वासिङ्टन, चैत १३ गते । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) मध्यपूर्वमा थप १० हजार भूमि सैनिक परिचालन गर्ने योजना बनाइरहेको छ । यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कूटनीतिक विकल्प बाहेक अतिरिक्त सैनिक विकल्प उपलब्ध गराउने उद्देश्यले उठाइएको हो ।
थप फौजमा पैदल सैनिकका साथै बख्तरबन्द वाहन पनि समावेश हुने सम्भावना छ । यो नयाँ फौजले पहिले नै उक्त क्षेत्रमा तैनाथ पाँच हजार म्यारिन र ८२ औँ एयरबोर्न डिभिजनका हजारौं पैराट्रुपरसँग मिलेर काम गर्ने छ । मध्यपूर्वमा यी फौज कहाँ पठाइने भन्ने विषय अझै स्पष्ट छैन, तर उनीहरू इरान र खार्ग द्वीप नजिकको क्षेत्रमा परिचालन हुने अपेक्षा गरिएको छ ।
खार्ग द्वीप इरानको तेल निर्यातको महत्त्वपूर्ण केन्द्र मानिन्छ । व्हाइट हाउसकी उप–प्रेस सचिव एना केलीले स्पष्ट पार्दै भन्नुभयो, “सैनिक परिचालन सम्बन्धी सबै घोषणा अमेरिकी रक्षा मन्त्रालयबाटै गरिनेछ । राष्ट्रपति ट्रम्पसँग सधैं सबै सैनिक विकल्पहरू उपलब्ध छन् ।” पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पले बिहीबार उहाँ इरानी ऊर्जा संयन्त्रमाथि योजना बनाइएका हमला १० दिनका लागि स्थगित गर्ने बताउनुभयो ।
उहाँले अमेरिका र इरानबिचको वार्ता ‘अत्यन्तै सकारात्मक रूपमा अघि बढिरहेको’ बताउनुभएको छ । इरानले सार्वजनिक रूपमा व्हाइट हाउसको १५ बुँदे शान्ति योजना अस्वीकार गरेको छ । तर गोप्य वार्ता अनुसार, पाकिस्तानमा केही अमेरिकी वार्ताकारसँग भेट गर्ने तयारी भइरहेको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि ठुलो हमला गरेका थिए, जसले विश्वव्यापी ढुवानीमा अवरोध पुर्यायो, तेलको मूल्य बढायो र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा प्रभाव पारेको थियो । रासस/सिन्ह्वा