लेखनाथ समाचारदाता
लेखनाथ, चैत ३ गते । पोखरा महानगरको वडा ८, जाल्पारोडमा रहेको एक खाजाघरबाट कास्की प्रहरीले चार महिलालाई उद्धार गरिएको छ ।
आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई राम्रो तलब र खान बस्ने सुविधासहित होटलमा काम लगाइदिने प्रलोभन देखाई अनैतिक कार्यमा लगाउने गरेको प्रहरीको दाबी छ।
प्रहरीले ती महिलालाई प्रलोभनमा पारी यौनजन्य गतिविधिमा लगाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भई हाल पोखरा महानगरपालिका वडा १४, चाउथे बस्ने २४ वर्षीय राधेश्याम शाह र बागलुङको काठेखोला गाउँपालिका ४ घर भई हाल पोखरा–१, बगर बस्ने २८ वर्षीय खेमु थापा रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
प्रहरी नायब उपरीक्षक बस्नेतलेसुरुमा होटलको काममा लगाउने र केही समयपछि होटलमा आउने पुरुषबाट रकम लिएर उनीहरुलाई अनैतिक काम गर्न बाध्यन गर्ने गरेको पाइएको बताउनुभयो । “विभिन्न खाजाघरमा होहल्ला भई अनैतिक गतिविधि भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरी टोलीले अनुसन्धान गर्दा यस्तो तथ्य फेला परेको हो,” उहाँले भन्नुभयो ।
आइतबार पक्राउ परेका शाह र थापालाई कास्की जिल्ला अदालतबाट मङ्गलबार मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।