काठमाडौँ, चैत १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता दीपककुमार साह श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्नुभएको छ ।
आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । साह महोत्तरी–२ बाट निर्वाचित हुनुहुन्छ ।
लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनमा ‘पिएचडी स्कलर’, लन्डन स्कुल अफ इकोनोमिक्सबाट हेल्थ पोलिसी र प्लानिङ एन्ड फाइनान्सिङमा स्नातकोत्तर गर्नुभएको छ ।
नवनियुक्त मन्त्री साहले इन्स्टिच्युट अफ मेडिसिनबाट पब्लिक हेल्थमा स्नातकोत्तर तथा अप्टोमेट्रीमा स्नातकोत्तरका साथै नेपाल ल क्याम्पसबाट एलएलबी गर्नुभएको छ ।
उहाँले विश्व स्वास्थ्य सङ्गठन तथा युके हेल्थ सेक्युरिटी एजेन्सीजस्ता विश्वस्तरीय संस्थामा नीतिनिर्माण र स्वास्थ्य प्रणाली सुधारमा अनुभव बटुल्नुभएको छ । साह मैथिली कला, भाषा तथा साहित्यको राष्ट्रियस्तरमा प्रवर्धन गर्न पनि सक्रिय हुनुहुन्थ्यो । रासस