जोगीहरू भन्छन् : जता सम्मान उतै फेरी
हरिप्रसाद कोइराला उर्लाबारी, वैशाख १ गते ।कात्तिक र चैत महिनामा फेरी लगाएर वर्षभरि खान पुग्ने अन्नको जोहो गर्ने जोगीहरूको पुख्र्यौली पेसा सङ्कटमा पर्दै गएको छ । युवा पुस्ता बैदेशिक रोजगारमा र बुढापाकाहरू सामाजिक अपमान हुने भन्दै फेरी लगाउन हिँड्न छोडेका छन् । नेपालमा जोगीलाई माग्ने, भिखारीका रूपमा हेर्न थालिएपछि अल्पसङ्ख्यक जोगीहरू ‘फेरी’ लगाउन भारतका नेपाली भाषी गाउँतिर जान थालेको कानेपोखरी–७ का दुर्गालाल जोगी बताउनु हुन्छ । भन्नुहुन्छ, “नेपालमा इज्जत नै हुँदैन । इज्जत गुमाएर रातभर फेरी लगायो, एकदिनको रोजगारी उठ्दैन ।” नेपालमा पुख्र्यौली पेशाबाट घर खर्च टर्दैन । खेतीपाती छैन । जहाँ आफ्नो सम्मान हुन्छ त्यहीँ जाने हो । तेह्रथुमको फेदाप, जौवारीबाट लेटाङ झर्नु भएका मोहनबहादुर जोगी एक महिनाभर लेटाङमै डेरा जमाएर फेरी लगाइरहनु भएको छ । साथी अनिल जोगीसँग आउनुभएका मोहनले राति दुई बजे पछाडि फेरी लगाउने र बिहान सात बजेबाट सिदा उठाउन हिँड्ने गरेको सुनाउनु भयो । जोगी जातिका हरेक पुरुष सदस्यहरूले जीवनमा अनिवार्य रूपमा एक पटक फेरी फुकेर हिँड्नुपर्ने परम्परागत मान्यता छ । त्यसैले जतिसुकै पढे पनि उनीहरू एक पटक फेरी लगाउन हिँड्ने गरेका छन् । पछिल्लो समय नेपालमा भन्दा भारतका सिक्किम, दार्जिलिङ र कालिङ्पोङ जस्ता नेपाली भाषी सहरमा फेरी लगाउन जान थालेका छन् । सङ्खुवासभाको सिद्धपोखरीबाट बसाईं सरेर मोरङको कानेपोखरी–७, आएका सय घर जोगी परिवारका अधिकांश पाका व्यक्तिहरू ‘फेरी’ लगाउन भारततिर जाने गरेको दुर्गालाल जोगी बताउनु हुन्छ । उहाँले भन्नुभयो– “हाम्रो पुख्र्यौली पेसा नै ‘फेरी’ लगाउने हो । नेपालमा खासै राम्रो दृष्टिले हेरिँदैन । त्यसैले विकल्पका रूपमा भारततिर जाने गरेका छौँ । जोगीहरू खेती गर्नुअघि र खेतीपछि कात्तिक र चैत महिनामा भूमिको पूजा गर्ने गर्छन् । हरेक वर्षको चण्डीपूर्णिमाको भोलिपल्ट बिहान घर नजिकैको दोबाटोमा कुुल पूजाको सामग्री बिसर्जन गर्ने बेला वर्र्षभरी रोगव्याधि हैजा नआओस् भनेर भूमिको पूजा गर्ने गर्छन् । मौलिक संस्कृति/परम्पराको रूपमा हरेक वर्र्ष कात्तिक र चैत महिनामा टाढा–टाढासम्म फेरी फुक्नका लागि हिँड्ने यो जाति नेपालमा चलेको द्वन्द्वको मारमा परेको थियो । राति मात्र फेरी (बराँठको सिङ ) फुक्ने जोगीहरू हरेक घरमा पुगी चारवटा सुरमा र मूल ढोकामा उभिएर फेरी फुक्ने गर्दछन् । फेरी फुक्दा कसैसँग बोल्नु हुँदैन तर द्वन्द्वको समयमा राति हिँड्न नपाएका जोगीहरू दश वर्ष पेसा सङ्कटमा परेपछि समाजसँग सम्बन्ध नै विस्थापित भएको बताउँछन् ।वर्र्षको दुई पटक फेरी फुक्नाले घरमा भुतप्रेत नलाग्ने, परिवारका सदस्यहरूलाई रोगव्याधि नलाग्ने र दशाहरू टरेर जाने अनि घरमा सहले वास गर्ने धार्मिक विश्वास रहेको छ । विगतमा अन्य समुदायले झारफुक गर्नसमेत लगाउने गरेकोले जोगीहरूलाई कात्तिक र चैतमा भ्याइनभ्याइ हुने गथ्र्यो । अहिले समाजमा हिन्दुु धर्मावलम्बीको सङ्ख्या र विश्वास घट्दै जाँदा पेसा सङ्कटमा परेको ५४ वर्षीय मदन जोगी बताउनु हुन्छ । लेटाङ बजारमा सिदा उठाएर हिँडिरहनु भएका मदनले भन्नुभयो– पहिले पहिले कात्तिक र चैतमा उठाएको भिक्षा (सिदा)ले वर्षभरि खान पुग्थ्यो । भिक्षामा चामल, तेल, नून, बेसार र दाल दिने चलन थियो । अहिले कतिपयले ५÷१० रुपियाँ घरको माथिल्लो तलाबाटै फालिदिन्छन् । गाउँ पातलो भए पनि सामाजिक सम्मान पाइन्थ्यो, अहिले गाउँ बाक्लो छ तर समाजमा धेरै धर्मका मान्छेहरू भएकोले अपमानित हुनुपरेको भोगाइ छ ।
