• ६ जेठ २०८१, आइतबार

मिटरब्याजीविरुद्ध जाहेरीको तयारी

blog

पीडितको कुरा सुनेर मुद्दाको मस्यौदा तयार गरिँदै ।तस्बिर : नागेन्द्रकुमार कर्ण

महोत्तरी समाचारदाता

महोत्तरी, असार ६ गते । मिटरब्याजीबाट पीडित महोत्तरी जिल्लाका भङ्गहा नगरपालिकाका बासिन्दा तिनीहरूलाई कारबाही गर्ने प्रक्रियामा अगाडि बढेका छन् ।जिल्लाको भङ्गहा नगरपालिका क्षेत्रका आधा दर्जन मिटरब्याजीहरूले ब्याज र तमसुकको जालमा फसाएर सो क्षेत्रका धेरै जनाको उठिबास गराएकोले उनीहरूमाथि कारबाहीको माग गर्दै प्रक्रिया अगाडि बढाएका हुन् । 

भङ्गहा नगरपालिकाका स्थानीय तथा वाईसीएलका केन्द्रीय सदस्य मनोजकुमार गुप्ताले सो वरपरका मिटरब्याजीका रूपमा पहिचान बनाएका अनिरुद्ध साह, ललिता पण्डित, रामलोचन साह, दिनेश राम, लक्ष्मण साह, खरिहानीबाला लगायतहरूले धेरै सर्वसाधारणलाई ठगेर दस गुणासम्मको तमसुक बनाएको, ब्याज र लिएको रकम तिरे पनि तमसुक फिर्ता नदिई मुद्दा दर्ता गराएको तथा जग्गा–जमिनसमेत आफ्नो नाममा गराएर उठीबास लगाएको बताउँदै उनीहरू विरुद्ध कारबाहीको तयारी थालिएको बताउनुभयो । 

उहाँले पहिलो चरणमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई पीडितले आफ्नो समस्याबारे जानकारी गराउनुका साथै सदरमुकाममा प्रदर्शनसमेत गरेको र उहाँहरूकै सुक्षावअनुसार मुद्दा दर्ता प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । 

माओवादी केन्द्रका नेता शङ्कर महतोले मिटरब्याजीबाट प्रताडित, ठगिएको, लुटिएको, बेइमानी गरेको, मुद्दा हालेको जस्ता गुनासो गर्दै आएका पचास जना सम्पर्कमा रहेको जानकारी दिँदै सबैलाई समेटेर संयुक्त जाहेरी दिने प्रयास भइरहेको बताउनुभयो ।

उहाँले शनिबारदेखि नामावली सङ्कलन र जाहेरीको काम सुरु गरिसकिएको तथा चार–पाँच दिनमा मुद्दा दर्ता गरिने बताउनुभयो । यस कार्यका लागि अधिवक्ता मनोज साह भङ्गहामा आएर पीडितहरूको कुरा सुनी सोही अनुसार मस्यौदा गरिरहनुभएको छ । 

उहाँले योभन्दा अगाडि पनि जाहेरी दर्ता भए पनि कारबाही प्रक्रिया अगाडि नबढाउँदा थप स्थानीयवासी ती मिटरब्याजीको चङ्गुलमा फसेको बताउँदै उहाँले तिनीहरूलाई कारबाही गर्न प्रहरी प्रशासनसँग आग्रह गर्नुभयो ।

प्रहरी प्रशासनसँग गुनासो गर्न आउनुभएका भङ्गहा नगरपालिका–४ प्रेमनगरका मोहन महतोले उखुको कारोबार गर्न सोही ठाउँका मिटरब्याजी अनिरुद्ध साहसँग दुई लाख रुपियाँ ऋण लिएर छ लाख ३० हजार तिरिसक्दा पनि तमसुक नदिएर अदालतमा मुद्दा गरेपछि फेरि जग्गा बेचबिखन र साथीभाइसँग ऋण लिएर छ लाख १३ हजार तिरेको बताउनुभयो ।

उहाँले ऋण तिर्न मिटरब्याजीकी आमाको नाममा छ कट्ठा जग्गा पास गरिदिए पनि सो जग्गासमेत अहिलेसम्म फिर्ता नपाएको गुनासो गर्दै आपूmहरूको उठीबास बनाउने साहलाई कारबाही हुनुपर्ने बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा भेटिएकी भङ्गहा–५ की रामवतीदेवीले आपूmले साहुसँग पैसो नलिए पनि ऋणको भारी बोक्नुपरेको गुनासो गर्नुभयो । उहाँले वि.सं. २०७० मा घरमा पाहुना आएकाको बिदावारी गर्न मिटरब्याजी लक्ष्मण साहको कपडा पसलबाट एक हजार चार सय रुपियाँको चार थान साडी खरिद गरेको र २०७२ सम्ममा ३५ हजार तिरिसक्दा पनि उनले तीन लाखको तमसुक बनाएर अदालतमा रकम फिर्ता नगरेको भन्दै मुद्दा हालेको जानकारी दिनुभयो । 

प्रहरी प्रशासनमा आएका करिब दुई दर्जनभन्दा बढी पीडितहरूले ती क्षेत्रमा कामकाजका लागि ऋण लिनु कालको मुखमा जानुजस्तै रहेको भन्दै त्यस्ता मिटरब्याजीहरूलाई कारबाही गर्नुपर्ने मागसहित नाराबाजी गरेका थिए । 

महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित सभासद तथा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले अनिरुद्धलगायत मिटरब्याजीमाथि कारबाही हुनुपर्ने माग गरेपछि ती क्षेत्रका बासिन्दा खुसी हुँदै अहिले मुद्दाको तयारी गरिरहेका छन् । विगतमा पनि १४ जना पीडित ऋणीको डेलिगेसन र जाहेरी तथा सञ्चारमाध्यममा अनिरुद्धको धन्दाको समाचार आउन थालेपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीले फागुन २०७७ मा अनिरुद्धविरुद्ध ठगीसम्बन्धी जाहेरी दर्ता गरेको थियो ।