, राजनीतिक दलसम्बन्धी ऐन, पार्टी विधान र विगतका नजिरका आधारमा हुने बताइएको छ । 

नेपाली कांग्रेसको यो विवादले आगामी निर्वाचनलाई समेत प्रभावित पार्ने आशंका गरिएको छ । पार्टीको नाम, चुनाव चिन्ह ‘रुख’ र झण्डाको आधिकारिकता कसले पाउने भन्ने विषयमा आयोगको निर्णय निर्णायक हुने देखिन्छ । दुवै पक्षले आयोगको निर्णयलाई चुनौती दिने तयारी गरेका छन् । 

यो विवादले नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस औपचारिक विभाजनको संघारमा पुगेको संकेत गरेको छ ।