दुर्गममा खटिने चिकित्सकलाई भत्ता
बुटवल समाचारदाताबुटवल, वैशाख १ गते । लुम्बिनी प्रदेश सरकारले दुर्गम तथा पहाडी जिल्लाका अस्पतालमा चिकित्सकलाई प्रोत्साहित गर्दै सेवामा खटाउन अतिरिक्त सुविधा दिएर पठाउने बाटो खुलाएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्ले प्रादेशिक अस्पताल तथा मेडिकल कलेजका विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि २०७८ स्वीकृत गरेसँगै चिकित्सकको अभाव रहेको दुर्गम स्थानमा चिकित्सक पठाउने बाटो खुला भएको स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले गएको साता प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा (पहिलो संशोधन) निर्देशिका २०७८ स्वीकृत गर्नुका साथै प्रदेश स्वास्थ्य साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ समेत स्वीकृत गरेको थियो । लुम्बिनी प्रदेशका दुर्गम तथा पहाडी जिल्लाका अस्पतालमा चिकित्सकको चरम अभाव भएपछि स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयले अतिरिक्त सुविधा दिएर पठाउने प्रस्ताव गरेको थियो ।प्रदेशअन्तर्गतका प्रादेशिक अस्पताल तथा प्रदेशभित्र सञ्चालित मेडिकल कलेजमा कार्यरत विशेषज्ञ चिकित्सकलाई दुर्गम तथा विशेषज्ञ चिकित्सक नभएको अस्पतालमा परिचालन गरी प्रदेशको स्वास्थ्य सेवालाई सुलभ, गुणस्तरीय र प्रभावकारी बनाउन अतिरिक्त सुविधाको प्रस्ताव गरिएको स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।प्रदेश स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासनका शाखा अधिकृत कृष्णप्रसाद पराजुलीले मन्त्रालयले उक्त कार्यका लागि यसै आर्थिक वर्ष प्रादेशिक अस्पताल तथा मेडिकल कलेजका विशेषज्ञ जनशक्ति परिचालनसम्बन्धी कार्यक्रम नै राखी उक्त कार्यक्रम कार्यान्वयन गर्न एक करोड रुपियाँ बजेट विनियोजन गरेको बताउनुभयो । अब विशेषज्ञ चिकित्सक नभएका अस्पतालमा कम्तीमा तीन महिनालाई खटिएर जाने चिकित्सकले खाइपाई आएको सुविधाको अतिरिक्त मासिक अधिकतम ७० हजार थप सुविधा प्राप्त गर्ने गरी प्रस्ताव पेस गरिएको छ । पहाड तथा दुर्गममा जाने चिकित्सकलाई मासिक रूपमा प्रोत्साहन भत्ता २५ हजार, यातायात खर्च १० हजार, सञ्चार सुविधा दुई हजार, आवास सुविधा १० हजार, खाजा÷खाना तथा अतिथि सत्कार खर्च १० हजार, दुर्गम भत्ता– रुकुम पूर्वका लागि १३ हजार, रोल्पाका लागि आठ हजार र पाल्पा, प्युठान, अर्घाखाँची र गुल्मीका लागि पाँच हजार रुपियाँ प्रस्ताव गरिएको शाखा अधिकृत पराजुलीले बताउनुभयो ।यो प्रस्तावमा आर्थिक मामिला तथा सहकारी मन्त्रालयले सहमति दिइसकेको बताइएको छ । कार्यक्रमअन्तर्गत प्रादेशिक अस्पतालमा कार्यरत विशेष सीप र क्षमता भएका कम्तीमा एमडी वा सोभन्दा माथिल्लो तहको उपाधि हासिल गरी प्रदेशमा समायोजन भएका, कामकाजमा खटिएका, छात्रवृत्ति करारमा कार्यरत रहेका, समितिअन्तर्गत नियुक्त भएका तथा करार सेवामा रही जुनसुकै किसिमले नियुक्त भएका चिकित्सकलाई खटाउन सकिने मन्त्रालयले जनाएको छ । लुम्बिनी प्रदेशभित्र सञ्चालनमा रहेका सरकारी, निजी तथा सामुदायिक मेडिकल कलेजमा कार्यरत चिकित्सकलाई पनि खटाइने मन्त्रालयका सचिव डा. विकास देवकोटाले बताउनुभयो । मेडिकल कलेजमा कार्यरत विशेषज्ञ चिकित्सकको आधारभूत तलबभत्ता नेपाल सरकारले तोकेको सोही तहका सरकारी विशेषज्ञ चिकित्सकको सरह हुने मन्त्रालयले तयार गरेको कार्यविधिको मस्यौदामा उल्लेख गरिएको छ । प्रदेश सरकारले प्रदेश सरकारअन्तर्गका सबै जिल्लास्थित अस्पताल ५० शय्यामा स्तरोन्नति गरी सोहीबमोजिम अस्थायी जनशक्ति तथा दरबन्दी स्वीकृत गरेको भए तापनि ती अस्पतालमा दरबन्दीबमोजिमको जनशक्ति नभएपछि यस्तो व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
