मातृभाषालाई सरकारी कामकाजी भाषा बनाउनुपर्छ : मुख्यमन्त्री राई
मुख्यमन्त्री राजेन्द्रकुमार राईले मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउने राज्यको नीति कार्यान्वयमा सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ । विराटनगरमा सोमबार भाषा आयोगले आयोजना गरेको सङ्गोष्ठीलाई सम्बोधन गर्दै उहाँले त्यस्तो विचार राख्नुभयो । मातृभाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्न सके मानिसको जीवनयापनमा सहजता आउने उहाँको भनाई छ ।
पाँच पत्रकार पुरस्कृत
जिल्ला समन्वय समिति म्याग्दीले बिकास पत्रकारिता पुरस्कारबाट जिल्लाका पाँच जना पत्रकारलाई सम्मानित गरेको छ । सम्मानित हुनेमा गोरखापत्रकर्मी ठाकुरप्रसाद आचार्य, कान्तिपुर दैनिकका घनश्याम खड्का, राससकर्मी ध्रुवसागर शर्मा, कमल खत्री र नागरिक दैनिकका पत्रकार हरिकृष्ण गौतम पुरस्कृत हुनुभएको हो ।
महिला हिंसाको प्रमुख कारण अशिक्षा : मन्त्री सिंह
मधेश प्रदेशका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्रप्रसाद सिंहले अशिक्षा नै महिला हिंसाको मुख्य कारक रहेकोले प्रदेश सरकार शिक्षालाई प्राथमिकतामा राखेर कामकाज अगाडि बढाएको बताउनुभएको छ ।
विजयनगरमा अस्पताल भवन शिलान्यास
कपिलवस्तुको विजयनगर गाउँपालिकामा अस्पताल भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाको वडा ६ बदौर टोलमा एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले भवनको शिलान्यास गर्नुभयो ।
सिकलसेलको निःशुल्क उपचारमा कठिनाई
सरकारले थारु समुदायमा स्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल रोगको उपचारका लागि सहयोगको नीति लिएको भएपनि अपर्याप्त रहेको सो समुदायका पीडितहरुको बुझाई छ । नेपाल सरकारले सिकलसेलका विरामीलाई एक लाख रुपियाँसम्मको औषधी निशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।
सिटी रिक्साको मनोमानी भाडा, सेवाग्राहीलाई सास्ती
शहरी क्षेत्रमा चल्ने सिटी रिक्साको भाडासूची नहुँदा सवार हुने सेवाग्राहीलाई रिक्सावालाले भनेजतिकै मनोमानी भाडा तिर्न बाध्य भएको गुनासो गरेका छन् । लहान नगरपालिकाले केही महिना अगाडि सिटी रिक्साको भाडा निर्धारण गरेर हरेक सिटी रिक्सावालालाई कार्यान्वयन गर्न रिक्सामा पारदर्शी भाडासूची लागु गर्न निर्देशन दिएको भएपनि त्यसको कार्यान्वयन भएको छैन ।
समन्वय समिति गठन
डडेल्धुरामा मेडिकल कलेज स्थापनाको गृहकार्य सुरु भएको छ । कलेजका लागि आवश्यक जग्गाको व्यवस्थापनसहित सहमति र समन्वयका लागि सरोकार पक्षको सहभागितामा जिल्लास्तरीय समन्वय, सहकार्य समिति गठन गरिएको छ । अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीको संयोजकत्वमा सो समिति गठन गरिएको हो । समितिले कलेज स्थापनाका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउन मद्दत गर्नेछ ।
हुम्लामा फोरजी सञ्चालन
नेपाल टेलिकमले हुम्लामा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । सिमकोट गाउँपालिका – ७ को ओख्रेनमा टावर निर्माण गरी सेवा सुचारू गरेको छ ।
अनोमाघाटलाई बुद्धधाम बनाउने तयारी
नवलपरासीपश्चिम (बर्दघाट–सुस्ता)को सिद्धार्थ गौतमले सन्यास धारण गरेको (महाभिनिष्क्रमण स्थल) सुस्ता गाउँपालिका वडा नं. ५ स्थित अनोमाघाटलाई बुद्धधाम बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गराउने कार्य अन्तिम चरणमा पुगेको छ ।
अन्तरपालिका जोड्ने ग्रामीण सडक अवरुद्ध
बर्सात सुरु भएसँगै आएको भलबाढी तथा पहिरोका कारण जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट अन्तरपालिका जोड्ने सबै ग्रामीण सडक अवरुद्ध भएका छन् ।
भिरबाट लडेर अस्मिताको मृत्यु
घर नजिकैको भिरबाट लडेर रुकुम पश्चिममा १७ वर्षीया एक किशोरीको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्वर १ रुँघा निवासी अस्मिता चन्दको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको हो ।
मेलम्ची क्षेत्रमा पूर्वसूचना प्रणाली जडान
मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिएको छ । मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आवमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको साइरनको अवस्था परीक्षण गरिएको हो । मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलाल भन्नुभयो, “यसबाट मनसुनको समयमा हुनसक्ने सम्भावित विपद्को जोखिमलाई कम गरी जनधनको क्षतिलाई कम गर्न सहयोग मिल्छ ।”
टालेको सडक दस दिनमै उप्कियो
