• १३ वैशाख २०८१, बिहिबार

किसानलाई रोपाई, उम्मेदवारलाई मत माग्न चटारो

blog

शेरबहादुर सार्की

बाजुरा, असार ८ गते । किसानको धान रोप्ने बेलामा बाजुराको बूढीगङ्गा नगरपालिकाका उम्मेरदवारलाई भोट माग्ने चटारो परेको छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा बाजुराको बुढीगङ्गा नगरपालिकामा धाँधली भएको भन्दै असार २३ गते पुनः निर्वाचन हुने भएपछि उम्मेदवारलाई चुनावी चटारो परेको हो ।


बुढीगङ्गा, नगरपालिकाका विभिन्न राजनीतिक दलहरुले गाउँ गाउँमा आफ्नो चुनावी अभियान तीव्र पारेका छन् । यतिबेला नेपाली कांग्रेस, नेकपा (एमाले) पार्टीका उम्मेदवार जनताका घरदैलोमा पुगेर विभिन्न आश्वासन दिदैँ मतदातासँग मत माग्न व्यस्त हुनुभएको छ । 

बुढीगङ्गा नगरपालिकामा कांग्रेसबाट नगरप्रमुखमा रङ्गबहादुर खाती उपप्रमुखमा रिता शाही, एमालेबाट प्रमुखमा रामबहादुर बाँनिया र उपप्रमुखमा माया कुँवर उम्मेदवार रहनुभएको छ । 

राजनीतिक दलहरुले पालिकाको समग्र विकासलाई पहिलो एजेण्डा बनाएर सोहीअनुसार घरदैलोमा पुगेर मतदातासँग मत मागिरहनुभएको छ । असार २३ गते हुने स्थानीय तहको निर्वाचनमा बुढीगङ्गा नगरपालिमा १३ हजार ६५९ जना मतदाताले मतदान गर्नुहुनेछ । 

बुढीगङ्गा नगरपालिमा हुने निर्वाचनका लागि १० वटा मतदान स्थल, १९ वटा उपमतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताउनुभयो ।