अनिल पराजुली
हेटौँडा, माघ २ गते । जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षति पुनःस्थापना तथा खेलकुद सामग्री खरिदका लागि हेटौँडामा खेलकुद महोत्सव आयोजना गरिनेभएको छ ।
महोत्सवबाट हुने आम्दानी मकवानपुर जिल्ला खेलकुद विकास समितिको भवन निर्माण र खेल सामग्री खरिदमा खर्च गरिने आयोजकले जनाएको छ । जिल्ला खेलकुद विकास समितिले दोस्रो संस्करणको “बृहत् खेलकुद कृषि पर्यटन तथा व्यापार महोत्सव–२०८२” आयोजना गर्न लागेको हो ।
हेटौँडा–१० स्थित टिसिएन चौरमा माघ २८ गतेदेखि फागुन १२ गतेसम्म महोत्सव सञ्चालन हुने बताइएको छ । पत्रकार सम्मेलनमार्फत आयोजकले महोत्सव सञ्चालनमा करिब ८० लाख रुपियाँ खर्च लाग्ने र करिब ४०० व्यावसायिक स्टल रहने जानकारी दिएको छ । महोत्सवमार्फत खेल, व्यापार, कृषि र पर्यटनलाई एउटै थलोमा जोड्ने उद्देश्य राखिएको छ ।
“घरेलु तथा कृषि उत्पादनको प्रदर्शन र खेलकुदलाई प्रोत्साहन मुख्य आकर्षण रहनेछ” समिति अध्यक्ष राजकुमार मोक्तानले भन्नुभयो । महोत्सवमा राष्ट्रिय महिला भलिबल, जिल्लास्तरीय पुरुष भलिबल, ब्याडमिन्टन, कराँते प्रतियोगिता, २२ किलोमिटर दौड तथा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन गरिने छ ।
साथै दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारबाट सांगीतिक प्रस्तुति हुने जनाइएको छ । यसैगरी १० जना उत्कृष्ट खेलाडीलाई जनही २५ हजार नगद पुरस्कारसहित सम्मान गरिने समिति अध्यक्ष मोक्तानले बताउनुभयो ।