• ७ वैशाख २०८१, शुक्रबार

गौतमबुद्ध विमानस्थलबाट थप दुई विदेशी कम्पनीले उडान भर्ने

blog

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । तस्विर : लक्ष्मण पौडेल

नरेन्द्र ढकाल

भैरहवा, असार ६ गते । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुईवटा विदेशी वायुसेवा कम्पनीले उडान भर्ने भएका छन् । हाल जजिरा एअरलाईन्सले मात्र अन्तर्राष्ट्रिय उडान भर्दैआएको गौतमबुद्ध विमानस्थलमा थप दुई विदेशी वायुसेवा कम्पनी थपिन लागेका हुन् । विमानस्थल गत जेठ २ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

विमानस्थल प्रशासनका अनुसार नियमित उडान भर्नका लागि एयर अरेबिया र युएइको फ्लाई दुबई कम्पनीले प्रक्रिया अघि बढाएका छन् । विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले अव क्रमशः विदेशी वायुसेवा कम्पनीहरु थपिंदैजाने बताउनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान भर्न लागेका दुवै कम्पनी संयुक्त अरब इमिरेट्स युएईका अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी रहेको जानकारी दिएको छ । “एयर अरेबियाले आउँदो दुई साताभित्रै नियमित व्यावसायिक उडानका लागि इच्छा प्रकट गर्दै प्रक्रिया थालेको छ” प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले बताउनुभयो । 

उहाँकाअनुसार खासगरी भैरहवा विमानस्थलबाट श्रम गन्तव्य मुलुक जान चाहने यात्रुको माग तथा चाप पनि उच्च रहेको छ । सोही कारण अन्य विदेशी वायुसेवा कम्पनीले पनि यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि रुची बढाएका छन् । 

यसैगरी एक महिनाअघि विमानस्थल उदघाटनसँगै साताको तीन दिन नियमित उडान सुरु गरेको जजिरा एयरलाइन्सले पनि छिट्टै सातामा सातै वटा उडान सुरु गर्ने तयारी गरेको विमानस्थलका महाप्रवन्धक दाहालले जानकारी दिनुभयो । 

हाल काठमाडौँ–कुवेत रुटका लागि जजिराको न्यूनतम भाडा ३३ हजार रुपियाँ रहेको छ । भैरहवा–कुवेत रुट भएर अवत जावत गर्दा भने यसमा २० प्रतिशत अर्थात छ हजार ६०० रुपियाँमा सेवा दिँदैआएको छ । जजिरा एअरले छिट्टै आफ्नो उडान तालिका परिवर्तन गरी बिहानका लागि पनि बनाउने योजना बनाएको उक्त वायुसेवाको नेपालका लागि आधिकारिक जिएसए सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रविचन्द्र सिंहले जानकारी दिनुभयो । 

उहाँकाअनुसार भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत यात्रुले कुवेत भएर खाडीका विभिन्न मुलुकका साथै जर्जिया, इजिप्ट, अजरबैजान लगायत कुवेत केन्द्र बनाएर जजिराले उडान सञ्चालन गरिरहेका सबै गन्तव्य जाने उडान सेवा लिँदैआएका छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने आउने यात्रुका लागि यो विमानस्थल सहज भएकोे छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि मौसम वा अन्य कारणले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्न नसकेपछि अन्य देशको विमानस्थलमा जानुपर्ने बाध्यता हटेको छ ।

विमानस्थलमा विदेशी विमान कम्पनीलाई आकर्षित गर्न विभिन्न सुविधाहरू दिइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा नीतिगत रुपमै एक वर्षका लागि विभिन्न सुविधाहरु दिएको हो । आगामी एक वर्षसम्मका लागि अवतरण शुल्क, सुरक्षा शुल्क, सञ्चार शुल्क र उड्डयन सेवा शुल्कहरूमा शत प्रतिशत छुट दिइएको छ ।