• ७ मंसिर २०८१, शुक्रबार

जोगीहरू भन्छन् : जता सम्मान उतै फेरी

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, वैशाख १ गते  ।कात्तिक र चैत महिनामा फेरी लगाएर वर्षभरि खान पुग्ने अन्नको जोहो गर्ने जोगीहरूको पुख्र्यौली पेसा सङ्कटमा पर्दै गएको छ । युवा पुस्ता बैदेशिक रोजगारमा र बुढापाकाहरू सामाजिक अपमान हुने भन्दै फेरी लगाउन हिँड्न छोडेका छन् । 

नेपालमा जोगीलाई माग्ने, भिखारीका रूपमा हेर्न थालिएपछि अल्पसङ्ख्यक जोगीहरू ‘फेरी’ लगाउन भारतका नेपाली भाषी गाउँतिर जान थालेको कानेपोखरी–७ का दुर्गालाल जोगी बताउनु हुन्छ । भन्नुहुन्छ, “नेपालमा इज्जत नै हुँदैन । इज्जत गुमाएर रातभर फेरी लगायो, एकदिनको रोजगारी उठ्दैन ।”

 नेपालमा पुख्र्यौली पेशाबाट घर खर्च टर्दैन । खेतीपाती छैन । जहाँ आफ्नो सम्मान हुन्छ त्यहीँ जाने हो । तेह्रथुमको फेदाप, जौवारीबाट लेटाङ झर्नु भएका मोहनबहादुर जोगी एक महिनाभर लेटाङमै डेरा जमाएर फेरी लगाइरहनु भएको छ । साथी अनिल जोगीसँग आउनुभएका मोहनले राति दुई बजे पछाडि फेरी लगाउने र बिहान सात बजेबाट सिदा उठाउन हिँड्ने गरेको सुनाउनु भयो ।   

जोगी जातिका हरेक पुरुष सदस्यहरूले जीवनमा अनिवार्य रूपमा एक पटक फेरी फुकेर हिँड्नुपर्ने परम्परागत मान्यता छ । त्यसैले जतिसुकै पढे पनि उनीहरू एक पटक फेरी लगाउन हिँड्ने गरेका छन् । पछिल्लो समय नेपालमा भन्दा भारतका सिक्किम, दार्जिलिङ र कालिङ्पोङ जस्ता नेपाली भाषी सहरमा फेरी लगाउन जान थालेका छन् । 

सङ्खुवासभाको सिद्धपोखरीबाट बसाईं सरेर मोरङको कानेपोखरी–७, आएका सय घर जोगी परिवारका अधिकांश पाका व्यक्तिहरू ‘फेरी’ लगाउन भारततिर जाने गरेको दुर्गालाल जोगी बताउनु हुन्छ । उहाँले भन्नुभयो– “हाम्रो पुख्र्यौली पेसा नै ‘फेरी’ लगाउने हो । नेपालमा खासै राम्रो दृष्टिले हेरिँदैन । त्यसैले विकल्पका रूपमा भारततिर जाने गरेका छौँ । 

जोगीहरू खेती गर्नुअघि र खेतीपछि कात्तिक र चैत महिनामा भूमिको पूजा गर्ने गर्छन् । हरेक वर्षको चण्डीपूर्णिमाको भोलिपल्ट बिहान घर नजिकैको दोबाटोमा कुुल पूजाको सामग्री बिसर्जन गर्ने बेला वर्र्षभरी रोगव्याधि हैजा नआओस् भनेर भूमिको पूजा गर्ने गर्छन् । 

मौलिक संस्कृति/परम्पराको रूपमा हरेक वर्र्ष कात्तिक र चैत महिनामा टाढा–टाढासम्म फेरी फुक्नका लागि हिँड्ने यो जाति नेपालमा चलेको द्वन्द्वको मारमा परेको थियो । राति मात्र फेरी (बराँठको सिङ ) फुक्ने जोगीहरू हरेक घरमा पुगी चारवटा सुरमा र मूल ढोकामा उभिएर फेरी फुक्ने गर्दछन् । फेरी फुक्दा कसैसँग बोल्नु हुँदैन तर द्वन्द्वको समयमा राति हिँड्न नपाएका जोगीहरू दश वर्ष पेसा सङ्कटमा परेपछि समाजसँग सम्बन्ध नै विस्थापित भएको बताउँछन् ।

वर्र्षको दुई पटक फेरी फुक्नाले घरमा भुतप्रेत नलाग्ने, परिवारका सदस्यहरूलाई रोगव्याधि नलाग्ने र दशाहरू टरेर जाने अनि घरमा सहले वास गर्ने धार्मिक विश्वास रहेको छ । विगतमा अन्य समुदायले झारफुक गर्नसमेत लगाउने गरेकोले जोगीहरूलाई कात्तिक र चैतमा भ्याइनभ्याइ हुने गथ्र्यो । अहिले समाजमा हिन्दुु धर्मावलम्बीको सङ्ख्या र विश्वास घट्दै जाँदा पेसा सङ्कटमा परेको ५४ वर्षीय मदन जोगी बताउनु हुन्छ । 

लेटाङ बजारमा सिदा उठाएर हिँडिरहनु भएका मदनले भन्नुभयो– पहिले पहिले कात्तिक र चैतमा उठाएको भिक्षा (सिदा)ले वर्षभरि खान पुग्थ्यो । भिक्षामा चामल, तेल, नून, बेसार र दाल दिने चलन थियो । अहिले कतिपयले ५÷१० रुपियाँ घरको माथिल्लो तलाबाटै फालिदिन्छन् । गाउँ पातलो भए पनि सामाजिक सम्मान पाइन्थ्यो, अहिले गाउँ बाक्लो छ तर समाजमा धेरै धर्मका मान्छेहरू भएकोले अपमानित हुनुपरेको भोगाइ छ ।