काठमाडौँ, चैत ३ गते । नेपालभर पछिल्लो २४ घण्टामा विभिन्न प्राकृतिक तथा गैरप्राकृतिक विपद्का घटनामा परी चार जनाले ज्यान गुमाएका छन् । यस अवधिमा साढे दुई करोड रुपियाँभन्दा बढीको आर्थिक क्षति भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको बुलेटिनअनुसार देशका ४३ जिल्लामा विपद्का घटना रेकर्ड भएका हुन् ।
पछिल्लो २४ घण्टाको अवधिमा देशभर कुल ७३ वटा विपद्का घटना घटेका हुन् । यी घटनामा परी चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा हावाहुरीबाट दुई, सर्पदंशबाट एक र चट्याङ लागेर एक जना रहेका छन् । यस अवधिमा सबैभन्दा बढी हावाहुरीका ४६ र आगलागीका १२ वटा घटना दर्ता भएका छन् । विपद्का कारण दुई करोड ४१ लाख छ हजार ९०० रुपियाँ बराबरको अनुमानित क्षति भएको प्राधिकरणले जनाएको छ । साथै २७ वटा चौपायाको समेत क्षति भएको छ ।
प्राधिकरणको तथ्याङ्कअनुसार २०८२ साल वैशाख १ गतेदेखि चैत ३ गतेसम्म देशभर कुल छ हजार ९५१ वटा विपद्का घटना भएका छन् । यी घटनामा परी हालसम्म ४७५ जनाले ज्यान गुमाएका छन् भने ३८ जना अझै बेपत्ता छन् । त्यसैगरी एक हजार ८४६ जना घाइते भएका छन् भने १२ हजार ६५० परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
यस वर्ष सबैभन्दा बढी मानवीय क्षति आगलागीबाट भएको छ, जसमा १०० जनाको मृत्यु भएको छ । त्यसपछि सर्पदंशबाट ९८, पहिरोबाट ७४, जनावरको आक्रमणबाट ५४ र चट्याङबाट ४७ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।
प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा ३३४ वटा वर्षा मापन केन्द्रमध्ये १२३ वटा केन्द्रमा वर्षा रेकर्ड गरिएको छ । सबैभन्दा बढी वर्षा धनकुटाको मूलघाट केन्द्रमा ३५.० मिलिमिटर मापन गरिएको छ । तापक्रमतर्फ देशकै सबैभन्दा बढी गर्मी रूपन्देहीको भैरहवामा ३४.५ डिग्री सेल्सियस र सबैभन्दा बढी चिसो मनाङको हुम्देमा माइनस ८.५ (-८.५) डिग्री सेल्सियस मापन गरिएको छ ।