काठमाडौँ, चैत १३ गते । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । नेपालको ४३ औँ प्रधानमन्त्री पदमा नियुक्त हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाहले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गर्नुभएको हो ।
यसअघि राष्ट्रपति पौडेलले शुक्रबार बिहान नेपालको संविधानको धारा ७६ (१)अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमानप्रधानमन्त्री सुशीला कार्की र पूर्व प्रधानमन्त्रीहरू उपस्थित हुनुहुन्थ्यो । समारोहमा संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।
प्रधानमन्त्रीको शपथ पहिलोपटक वैदिक–सनातन परम्परा झल्किने गरी गरिएको थियो । समारोहमा सात शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ–मङ्गल पाठ गर्नुभएको थियो ।
रास्वपा वरिष्ठ नेता शाहलाई बिहीबार सो पार्टीले संसदीय दलका नेतामा सर्वसम्मत चयन गरेको थियो ।