पाँचथरमा आजदेखि चौँरी महोत्सव
पाँचथर, चैत ३० गते । विगत वर्षमा जस्तै यस वर्ष पनि पाँचथरको फालेलुङ गाउँपालिकामा नयाँ वर्षका अवसरमा चौँरी महोत्सव आयोजना हुँदैछ । आजदेखि सुरु हुने महोत्सव आगामी वैशाख ४ गतेसम्म चल्नेछ ।उच्च पहाडी क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने, चौँरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो । फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजना हुने उक्त महोत्सवमा चौँरी, चौँरीजन्य सामग्री तथा उच्च पहाडमा पाइने वस्तुको प्रदर्शनी तथा याक गोल्डकप आयोजना गरिने महोत्सव मूल आयोजक समितिका सचिव सुनिल वान्तवाले जानकारी दिनुभयो ।विगतमा एकदिने महोत्सव आयोजना गरिँदै आएको थियो । फालेलुङ गाउँपालिकाको सहयोगमा फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवद्र्धन संस्था, दीपज्योति युवा क्लब र कञ्चनजङ्घा चौँरीपालन तथा संरक्षण संस्थाले महोत्सव आयोजना गरेका हुन् । तीन हजार ५६० मिटरको उचाइमा रहेको नेपाल–भारत सीमावर्ती क्षेत्रमा महोत्सव आयोजना गरिँदै छ । यस वर्ष महोत्सवमा करिब पाँच सय चौँरीलाई एकसाथ प्रदर्शनमा सहभागी गराइने भएको छ ।चौँरीपालनमा आधारित संस्कृति लोप हुँदै गएको र त्यसको संवद्र्धन गर्दै उच्च पहाडी क्षेत्रमा पर्यटक भित्र्याउन मद्दत गर्न, चौँरीजन्य सामग्रीको बजार र मूल्य सुनिश्चितताका लागि सहयोग गर्न, जैविक विविधताको संरक्षण गर्दै वातावरण संरक्षणमा जोड दिन, रैथाने परम्परा, कला संस्कृतिको संवद्र्धन गर्न महोत्सवबाट सहयोग पु-याउने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका उपाध्यक्ष शिल्प साम्पाङले बताउनुभयो । स्थानीय उत्पादनको प्रदर्शनी, भेडाको ऊनबाट बनेका सामग्रीको प्रदर्शनी र बिक्री, घोडचढी, याक चढी, गोठबास ९गोठस्टे० मा बसोबासको प्रबन्ध जस्ता महोत्सवका आकर्षण हुन ।महोत्वसका अवसरमा उत्कृष्ट चाँैरीपालक किसानलाई सम्मान गरिने छ । यस वर्षदेखि याक गोल्डकप सञ्चालन गरिनेछ । गोल्डकपमा चौँरीपालक किसान सहभागी हुनेछन् । महोत्सवका सहभागीले नेपाल–भारत क्षेत्रबाट नेपाल र भारतका विभिन्न भू–भाग तथा नेपाल, भारत र भूटानका हिमालको दृश्यावलोकन गर्न सक्नेछन् । चौँरीको चरन क्षेत्र व्यवस्थित नभएपछि पछिल्लो समयमा चौँरीको सङ्ख्या घट्दै गएको छ ।
जीप दुर्घटनामा चालकको मृत्यु
बझाङ, चैत ३० गते । बझाङको छविसपाथिभेरा गाउँपालिका–१ भाँडेबजारस्थित किन्द्राल भिरमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । छ विसपाथिभेरा गाउँपालिकाको बाहुनडाँडाबाट मोरीबगरतर्फ आउँदैै गरेको से१ज ६७६ नंको जीपमाथी भिरबाट ढुङ्गा खस्दा जीप ४०० मिटर तल सेती नदीमा खसेको हो । चालक छविसपाथिभेरा गाउँपालिका–३ बामनडाँडाका ५० वर्षीय जयबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो ।चालकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिमखेत ल्याइँदै छ । जीपमा अरु कोही पनि सवार नभएको प्रहरीले जनाएको छ ।
गोरखापत्रसँग सहकार्य गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
