• १५ चैत २०८०, बिहिबार

कतै नयाँ, कतै पुराना किताब पढाइँदै

blog

किताब नपाए पनि विद्यालयमा नियमित उपस्थित भएर पढ्न थालेका महेन्द्र प्रावि कक्षा ५ का विद्यार्थी ।तस्बिर : शेरबहादुर सार्की

बाजुरा, असार ८ गते  । नयाँ शैक्षिक सत्रमा भर्ना भएका बाजुराका अधिकांश विद्यार्थी पुरानै पाठ्यपुस्तक पढ्न बाध्य भएका छन् । यसैबीचमा कतैकतैका विद्यार्थीले भने नयाँ किताब पनि पढ्न पाएका छन् ।बाजुराका पुस्तक डिपोबाट समयमै किताब पाएका विद्यालयका विद्यार्थीले नयाँ पुस्तक पढ्न पाएका हुन् । शैक्षिक सत्र सुरु भएसँगै बाजुराका विद्यालय सञ्चालनमा आएका भए पनि किताब बिक्रेताले समयमै किताब विद्यालयलाई उपलब्ध नगराएपछि अधिकांश विद्यालयका विद्यार्थीले पुरानै किताब पढ्नुपरेकोे छ । 

बाजुराको बूढीगङ्गा नगरपालिका–४, महेन्द्र प्राथमिक विद्यालय कक्षा ५ का पविन कटुवालले कक्षा ४ बाट पास भएर ५ कक्षामा जानेबित्तिकै नयाँ किताब पाएको बताउनुभयो । महेन्द्र प्राविका प्रधानाध्यापक भवानी रेग्मीले पविन एन्ड ललित स्टेसनरीले समयमै किताब उपलब्ध गरिदिएपछि सबै विद्यार्थीले नयाँ किताब पढ्दै आएको बताउनुभयो ।

उहाँका अनुसार कक्षा १, २ र ३ मा १८-१८, चारमा ३० र पाँचमा ३७ सेट किताब माग गरिएकोमा सबै किताब समयमै उपलब्ध भएको हो ।योसँगै त्रिवेणी नगरपालिकाको कैलाशमाडौँ, तोली छतारा, पन्धारालगायतका झन्डै ३४ वटा विद्यालयका ७५ प्रतिशत विद्यार्थीले पनि नयाँ किताबबाटै पठनपाठन गर्दै आएका छन् ।

शैक्षिक सत्र सुरु भएसँगै बाजुराका विद्यालय सञ्चालनमा आएका भए पनि कतिपय विद्यालयमा समयमै किताब नआइपुगेपछि त्यहाँका विद्यार्थी अहिलेसम्म नयाँ किताबको पर्खाइमा बसेका छन् ।अहिलेसम्म किताब नआइपुग्दा अधिकांश शिक्षकले इन्टरनेटको सहायताले ह्वाइट बोर्डमा लेखेर पठनपाठन सञ्चालन गर्न बाध्य भएका छन् ।

बाजुराको बूढीगङ्गा नगरपालिका–२, धुरालसैन माविका प्रधानाध्यापक महासिंह थापाले भन्नुभयो, “नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थी भर्ना त लियौँ तर अहिलेसम्म पाठ्यपुस्तक नआइपुग्दा पढाउन समस्या छ ।” बाजुरा डेल्टा स्टोरका पुस्तक बिक्रेता चन्दबहादुर खातीले कक्षा १, २ र ३ कक्षाका पाठ्यपुस्तक वितरण भइरहेको र बाँकी किताब आइनसकेकाले विद्यालयलाई उपलब्ध गराउन नसकेको बताउनुभयो । 

जनक शिक्षा सामग्रीको प्रादेशिक कार्यालय धनगढीले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका बुक डिपोलाई पुस्तक वितरण गर्दै आएको छ । जनक शिक्षाले बाजुरा र दार्चुलालाई पहिलो प्राथमिकता दिएर किताब वितरण गर्न प्रादेशिक कार्यालय धनगढीलाई निर्देशन दिएको भए पनि अझै बाजुरा र दार्चुलाका अधिकांश विद्यालयमा किताब पुगेका छैनन् ।

बूढीनन्दा नगरपालिका शिक्षा समन्वय समितिका संयोजक दयाराम केसीले १ देखि ५ कक्षासम्मका सबै पाठ्यपुस्तक आइसकेको भए पनि ६ देखि १० कक्षाको किताब नआएकाले विद्यार्थीलाई पठनपाठन गर्न निकै समस्या भएको बताउनुभयो । नयाँ शैक्षिक सत्र सुरु भएसँगै बाजुराका २७४ विद्यालयले ८२ प्रतिशतभन्दा बढी विद्यार्थी भर्ना गरेका छन् ।

भर्ना भएका अधिकांश विद्यार्थीले अहिलेसम्म किताब पाएका छैनन् । यो वर्ष मतपत्र छपाइका कारण किताब छाप्न ढिलाइ भएकाले विद्यालयले समयमै पाठ्यपुस्तक नपाएको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका संयोजक हर्कबहादुर सिंहले बताउनुभयो ।