• ३ चैत २०८२, मङ्गलबार

दिवा सेवा कार्यक्रम चलाउन महायज्ञ

blog

गुठस्थित सामुदायिक सेवा केन्द्रमा आयोजित पत्रकार सम्मेलनका सहभागिहरु । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, चैत ३ गते । सामुदायिक सेवा केन्द्र बागलुङ नगरपालिका वडा ३ गुठीले जेष्ठ नागरिक र असक्तहरुको लागि दिवा सेवा कार्यक्रम सञ्चालन गर्ने लक्ष्यले श्रीमद भागवत महापुराण पितृ सप्ताह लगाउने भएको छ । 

केन्द्रले मंगलबार पत्रकार सम्मेलन गरेर दिवास सेवा केन्द्र कार्यक्रम सञ्चालन गर्न महायज्ञ गर्ने जानकारी दिएको हो । 

गुठीस्थित चिप्लेटी बसपार्कमा चैतको २१ गतेदेखि २७ गतेसम्म महायज्ञ लगाइने केन्द्रकी अध्यक्ष लिलादेवी खड्काले बताउनुभयो । 

उहाँले गरिब, जेहेन्दार, असक्त र अपाङ्ग तथा अभिभावकविहिन विद्यार्थीको लागि कोष स्थापना, गर्ने, सामाजिक सदभाव र भातृत्व कायम गर्ने तथा लागूऔषध अपराध, घरेलु तथा महिला हिंसा, बालश्रम शोषण विरुद्दका अभियान पनि संचालन गर्ने लक्ष्यले महायज्ञ सञ्चालन गरिएको जानकारी दिनुभयो । 

महायज्ञमा १ करोड संकलन गरेर हाल भैरहेका संरचनामा दिवा सेवा केन्द्र सञ्चालन गर्ने योजना छ । 

जेष्ठ नागरिकलाई मनोरञ्जन दिने, भजन गाउने, चिया खाजाको व्यवस्थापन गर्न केन्द्र सञ्चालित हुनेछ । बजार क्षेत्रको नजिक भएकोले जोसुकै पनि केन्द्रमा आएर सेवा लिन सक्नेछन् । निवृत्त भएकादेखि घरका परिवार बाहिर भएकोले एक्लो महसुस  गरेका जो कसैलाई राखेर सेवा दिने लक्ष्य राखिएको अध्यक्ष खड्काले बताउनुभयो । 

महायज्ञसँगै पितृ उद्दारको कार्य पनि गरेकोले महायज्ञमा धेरैको सहभागिता हुने केन्द्रले अपेक्षा गरेको छ । प्रमुख बाचकको रुपमा पण्डित तीर्थराज उपाध्याय हुनुहुन्छ भने हरेक दिन भजनकृतन, योग र उत्प्रेरणात्मक क्रियाकलाप सञ्चालन गरिने छ ।

पत्रकार सम्मेलनमा समाजसेवी सहदेव राजभण्डारी र खड्काले पत्रकारको जिज्ञाशाको जवाफ दिनुभएको थियो ।