• ३ चैत २०८२, मङ्गलबार

प्रदेशमा सरकार छ भने जनतालाई अनुभूति दिलाउन प्रयत्नशिल छ : मुख्यमन्त्री यादव

blog

मधेश प्रदेश सरकारको एक सय दिनमा भएका कामकाजबारे जानकारी दिँदै मुख्यमन्त्री कृष्ण प्रसाद यादव । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, चैत ३ गते । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सरकारले प्रदेशमा सरकार छ भने जनतालाई अनुभूति दिलाउन प्रयत्नशिल रहेको बताउनुभएको छ । 

मधेश प्रदेश सरकारको नेतृत्व लिएको एक सय दिन पुरा भएको अवसरमा मुख्यमन्त्री यादवले प्रदेश सरकारले गरेका कामकाजको बारेमा जानकारी दिनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले गत भदौ २३ र २४ गते भएको नवयुवा पुस्ताको आन्दोलनसँगै क्षतिग्रस्त हुन पुगेको मधेश प्रदेशको कार्यपालिकामा मंसिर २१ गतेको दिन आफू मुख्यमन्त्रीको रुपमा पदभारग्रहण ग्रहण गरेको र पछि कामहरु अगाडी बढाउँदा निर्वाचन आयोगले निर्वाचन अचारसंहिता जारी गरेपछि ५० दिन अचारसंहितामै विते पनि एक सय दिनमा आफनो नेतृत्वको सरकारले ५१ वटा काम गरेको उल्लेख गर्नुभयो । 

उहाँले जनकपुरधामको प्रादेशिक अस्पतालमा तुल्नात्मक रुपमा पहिला भन्दा सुधार भएको भन्दै प्रदेश सरकारले सो अस्पतालमा बिरामीको चाप बढेर पुर्जा काटने हम्मे भइरहेको अवस्थालाई सहजीकरण गर्न घरबाटै पुर्जा काटन मिल्ने व्यवस्था मिलाएको बताउनुभयो ।

मुख्यमन्त्री यादवले अगामी असारमा रोपाईका लागि आवश्यक पर्ने मल, खाद्य आपुर्तिको काम प्रदेश सरकारले किसानबाट माग हुनु अगावै व्यवस्थापन गरिसक्ने गरी काम गरेको भन्दै मलमा घटेको अनुदान प्रदेश सरकारले यसै वर्ष देखि लागु हुनेगरी पुनः पूर्ववत व्यवस्था मिलाउन संघीय सरकार समक्ष प्रस्ताव गरेको उल्लेख गर्नुभयो । 

उहाँले करिब दुई दशक अघिदेखि अलपत्र रहेको जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा समावेश गराउने योजनालाई निष्कर्षमा पुर्याउने गरी सरकारले काम सुरु गरेको भन्दै यसका लागि आवश्यक मापदण्ड बनाएर स्थानीय सरकार र पुरातत्व विभागसँग समन्वय गरी कामकाज अगाडी बढाएको बताउनु भयो । उहाँले रामजानकी रंगशाला निमार्णका लागि आवश्यक जग्गा उपलब्ध गराउन सरकारले गुठी संस्थानसँग लिज सम्झौता गरिसकेको भन्दै स्वामित्वका लागि उक्त जग्गा खरिदकै लागि प्रक्रिया अगाडी बढाएको बताउनुभयो । 

उहाँले उपलब्ध वनक्षेत्रमा करौडौ मुल्यबराबरको काठ नष्ट हुँदै आएको भन्दै त्यस्ता काठ जनताको प्रयोगमा ल्याउनेगरी सरकारले नीतिगत तयारी गरिसकेको बताउनुभयो । उहाँले मधेश प्रदेशमा इ रिक्सा र ट्रयाक्टर चलाएर जिविकोपार्जन गर्ने संख्या ठुलो रहेको भन्दै उनीहरु मध्ये अधिकांश निरक्षर रहेको अवस्थालाई बुझेर प्रदेश सरकारले लिखित परिक्षा नलिई सिधै प्रयोगात्मक परीक्षा मार्फत सवारी चालक अनुमति पत्र लिने कानूनी आधार तयार गरेको बताउनुभयो । 

मुख्यमन्त्री यादवले प्रदेशमा रहेका धेरै जसो बहुवर्षिय योजनाहरु बजेट अभावको कारण रोकेकोमा त्यस्ता योजनाहरुमा बजेट व्यवस्थापन गरी कामकाज अगाडी बढाएको बताउनुभयो । 

उहाँले आउन लागेको गर्मी याममा मधेश प्रदेशमा पिउने पानीको समस्या विगतका वर्षमा देखिएको भन्दै सो समस्या समाधानका लागि सरकारले सुरु देखिनै विभिन्न खालकाकामकाज अगाडी बढाएको बताउनुभयो । उहाँ कम समयमा प्रदेश सरकारले शिक्षा, स्वास्थ्य सुधारका साथसाथै कृषि, भौतिक पूर्वाधार, पर्यटन, सिचाईं र खेलकुदको क्षेत्रमा विभिन्न कामकाजहरु गरेको जानकारी गराउनुभयो । 

पत्रकार सम्मेलनमा मधेश प्रदेश सरकारका निमित मुख्य सचिव कमल प्रसाद भटट्राई, समेतको उपस्थिीति रहेको थियो ।