रमेश पौडेलपोखरा, चैत ३० गते । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गोरखापत्र संस्थानका प्रकाशनलाई नागरिक समक्ष छिटो र छरितो पु-याउन प्रदेश सरकार सहयोग निम्ति तयार रहेको बताउनुभएको छ । गोरखापत्र संस्थानको टोलीसँग पोखरामा आज भएको औपचारिक भेटघाटमा उहाँले सरकारले बजेटमै समावेश गरेर हुन्छ वा के गरेर हुन्छ, गोरखापत्रलाई सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री पोखरेलले गोरखापत्रलाई नीतिगत रूपमै सङ्घ र प्रदेश सरकारले सम्बोधन गरेर लैजानुपर्ने आवश्यक्ता औँल्याउनुभयो ।गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी, गोरखापत्रका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराई, दी राइजिङ नेपालका प्रधानसम्पादक भीमसेन थपलिया, मुनाका सम्पादक हरिप्रसाद भट्टराई, गोरखापत्रका गण्डकी प्रदेश समाचारदाता संयोजक रमेश पौडेललगायत सहभागी रहनुभएको थियो ।संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले गोरखापत्रको गण्डकी प्रदेश संस्करण यहीँबाट प्रकाशन गर्ने गरी योजना बनाइरहेको जानकारी गराउँदै जग्गा, भवन र छापाखानाका लागि सरकारसँग सहयोगको अपेक्षा गर्नुभयो । साथै ‘प्रिन्ट मिडिया’ को प्रभाव काम भइरहेका बेला संस्थानले अनलाइन संस्करणलाई थप प्रभावकारी बनाउन लागेको भन्दै सुवेदीले प्रदेशको राजधानीमा जनशक्ति थप गरेर समाचार ‘अपलोड’ गर्न लागिएको बताउनुभयो । महाप्रबन्धक ऐरीले गोरखापत्रको प्रादेशिक कार्यालय तत्काल आवश्यक रहेको भन्दै खाली रहेका सरकारी कार्यालयमा व्यवस्थापन गर्नसकिने बताउनुभयोे । संस्थान प्रदेश सरकारसँग सहकार्य गरी अगाडि बढ्न तत्पर रहेको उहाँको भनाइ थियो ।गोरखापत्रका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराईले गोरखापत्रका प्रकाशनलाई समायानुकूल बनाई थप प्रभावकारी रूपमा उपभोक्तामाझ पु¥याउन सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो । उहाँले संस्थान र गण्डकी सरकारबीच के कस्तो सहकार्य गर्न सकिन्छ, यसका लागि कार्यदल नै बनाउनुपर्ने बताउनुभयो । दी राइजिङ नेपालका प्रधानसम्पादक भीमसेन थपलियाले संस्थानका सबै किसिमका प्रकाशनलाई प्रदेश सरकारले उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी मुना मासिकका सम्पादक हरिप्रसाद भट्टराईले इतिहास बोकेको गोरखापत्रले सही समाचार मात्र दिने भएकाले प्रदेश सरकारले आफ्नो प्रकाशनका रूपमा लिन आग्रह गर्नुभयो ।गोरखापत्रका गण्डकी ब्युरो संयोजक रमेश पौडेलले रेडियो नेपालको प्रदेश कार्यालयमा प्रशस्त जग्गा रहेको भन्दै त्यसमा गोरखापत्र संस्थानको कार्यालय स्थापना गर्नसकिने बताउनुभयो । मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाले गोरखापत्रका प्रकाशन थप प्रभावकारी बनाउन सर्वेक्षण गर्नुपर्ने भन्दै अबको युग डिजिटल भएकाले त्यसैअनुसार अगाडि बढ्न सुझाव दिनुभयो ।
सडकले फेरिदियो जीवन
दोलखा समाचारदाताचरीकोट, चैत ३० गते । कुनै बेला दुर्गम मानिने दोलखाको मेलुङ गाउँपालिका–५, डाँडाखर्कको पाखेडाँडा क्षेत्रका गाउँ अहिले सुगम बनेका छन् । भौगोलिक बनावटका हिसाबले अति दुर्गम पाखेडाँडामा सडक सञ्जाल जोडिएपछि यो बस्ती सुगम बनेको हो । सडक सञ्जालसंँग जोडिएर यातायात सञ्चालनमा आएपछि स्थानीयले विकास र सुविधा दुवैको अनुभूति गर्न पाएकामा हर्षित बनेका स्थानीय ठाकुरदास श्रेष्ठले बताउनुभयो ।उहाँका अनुसार पालिकाकै दुर्गम पाखेडाँडामा गाउँपालिकाले विकास र सुविधाको अनुभूति गराएको छ । दुर्गम क्षेत्र भएकै कारण कसैको नजर नपरेको यो ठाउँमा अहिले गाउँपालिकाको पहलमा विकासको पूर्वाधार मानिने सडक सञ्जालले जोडिएपछि यो गाउँमा बस सेवासमेत सुरु भएको छ । गाउँमा नै सामान्य पसल र होटल सञ्चालन भएका छन् । स्थानीयवासी बिरामी हुँदा बोकाएर तीन घण्टा लगाएर डाँडाखर्क स्वास्थ्य संस्थासम्म पु-याउनुपर्ने बाध्यता हटेको छ ।देशमा लोकतन्त्र र गणतन्त्र आएको महसुस भएको छ । सडककै कारण स्थानीयको जीवनशैली मात्र फेरिएको छैन हरेक कुरामा सहज भएको छ । अर्का स्थानीय पदमबहादुर श्रेष्ठले खुसी व्यक्त गर्दै भन्नुभयो, “गाउँगाउँमा यातायातका साधन गुड्न थालेपछि स्थानीय जीवन सहज भएको छ । गाउँको मुहार पनि फेरिएको छ । ” पिछडिएका थामी, मगर र श्रेष्ठ समुदायका नागरिकको बसोबास रहेको यो बस्तीमा स्थानीय तहको निर्वाचन भएको दुई वर्षपछि २०७६ सालमा पहिलो पटक सडक पु-याइएको गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताउनुभयो ।
घरको खरानी हेर्दै त्रिपालको बास
उदयपुर समाचारदाताउदयपुर, चैत ३० गते । एक जना वृद्धाको मानवीय क्षतिसहित आठ घरमा आगजनी भएको उदयपुरको घटनाका पीडितहरूको दिनचर्या कष्टकर बनेको छ । जिल्लाको उदयपुरगढी गाउँपालिका–१, शिखरपुरका अग्नि पीडितहरूले आगलागीपछि घर उभ्याउन नसक्दा दिनचर्या कष्टकर बनेको हो । पीडित मनमाया राईले घटना भएको दुई हप्ता बितिसक्दा पनि कसैले एउटासम्म घर उभ्याउन नसकेको बताउनुभयो । गत चैत १३ गते दिउँसोको आगजनीबाट बिचल्ली परेका आठ घर परिवारलाई खानका लागि राहत मिले पनि बस्ने राम्रो व्यवस्था नभएको उहाँले बताउनुभयो । बालबालिका र महिलाहरू त्रिपालमुनि बस्नुपर्दा दिनचर्या कष्टकर बनेको छ । पीडित गम्बर मगरले आफूहरूको मुख्य चाहना घर उभ्याउने रहेको बताउनुभयो ।घरको खरानी हेर्दै त्रिपालमुनि बसेका पीडितलाई अझै हातमा काम आएको छैन । पीडितहरू नयाँ घर उभ्याउन नसक्दासम्म कहालीलाग्दो आगलागी घटना बिर्सन नसक्ने भएका छन् । “भएभरको जायजेथा खरानी भयो ।” पीडित धनमाया मगरले भन्नुभयो, “मनमा पीडा हुन्छ, हातमा काम आउँदैन ।” पीडितहरूले धुले भुइँमा भात पकाएर भोक टार्ने गरेका छन् । हावा चल्ने मौसम भएकाले त्रिपालभित्र पनि आगो लाग्ने जोखिम छ ।जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलका अनुसार दुई हप्ताअघि एकै बस्तीको ८ घरमा आगजनी हुँदा अन्दाजी ७५ वर्षीया वृद्धा शिवमाया मगरको जलेर मृत्यु भएको थियो । आगजनीबाट ओम मगर, गम्बर मगर, शेरबहादुर मगर, भैरवबहादुर मगर, पदमबहादुर मगर, धनमाया मगर, डिकबहादुर मगर र मनमाया मगरको घर जलेर पूर्णरूपले क्षति भएको थियो । घरसँगै अन्नपात, लत्ताकपडा, भाडाँकुडा पूर्णरूपले जलेको र खसी, बाख्रा, बङ्गुरलगायत चौपायाहरू मरेका थिए ।बस्तीका अधिकांश मानिसहरू घाँस दाउरा, मेलापात र बाहिर गएको अवस्थामा आगलागी भएको थियो । एउटा गोठबाट एक्कासि उठेको आगोले बस्तीमा नजिक–नजिक रहेका ८ वटा घर खरानी बनाएको थियो । आगलागीको बेला बेस्सरी हावा चलेकोले नजिकका घरहरू जलेका थिए । एउटा बाहेक सबै घरमा फुसको छानो थियो । तीन दिनपछि मात्र आगलागी पूर्णरूपले नियन्त्रणमा आएको थियो । बिजुली सर्ट भएर आगलागी भएको अनुमान पीडितहरूको छ ।यसैबीच, प्रदेश सांसद नारायण बुर्जा मगरले ८ पीडित घर परिवारलाई प्रतिघर १० हजार रुपियाँका दरले आर्थिक सहयोग गर्नुभएको छ । घटनापछि स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, विभिन्न सङ्घसंस्थाले विभिन्न राहत तथा सहयोग पु¥याएका छन् । पीडितहरूका अनुसार घरै गुमाएकाहरूको मुख्य चाहना र चिन्ता घर ठड्याउने छ । सङ्घीय सांसद सुरेशकुमार राईले घरको लागि टिनको छानोको व्यवस्था मिलाउने आश्वासन दिनुभएको छ । प्रदेश सांसद बुर्जा मगरले पनि घर निर्माणका लागि प्रदेश सरकारसँग सहयोगको आग्रह गर्ने बताउनुभयो ।
