• ३ चैत २०८२, मङ्गलबार

महाकाली नदीमा र्‍याफ्‌टिङ सुरु

blog

र्‍याफ्‌टिङ उद्घाटनमा सहभागीहरू । तस्बिर : भवानीदत्त भट्ट

भवानीदत्त भट्ट

कञ्चनपुर, चैत्र ३ गते । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टी क्षेत्रबाट महाकाली नदीमा व्यवसायिक रुपमा र्‍याफ्‌टिङ सञ्चालनमा ल्याइएको छ ।

सोमबार पानी सप्ताहको अवसर पारी निड्स नेपाल, होटेल व्यवसायी सङ्घ, उद्योग वाणिज्य सङ्घ, यातायात समिति, नाटालगायत पर्यटन व्यवसायी सँगको सहकार्यमा साहसिक जलयात्रा सञ्चालनमा ल्याइएको हो ।

निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले सन् २०१७ मा महाकाली बहुउपयोग परियोजना अन्तर्गत र्‍याफ्‌टिङको सम्भाव्यता अध्ययन गरिएकोमा सन् २०२१ मा यसको सफल परीक्षण गरिएको बताउनुभयो ।

त्यस यता विभिन्न कारणले र्‍याफ्‌टिङ सञ्चालनमा नआए पनि सोमबारदेखि विभिन्न सङ्घ संस्थाको पहलमा व्यवसायिक रुपमा राफ्टिङ सुरु गरिएको उहाँले बताउनुभयो । 

हाल अड्रिफ्ट एडभेन्चर प्रालिअन्तर्गत दुई वटा र्‍याफ्‌टिङ बोट सञ्चालनमा ल्याइएको जनाइएको छ । र्‍याफ्‌टिङ सञ्चालनमा आएसँगै आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ । 

यसै गरी यहाँका स्थानीय युवाहरूले रोजगारी पाउने अपेक्षा गरिएको छ । र्‍याफ्‌टिङ सञ्चालनका लागि स्थानीय चालक किशन भट्टलाई जिम्मेवारी दिइएको छ । 

पाँचदेखि १० जनासम्मको समूहले प्याकेज खरिद गरी र्‍याफ्‌टिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ । भारततर्फबाट भने दुई वटा कम्पनीले सन् २०१५ देखि नै नियमित रूपमा र्‍याफ्‌टिङ सञ्चालन गर्दै आउनुभएको छ ।

होटेल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मीले पर्यटन प्रवर्द्घन गर्नका लागि निजी क्षेत्र तयार रहेको बताउनुभयो । 

करिब २५ वर्षदेखि नेपालका ठूला नदीमा र्‍याफ्‌टिङ व्यवसाय सञ्चालन गरिरहनुभएका नेपाल एसोसिएसन अफ र्‍याफ्‌टिङ एजेन्सीका निवर्तमान अध्यक्ष शिव अधिकारीले कम जोखिम तथा सहज जलयात्रा रुचाउने पर्यटकका लागि महाकाली उपयुक्त नदी रहेको बताउनुभयो ।

 स्थानीय तहका प्रमुखले पनि र्‍याफ्‌टिङ पर्यटनको प्रवर्द्घनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बूले र्‍याफ्‌टिङ विकास तथा प्रचारप्रसारका लागि पालिका सहकार्य गर्न तयार रहेको बताउनुभयो । 

त्यसै गरी, भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले र्‍याफ्‌टिङ व्यवसाय प्रवर्द्घन तथा आवश्यक पूर्वाधार निर्माणमा पालिकाले थप सहयोग प्रदान गर्ने बताउनुभयो ।