जिल्ला पूर्वाधार कार्यालय पर्वतको बेवास्ता र निर्माण कम्पनीको लापरबाहीका कारण पर्वतको कुस्मा नगरपालिका ११ र १२ मा बनेको कालोपत्रे सडक एक वर्ष पनि टिकाउ भएन ।कुस्मा नगरपालिकाको सिल्मीचोकदेखि ठूलीपोखरीसम्मका विभिन्न ठाउँमा गरिएको कालोपत्रे एक वर्ष नपुग्दै भत्किएको छ । स्थानीयवासीले पटक–पटक कार्यालयलाई ध्यानाकर्षण गराएपछि मर्मत गरेको भए पनि केही दिनमै पुनः भत्किएको हो ।
मिटरब्याजीविरुद्ध जाहेरीको तयारी
मिटरब्याजीबाट पीडित महोत्तरी जिल्लाका भङ्गहा नगरपालिकाका बासिन्दा तिनीहरूलाई कारबाही गर्ने प्रक्रियामा अगाडि बढेका छन् ।जिल्लाको भङ्गहा नगरपालिका क्षेत्रका आधा दर्जन मिटरब्याजीहरूले ब्याज र तमसुकको जालमा फसाएर सो क्षेत्रका धेरै जनाको उठिबास गराएकोले उनीहरूमाथि कारबाहीको माग गर्दै प्रक्रिया अगाडि बढाएका हुन् ।
बाघको आक्रमण बढ्दो क्रममा
चितवन राष्ट्रिय निकुञ्जले दुई वर्षको अवधिमा मानिसलाई आक्रमण गर्ने चारवटा बाघलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका बाघको निकुञ्जले स्वास्थ्य परीक्षण गरेर पुनः बासस्थानमै छाड्ने गरेको छ ।
जिसस हुम्लामा गठबन्धनको उम्मेदवारी दर्ता
जिल्ला समन्वय समितिको निर्वाचनका लागि गठबन्धन दलहरुबाट सबै पदका लागि उम्मेदवारी परेको छ । निर्वाचनका लागि नेकपा (एमाले) लगायत अन्य दलका तर्फबाट उम्मेदवारी नपरेपछि गठबन्धनको एकल उम्मेदवारी परेको छ ।
पानी जमेपछि बालबालिकालाई विद्यालय पठाउन समस्या
लहान नगरपालिका १ र २ वडा भएर बग्ने भबरा नहरको बाँध भत्केर निस्केको फोहोर पानी वरिपरि चारैतिरबाट आएर जमेपछि घरबाट निस्कन र बालबालिकालाई विद्यालय पठाउन स्थानीयलाई समस्या भएको छ । लहान–१ का सोनवति सिंह दुनुबारले पानी जमेर विद्यालय पठाउन नपाएको दुखेसो पोख्नुभयो ।
बाँकेका ७६ हजार बालबालिकालाई कोभिड खोप दिइने
बाँके जिल्लाका पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका ७६ हजार बालबालिकालाई कोभिडविरुद्धको खोप दिने भएको छ । असार नौ गतेदेखि ११ गतेसम्म सो समूहका बालबालिकालाई कोभिडविरुद्धको फाइजर–बायोएनटेक खोप दिन थालिएको हो । त्यसको तयारी पूरा भएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने
सुदूरपश्चिम प्रदेशमा पाँचदेखि १२ वर्षमुनिका तीन जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । पहिलो चरण अन्तर्गत कैलाली, कञ्चनपुर र डडेल्धुराका बालबालिकालाई फाइजर खोप दिन लागिएको हो ।
जिप दुर्घटनामा चालक र सहचालकको मृत्यु
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– ११ गत्तसैनामा शनिबार बेलुका जिप दुर्घटना भएको छ । दुर्घटनामा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
अपाङ्गता भएका दम्पतीको चुलो चिसो
धनुषाको सबैला नगरपालिका–१२, उतिमपुरका एक अपाङ्गता भएका दम्पती भोक र दुधे बालक स्याहार्ने चिन्ताले पिरोलिएका छन् । ४४ वर्षीय इन्दल गडेरी र २५ वर्षीया कविताकुमारी पाल अपाङ्गता भएका दम्पती हुन् । इन्दलको खुट्टा अपाङ्गता छ भने कविता आँखाले देख्नुहुन्न । उहाँहरूको तीन महिनाको दुधे बालक छ । यो दम्पतीको घरमा चुलो छ, पकाउने भाँडाकुँडा छन् तर मुस्किलले कहिलेकाहीँ खाना पाक्छ । कसैले खाद्यान्न सहयोग गरे चुलो बल्छ नभए भोको पेट निदाउनुपर्ने बाध्यता छ ।
बैतडीका आठ पालिका पूर्णखोप सुनिश्चित घोषणा
बैतडीका आठवटा स्थानीय तह पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएका छन् । सोह्र महिनादेखि २३ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार पाउनुपर्ने खोप पाएपछि ती पालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएका हुन् ।
भुटानी शरणार्थी नेता राईको निधन
अन्तिम समयसम्म पनि भुटानी शरणार्थीहरुको स्वदेश फिर्तीको बिषयमा अडान लिइरहनु हुने भुटानी शरणार्थी मानव अधिकारवादी नेता डा. भम्पा राईको निधन भएको छ । दमकमा तीन दशक अघिदेखि निरन्तर रुपमा भुटानी शरणार्थीहरुलाई निशुल्क रुपमा जाँच तथा उपचार सेवा दिइ शरणागत जीवन बिताउदै आउनु भएका ७२ बर्षीय राईको शनिवार राती नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा निधन भएको हो ।
अझै विकृतिको सिकार बन्दै दलित
परापूर्वदेखि सामाजिक विकृतिको सिकार बन्दै आएका दलितहरू अझै सोही पीडाबाट गुज्रिरहेको पूर्वसहायक राज्यमन्त्री कलावतीदेवी पासवानले बताउनुभएको छ ।मतदाता नामावलीमा महिला, दलितलगायत सीमान्तकृत समुदायको पहँुच सुनिश्चिताका लागि सरोकारवालासँग शनिबार कलैयामा भएको कार्यक्रममा पासवानले यस्तो बताउनुभएको हो ।