भरतपुर महानगरमा प्रतिष्ठाको लडाइँ
शालिग्राम नेपालचितवन, चैत ३० गते । प्रतिष्ठाको विषय बनेको चितवनको भरतपुर महानगरपालिकाको मेयर पदको उम्मेदवारी सत्ता गठबन्धनका कसले पाउने भन्ने निश्चित नहुँदा नेकपा एमालेका उम्मेदवार भने जनताबीच चुनावी प्रचारमा पुग्नुभएको छ । स्थानीय निर्वाचन आउन ३१ दिन बाँकी हुँदा गठबन्धनका तर्फबाट मेयर कुन पार्टीले पाउने निश्चित भएको छैन तर नेकपा एमालेले भने महानगरको मेयर पदमा सर्वसम्मत रूपमा विजय सुवेदीलाई अगाडि सारेको छ । उपमेयरमा चाहिँ दुई दिनभित्र टुङ्गो लगाउने तयारी गरेको छ ।नेकपा एमाले प्रचार विभाग प्रमुख रविकिरण पौडेलले भन्नुभयो, “हामी मेयरमा सर्वसम्मत रूपमा उम्मेदवार खडा गरेर प्रचारमा लागिसकेका छौँ । अब दुई दिनभित्र उपमेयरमा को उठाउने निश्चित गर्नेछौँ । ” सातवटा पालिका रहेको चितवनमा सबैभन्दा धेरै चासोको विषय भरतपुर महानगरपालिका रहेको थियो । त्यसलाई टुङ्गो लगाएर आफ्ना एजेन्डासहित जनताको घरदैलोमा हामी गएका छौँ, उहाँले भन्नुभयो, “एक मात्र गाउँपालिका रहेको इच्छाकामनामा दानबहादुर गुरुङलाई अध्यक्ष उठाइने भएको छ । ”जिल्लाको पाँचवटा पालिकामा भने केही दिनभित्रै सबै उम्मेदवार टुङ्गो लगाउने तयारी भएको पौडेलले जानकारी दिनुभयो । नेपाली काँग्रेस र माओवादी केन्द्रमध्ये कसले भरतपुरको मेयर पद लिने भन्ने विषयमा रस्साकस्सी भएको कारण भागबन्डा मिल्न सकेको छैन । नेकपा माओवादी केन्द्रले फेरि पनि आफूले भरतपुरको मेयर पद पाउनुपर्ने दबाब दिएको छ ।माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीले भन्न्नुभयो, “जनताले फेरि पनि रेनु दाहालको नेतृत्व खोजेकाले हामीले पाउनुपर्ने दाबी कायम छ । सत्ता गठबन्धनमध्ये एक माओवादी केन्द्रका अध्यक्षको निर्वाचन क्षेत्र रहेको जिल्लामा विकासका बाँकी काम रहेकाले हाम्रो पार्टीको नेतृत्व महानगरले खोजेको छ,” उहाँले भन्नुभयो । हाम्रो पार्टीले ‘विकासको नमुना हेर्न भरतपुर जाउँ’ भन्ने नारा नै राखेकाले आउँदो निर्वाचनमा विजय हासिल गर्न सहज हुनेछ, अधिकारी बताउनुहुन्छ ।नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले यस पटक महानगरमा आफूहरूले नेतृत्व पाउनु पर्छ भन्ने माग कायम रहेको बताउनुभयो । “पार्टीको केन्द्रीय समितिको निर्णय नै स्थानीय आवश्यकताको आधारमा तालमेल गर्ने भन्ने रहेको छ, त्यहीअनुसार हामीले पाउनु पर्छ भन्ने माग जायज छ । केन्द्रीय समितिको निर्णयविपरीत पार्टी सभापति जान हुँदैन भन्ने हाम्रो भनाइ हो । जिल्ला पार्टीबाट भरतपुर कुनै पनि हालतमा हामीले पाउनु पर्छ भन्ने निर्णय गरेका छौँ,” कोइरालाले भन्नुभयो, “हाम्रो निर्णयविपरीत भागबन्डा हँुदैन भन्नेमा हामी ढुक्क छौँ । ”पद पाउने विषयमा ढिलाइ हुँदा भने चिन्ता लागेको कोइराला बताउनुहुन्छ तर पनि महानगरमा हाम्रो बलियो उपस्थिति रहेकाले जित्नका लागि समस्या छैन । काँग्रेसको नेतृत्व जनताले खोजिराखेका छन्, उहाँले भन्नुभयो, “हामी जनताको घरमा विभिन्न माध्यमबाट पुगिराखेका छौँ । ”नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले मेयर पदमा एमाले उम्मेदवार क्षमतावान् र कुनै विषयमा खोट नभएकाले जित सुनिश्चित भएको बताउनुहुन्छ । “हाम्रो नेतृत्वमा सरकारले गरेका कामको प्रचार र हामीले गर्न सक्ने योजना जनतामाझ लगेका छौँ त्यसैले कुनै समस्या छैन” अध्यक्ष न्यौपाने भन्नुहुन्छ ।गत स्थानीय निर्वाचनमा सात पालिकामध्य पूर्वी चितवनका चारवटा पालिकामा एमालेले मेयर र उपमेयर जितेको थियो । भरतपुरमा एमालेको नेतृत्व नहुँदा जिल्लामा पार्टीले जितेको जस्तो महसुस गरेको छैन । त्यसैले महानगरको नेतृत्व एमालेले जित्नै पर्ने गरी प्रतिष्ठाको विषय बनाएको छ । काँग्रेस भने पार्टीको राम्रो पकड भएको स्थान गुमाउन चाहँदैन । माओवादी केन्द्र पार्टी केन्द्रीय अध्यक्षको निर्वाचन क्षेत्र भएको कारण फेरि पनि नेतृत्व लिने तयारीमा छ ।
महिला उम्मेदवारको व्यवस्था बारेमा आयोगले आफ्नो निर्णय सच्यायो
गोरखापत्र अनलाइनकाठमाडौं, चैत २९ गते । निर्वाचन आयोगले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्रै उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्नुपर्ने भनिएको यसअघि गरेको निर्णय सच्याएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार जारी गर्नुभएको विज्ञप्तिमा यसअघिको निर्देशनमा अन्यथा भएकाले सच्याइएको उल्लेख गर्नुभएको हो । आयोगले चैत १६ गते राजनीतिक दलहरुलाई दिइएको १७ बुँदे निर्देशनको बुँदा नम्बर ६ मा स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उम्मेदवार मनोनयनमा प्राथमिकता दिने’ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ भनेर आयोगले प्रष्ट पारेको छ ।राजनीतिक दललाई दिइएको यसअघिको १७ बुँदे निर्देशनको बुँदा नम्बर ६ मा ‘यसअघि स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्ने,’ उल्लेख थियो ।
पार्टीमा जसले टिकट पाए पनि जित्ने काँग्रेसले हो : नेता गच्छदार
जयकृष्ण यादव इनरुवा, चैत २९ गते । सुनसरी सदरमुकाम इनरुवामा नेपाली काँग्रेस सुनसरीले ‘घरघर जाऔं, काँग्रेस जिताऔंं’ अभियानको अन्तिम दिन जिल्ला भेला सम्पन्न गरेको छ । काँग्रेसले जिल्लाको १२ स्थानीय तहको १२४ वटै वडामा पार्टीको सम्पर्क र पार्टी कार्यालय स्थापनादेखि टोल तथा वडा भेला कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला उम्मेदबारका आकाक्षीहरुको उपस्थितिमा जिल्ला भेला सम्पन्न भएको पार्टी जिल्ला सचिव विरेन्द्र साहले जानकारी दिनुभयो । कार्यक्रममा प्रत्येक क्षेत्र र पालिकाबाट पार्टीको ‘घरघर जाऔं, काँग्रेस जिताऔं’ अभियान सफल पार्ने काम भएको बताइएको छ । विगतमा ९ स्थानीय तह जितेकोमा यसपाली सबै क्षेत्र जित्नेगरी तयारी भएको काँग्रेसले दावी गरेको छ । काँग्रेस नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पार्टीको जोकोही नेताले टिकट पाएपनि काँग्रेंसले नै जित्ने बताउनुभयो । टिकट कसले पायो भन्दा पार्टीलाई कसरी मजबुत बनाउने र जिताउने भन्नेमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो । काँग्रेंस सुनसरी पार्टी कार्यालयमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्नुहुदै गच्छदारले पार्टीमा एक पद एक उम्मेदबारको नीति रहेकाले चित्त नदुखाउन आग्रह गर्नुभयो ।काँग्रेंसका केन्द्रिय सदस्य राजिव कोईराला, संघीय सासद सिताराम मेहता, प्रदेश सांसद ताहिर मियाँ, सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्यहरुको उपस्थिति थियो ।
जुम्ला खण्डमा भ्यान दुर्घटना, १० जना घाइते
नेत्र शाहीजुम्ला, चैत २९ गते । जुम्ला तातोपानी गाउँपालिका २ स्थित बाबिरामा भ्यान दुर्घटना हुँदा १० जना यात्रु घाईते भएका छन् । जुम्ला सदरमुकामबाट नाग्मतर्फ जाँदैगरेको भे १ ज १२२० नम्बरको भ्यान मंगलबार दुर्घटना हुँदा भ्यानमा सवार १० जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय जुम्लामा प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । उहाँकाअनुसार घाईते सवैलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ । उहाँहरुको उपचार शुरु भएको प्रतिष्ठानले जनाएको छ । केही घाईतेको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । तिब्रगतिमा रहेको भ्यान अनियन्त्रीत भई कर्णाली राजमार्गदेखि तल खोलामा खसेको प्रहरीले जनाएको छ । भ्यान दुर्घटना भएपछि तातोपानी गाउँपालिकाको एम्बुलेन्स र गाडिमा घाईतेलाई अस्पताल लगिएको प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशमा उद्योगको प्रचुर सम्भावना
भैरहवा समाचारदाताभैरहवा, चैत २४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशमा उद्योगको प्रचुर सम्भावना रहेको बताउनुभएको छ । उहाँले यो प्रदेशमा उद्योग स्थापनाका लागि पर्याप्त जमिन रहेको बताउनुभयो ।नेपाल इँटा उद्योग महासङ्घको पाँचौँ राष्ट्रिय महाधिवेशन तथा १३औँ वार्षिक साधारण सभाको बुधबार भैरहवामा उद्घाटन गर्दै मुख्यमन्त्री केसीले उद्योग क्षेत्रको विकास गरेर रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशमा १८ वटा सिमेन्ट उद्योग मात्र रहेको भन्दै निर्माण सामग्रीमा लुम्बिनी प्रदेश आत्मनिर्भर हुँदै गएको बताउनुभयो ।मुख्यमन्त्री केसीले सरकार दुई वर्ष कोभिड महामारीका कारण सामाजिक, आर्थिक, व्यक्तिगत जीवनका साथै स्वास्थ्य क्षेत्रमा केन्द्रित भएको बताउनुभयो । “अब सबैको ध्यान उद्योग स्थापनातर्फ केन्द्रित हुनुपर्छ, उद्योग फस्टाउन नसके प्रदेश र स्थानीय तह बलियो हुन सक्दैनन्,” उहाँले भन्नुभयो ।उहाँले सानादेखि ठूला उद्योग व्यवस्थित गर्दै जाने र लगानी सम्मेलनको तयारी भएको जानकारी दिनुभयो ।कार्यक्रममा नेपाल इँटा उद्योग महासङ्घका वरिष्ठ उपाध्यक्ष शङ्करबहादुर चन्दले प्रत्यक्ष परोक्ष रूपमा रोजगार दिइरहेको इँटा उद्योग धराशायी हुँदै गएको बताउनुभयो । प्रदेश सरकारले केही न केही उपलब्धिपूर्ण काम गर्नेछ भन्ने आशा रहेको उहाँले बताउनुभयो । यसअघि भन्सारमा कोइलाको गुणस्तर जाँच गर्ने मेसिन उपलब्ध गराउने वाचा पाए पनि त्यो कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो ।सिद्धार्थनगर नगरपालिकाका प्रमुख तथा नेपाल इँटा उद्योग महासङ्घका सल्लाहकार हरिप्रसाद अधिकारीले काँचो इँटाको बीमा गर्ने व्यवस्था नभएको भन्दै गुनासो गर्नुभयो ।लुम्बिनी इँटा उद्योग व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष तथा इँटा उद्योग सङ्घ लुम्बिनी प्रदेश संयोजक थानेश्वर घिमिरेले इँटा उद्योग अभावै अभावमा सञ्चालन भइरहेको बताउनुभयो ।इँटा उद्योगको विकासमा स्थापना कालदेखि नै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाल इँटा उद्योग महासङ्घले महासङ्घका वरिष्ठ सल्लाहकार रतनकुमार गुप्तालाई सम्मान गरेको छ । महासङ्घको पाँचौँ राष्ट्रिय महाधिवेशन तथा १३औँ वार्षिक साधारण सभाको अवसर पारेर गुप्तालाई सम्मान गरिएको हो । त्यस्तै उद्योगी बलराम आश्वासी, लालबहादुर गौचनलगायतलाई पनि सम्मान गरिएको थियो ।त्यस्तै नेपाल पत्रकार महासङ्घ रुपन्देहीका सल्लाहकार माधव ढुङ्गाना र खिमानन्द भट्टराई पनि सम्मानित हुनुभएको थियो । पत्रकारिता क्षेत्रमार्फत योगदान पु-याएको भन्दै उहाँहरूलाई नेपाल इँटा उद्योग महासङ्घले सम्मान गरेको हो ।