प्रकाशविक्रम शाह
धनगढी, चैत ३ गते । सुदूरपश्चिम प्रदेश सभाको महिला समन्वय समितिले पछिल्ला दिनमा देशका विभिन्न स्थानमा भएका बलात्कार तथा हत्या घटनाप्रति सरकारको ध्यानाकर्षण गराएको छ।
समितिले आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीलाई बुझाएको ज्ञापनपत्रमा हिंसारहित समाज निर्माण सबैको साझा दायित्व भएको उल्लेख गरिएको छ। ज्ञापनपत्रमा विशेष गरी सुर्खेत जिल्लाको वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा १६ वर्षीया अनिशा विकमाथि भएको बलात्कारपछि हत्या अत्यन्तै दर्दनाक र निन्दनीय भएको जनाइएको छ।
यस्तै, कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१ मा १२ वर्षीया बालिकामाथि भएको बलात्कार घटनालगायत विभिन्न जिल्लामा घटिरहेका जघन्य अपराधप्रति पनि समितिले गम्भीर चिन्ता व्यक्त गरेको छ।
समितिले यस्ता घटनामा संलग्न सबै दोषीलाई तत्काल कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न तथा पीडित पक्षलाई न्याय दिलाउन आवश्यक पहल गर्न सरकारसँग माग गरेको छ। ज्ञापनपत्र बुझ्दै मन्त्री सार्कीले बलात्कार र हत्याजस्ता घटना हुन नदिन र त्यस्ता क्रियाकलापमा संलग्नलाई कारबाही गराउन आवश्यक पहल गर्ने बताउनुभयो।
समितिका संयोजक सन्तोष शर्माले हस्ताक्षर गर्नुभएको ध्यानाकर्षण पत्रमा महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रणका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने उल्लेख गरिएको छ। ज्ञापनपत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत पठाइएको जनाइएको छ।
ज्ञापनपत्र बुझाउन समितिका संयोजक शर्माको नेतृत्वमा प्रदेश सभा सदस्यहरू लक्ष्मी विक, गीतादेवी माल, तुलसी देवकोटा, खेमादेवी विष्ट, जानकीदेवी कुँवर र मधुदेवी भारती मन्त्रालय पुग्नुभएको थियो।